बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

स्वास्थ्य क्षेत्रमा देखिएको चाँदीको घेरा

स्वास्थ्य क्षेत्रमा देखिएको चाँदीको घेरा


  • Dhorpatan News
  • पुष २७ २०७८, मंगलबार

कोभिडको नयाँ भेरियण्ट ओमिक्रोनको जनजीवन त्रस्त बनाइरहँदा स्वास्थ्य क्षेत्र सुधारको मुद्दा पुनः सतहमा आएको छ । कोभिडलाई बिर्सने हो भने पनि,स्वास्थ्य पूर्वाधारमा नेपाल कमजोर छ । सर्नेभन्दा नसर्ने रोगबाट धेरै नागरिकले ज्यान गुमाएको अवस्था छ । कोभिडको त्राहिमामबीचमा पनि पछिल्ला केही परिणामहरुले आशावादी बनाएको अवस्था छ । तर,साह्रै निराश बन्नुपर्ने अवस्था पनि छैन । पछिल्ला दिनहरुमा स्वास्थ्य क्षेत्रमा पूर्वाधारहरु थपिएका छन् । जिल्ला अस्पताल स्याङ्जा नै यसको उदाहरण बनेको छ । बिरामी नै नपुग्ने सो अस्पतालमा यतिबेला विशेषज्ञ सेवा थप गरिएको छ । डाक्टरहरु उपलब्ध हुन थालेका छन् । सुत्केरी र नवजात शिशुको लागि त्यहीँ उपचारको प्रबन्ध गरिएको छ । उनीहरुलाई निःशुल्क खानाको व्यवस्था समेत गरिएको छ । सामान्य सिटामोलमात्रै पाइने अस्पतालमा मृगौलाको डायलासिससमेत हुन थालेको छ । हाडजोर्नी र नशाको उपचार भने त्यहाँ सुरु हुन सकेको छैन । अस्पतालले सेवा दिन थालेसँगै हजारौँ खर्चेर उपचारको लागि बाहिरी जिल्ला धाउनुपर्ने समस्याबाट नागरिक मुक्त भएका छन् । बागलुङको बडीगाड–५,ग्वालेचौरमा रहेको स्वास्थ्यचौकीको सेवाले पनि धेरैलाई उत्साहित बनाएको छ । स्वास्थ्यचौकीले दिने प्रसूती सेवाबाट गर्भवती र महिलाहरु लाभान्वित भएका छन् । सेवाका कारण मातृशिशु मृत्युदर घट्ने देखिएको छ । यी उदाहरणमात्रै हुन् । संघीयताको कार्यान्वयनसँगै बलियो बनेका स्थानीय सरकारहरुले स्वास्थ्य पूर्वाधारमा परिणाममुखी काम गरेका छन् । धेरै ठाउँमा स्वास्थ्यचौकी र अस्पतालहरु बनेका छन् । पूर्वाधारसँगै उपकरणहरु थपिएका छन् । जनशक्तिको अभाव एकातिर छ, हैन भने, सामान्य रोगको उपचारको लागि सहर पस्नुपर्ने समस्याबाट मुक्ति दिने अभियानको थालनी भएको छ । यो सकारात्मक पक्ष हो । तर, गर्न बाँकी धेरै छ ।उपकरण र जनशक्तिको अभावबाट ती स्वास्थ्यचौकी तथा अस्पतालहरु खुम्चिएका छन् । भनेजस्तो सेवा प्रवाह हुन सकेको छैन । गाउँ जान नमान्ने स्वास्थ्यकर्मीहरु तथा उपकरणको प्रबन्ध गर्न नसक्ने संघीय÷प्रदेश सरकारका कारण यो अवस्था आएको हो । स्वास्थ्य संविधानप्रदत्त अधिकार हो । राज्यले स्वास्थ्यमा लगानी गर्नैपर्छ । नागरिकलाई अकालमै मृत्युवरण गर्न बाध्य बनाउने काम हुनु हुँदैन । स्वास्थ्य पूर्वाधारमा भएका स्रोत र साधनलाई संरक्षण गर्दै थप पूर्वाधार निर्माणमा जुट्नु अहिलेको आवश्यकता हो । यसको लागि स्थानीय तहहरुले नै आवाज उठाउनुपर्छ । कालो बादलमा चाँदीको घेरा देखिएको छ । अब पूरा उज्यालो हुने वातावरण निर्माण गरिनुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->