बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

स्वाथ्य मापदण्ड पालना गरौँ

स्वाथ्य मापदण्ड पालना गरौँ


  • Dhorpatan News
  • पुष १९ २०७८, सोमबार

रोगले थलिँदा र आफन्तको मृत्युसँगको साक्षात्कार कति पीडादायी हुन्छ भन्ने कुरा भोग्नेले मात्रै अनुभूति गर्न सक्छन् । कोभिडबाट आफन्त गुमाएकाहरुले अनुभूत गरेको यो पीडा जोसुकैको जीवनमा पनि ब्रजने खतरा बढेर गएको छ । कारण, कोभिडको नयाँ प्रजाति ओमिक्रोनले विश्व त्रस्त बनेको अवस्था छ । नेपालमा ओमिक्रोनको संक्रमण हालसम्म डरलाग्दो नभए पनि सम्मावित क्षति र जोखिमप्रति सजग हुनुपर्ने भएको छ । भारतमा ओमिक्रोन बढेसँगै मानवीय गतिविधिमाथि बन्देज लगाइएको छ । आइतबारमात्रै बंगालले कोभिडविरुद्ध नयाँ आचारसंहिता लागु गरेको छ भने दिल्लीले यसअघि नै सुरक्षा प्रबन्ध गरिसकेको छ । भारतमा कोभिड बढ्दा त्यसको सिधा प्रभाव नेपालमा पर्नेमा सन्देह छैन । त्यहाँ महामारी फैलँदा खुला सिमानाका कारण नेपाल अछुतो रहन सक्दैन भन्ने यसअघिका घटनाक्रमले पुष्टि गरिसकेका छन् ।

कोभिड संक्रमण उकालो लागेसँगै स्वास्थ्य मन्त्रालयले सतर्क रहन सबै निकायहरुलाई निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयले तयारी अवस्थामा रहन,भीडभाडमा मास्क लगाउन एवं खोप लगाउन छुटेकाहरुलाई खोप कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ । जनस्वास्थ्य संवेदनशील विषय हो । एउटा व्यक्तिबाट भएको लापरवाहीले समाजले ठूलो क्षति व्यहोर्नुपर्छ भने संक्रमण फैलँदा हाम्रोजस्तो स्वास्थ्यका पूर्वाधार नभएको देशलाई नियन्त्रण गर्न हम्मे–हम्मे पर्छ । कोभिड मत्थर भएको हो तर नयाँ भेरियन्ट भित्रिसकेकाले ढुक्क हुने अवस्था छैन । अझ, २ मात्रा खोप लगाइसकेकालाई पनि ओमिक्रोनले छाड्दैन । हामीले विभिन्न बहानामा यो बीचमा भीडभाड गरिरहेका छौँ, स्वास्थ्य मापदण्ड पालनामा हेलचेक्रयाइँ भइरहेको छ ।

तेस्रो डोज कहिले पाउने भन्ने निश्चित छैन र संक्रमण बढेमा लकडाउनजस्ता अप्रिय निर्णय आउने सम्भावना पनि उत्तिकै छ । अतः स्वास्थ मापदण्ड पालना गर्न नछाडौँ । प्रदेश स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्रले आइतबार जारी गरेको विज्ञप्ति अनुसार गण्डकीमा थप १९ जनामा कोभिड १९ को संक्रमण देखिएको छ भने एकजनाले ज्यान गुमाएका छन् । शनिबार तनहुँकी ७१ वर्षीया वृद्धाको मृत्युसँगै गण्डकीमा कोभिडबाट ज्यान गुमाउनेको संख्या १ हजार ४२७ पुगेको छ । संख्यामा हेर्दा यो सानो होला तर सम्भावित खतरालाई नजरअन्दाज गर्ने भुल कसैबाट नहोस् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->