बागलुङ/शिक्षा क्षेत्रको सुधारका लागि सरकारले तत्काल शिक्षा ऐन ल्याउनुपर्नेमा एक कार्यक्रमका सहभागिले जोड दिएका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठन बागलुङको १२ औं जिल्ला अधिबेशनको शनिबार बागलुङ बजारमा उद्घाटन गर्दै संगठनका केन्द्रिय अध्यक्ष लक्ष्मण शर्माले तयार भैसकेको शिक्षा ऐन ल्याउन अहिलेको सरकारले आनाकानी गरिरहेको बताए ।
शिक्षा क्षेत्र भित्ररहेका समस्या समाधान गर्न अहिलेको सरकारले नसक्ने भन्दै बिभिन्न शक्ति केन्द्रहरुको दवावमा सरकारले शिक्षा ऐन ल्याउन नसकेको उनको आरोप थियो । ‘शिक्षा ऐन तयार थियो, टेवल हुने बेला सरकार फेरियो,’ शर्माले भने, ‘अहिलेको सरकारले शिक्षा क्षेत्रलाई नजरअन्दा गरिरहेको छ, यो सरकारले ऐन ल्याउन सक्दैन ।’ शिक्षक, विद्यार्थी र विद्यालयका समस्या तत्काल समाधान नभए शिक्षा क्षेत्रमा थप क्षति व्यहोर्नुपर्ने अवस्था रहेको शर्माको भनाइ थियो ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा बागलुङ जिल्लाका इन्चार्ज गोविन्द नेपालीले सार्वजनिक शिक्षा सुधारका लागि शिक्षकहरुको भूमिका महत्वपूर्ण हुने बताए । अर्का केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला सहइन्चार्ज इन्द्रलाल सापकोटाले प्रदेश सरकारले शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्नेमा आफ्नो धारणा राखे । शिक्षकहरुका सेवा सुविधाका बिषयमा सरकारले गम्भिर भएर सोच्नुपर्ने उनको धारणा थियो ।
कार्यक्रममा एमाले जिल्ला कमिटिका कार्यवहाक उपाध्यक्ष कृष्ण पाठक, बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल, काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापा, नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेशका अध्यक्ष राम प्रसाद पोखरेल, शिक्षकहरु डिल्लिराज गौतम, बालकृष्ण कँडेल, बिजयराज पन्त, नेपाल शिक्षक संघकी नेत्री हुमा रिजाल लगायतले बोलेका थिए ।
जिल्ला अध्यक्ष गोविन्द भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव कृष्ण भट्टराईले गरेका थिए । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । बन्दसत्र आइतबार सुरु हुने निर्वाचन समितिले जनाएको छ । उद्घाटन कार्यक्रममा बिभिन्न कालखण्डमा संगठनमा योगदान गर्ने शिक्षकहरुलाई सम्मान गरिएको थियो ।





