बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

अनावश्यक डंका नपिट, खोपको सुनिश्चितता गर

अनावश्यक डंका नपिट, खोपको सुनिश्चितता गर


  • Dhorpatan News
  • पुष २८ २०७८, बुधबार

अहिले अर्को लहरको कोभिड महामारीको त्रास छ । महामारी नियन्त्रणको लागि खोप पहिलो सर्त हो । विश्व स्वास्थ्य संगठनले कोभिडको तेस्रो लहरबाट बँच्न बुस्टर डोज लगाउनुृपर्ने बताइसकेको छ । खोपको २ मात्रा लगाएकाहरुलाई पनि ओमिक्रोनले आक्रमण गर्ने पुष्टि भइसकेको छ । नेपालको सन्दर्भमा दुबै डोज खोप सबै नागरिकले पाउन नसकेको स्वास्थ्य मन्त्रालय स्वयंले स्वीकारेको छ । १२ देखि १७ वर्ष उमेर समूहकाले अझै पूर्ण खोप पाउन सकेका छ्रैनन् भने तेस्रो वा बुस्टर डोजको परकै कुरा भएको छ । तथ्याङ्क नै हेर्ने हो भने, गण्डकीमा गण्डकीमा हालसम्म ७७.९ प्रतिशतले दुबै मात्रा खोप लगाएका छन् भने पहिलो मात्रा लगाउनेहरुको संख्या ९१.८ प्रतिशत रहेको छ । अझ १२ देखि १७ वर्ष उमेर समूहको हकमा त यो संख्या झन् धेरै छ । यो उमेर समूहकामध्ये हालसम्म गण्डकीमा ५९.३ प्रतिशतले मात्रै पहिलो मात्रा खोप पाएका छन् भने दोस्रो मात्रा पाउने मात्र १.१ प्रतिशतमात्रै छन् ।

यस्तोमा नेपाल सरकारले दुबै डोज खोप लगाएकाको ‘कार्ड’ भएकालाई मात्रै सार्वजनिक ठाउँमा प्रवेश दिने नीति अख्तियार गरेको छ । माघ ७ गतेदेखि कार्यालय, होटल, रेस्टुरेन्ट,सिनेमा हल, रंगशाला, हवाई यात्रा, पार्क आदिमा जाँदा खोप कार्ड देखाउनुपर्ने भएको छ । सरकारले यो नियम यसरी लागू गरेको छ कि, मानौं सबै नागरिकले खोप पाएका छन् सबै नागरिकले खोप नपाएको र १२ देखि १७ वर्ष उमेर समूहकालाई बल्ल खोप दिन सुरु गरिएको बेला घोषित यो नियम कार्यान्वयनमा आउने हो भने, आधा जनसंख्या घरभित्रै थुनिने अवस्था आउने निश्चित छ । भला, सरकारी अधिकारीहरुले धेरै नागरिकले दुई डोज खोप पाइसकेको र नलगाउनेलाई लगाउन आह्वान गरिरहेको छ । महामारीबाट बँच्न खोपको उपलब्धता र स्वास्थ्य पूर्वाधार बलियो हुनुुपर्छ पर्याप्त खोपको मात्रा रहेको स्वास्थ्य मन्त्रालयको भनाइले आशा जगाएको छ तर सबै नागरिकले खोप नपाएको सन्दर्भमा अनावश्यक नीति नियम थोपर्नु आफैमा राम्रो हैन । युरोप र अमेरिकाजस्ता देशहरुमा खोप नलगाउने ठूलो जमातलाई लक्षित गर्दै ल्याइएको नियम नेपालमा प्रभावकारी हुन्छ कि हुँदैन भन्ने सरकारले मनन गर्नुपर्छ । हल्लाको लागि अनावश्यक नीति र प्रावधान घोषणा गर्नुभन्दा पहिला सबै नागरिकलाई खोप उपलब्ध गराउनुपर्छ । सन्त्रासमा बाँचेका नागरिकलाई अनावश्यक दुःख दिने र हतोत्साही गर्ने काम बन्द हुनुपर्छ । यसो भनिरहँदा नागरिकस्तरबाट स्वास्थ्य मापदण्ड पालनामा हेलचेक्रयाइँ गरिनु भने हुँदैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->