बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

अफगानिस्तानलाई सहयोग र सह्रानीय कुटनीतिक पहल

अफगानिस्तानलाई सहयोग र सह्रानीय कुटनीतिक पहल


  • Dhorpatan News
  • माघ ५ २०७८, बुधबार

नेपालले संकटग्रस्त अफगानिस्तानलाई मानवीय सहयोग उपलब्ध गराएको छ । नेपालले विमान चार्टर्ड गरेर १० टन मानवीय सामग्री त्यहाँ रहेको राष्ट्रसंघीय सहायता मिसनलाई हस्तान्तरण गरेको हो । १० टन संकट झेलिरहेको अफगानिस्तानको लागि पर्याप्त र ठूलो हैन । तर, अफगानिस्तानको सत्ता हत्याएको तालिवानलाई मान्यता नदिएको अवस्थामा नेपालले गरेको सहयोगले त्यहाँको संकटप्रति संवेदनशील हुन विश्व समुदायलाई आह्वान गरिएको छ ।

अफगानी नागरिकहरु कठ्याङ्ग्रिँदो जाडोमा भोकमरीको सामना गरिरहेका छन् । जाडोबाट बालबालिका र बृद्धबृद्धा सबैभन्दा ठूलो संकटमा छन् । संयुक्त राष्ट्रसंघका अनुसार अफगानिस्तानका २ करोड ३० लाख जनसंख्यामध्ये आधाजसो भोकमरीको चपेटमा र ९० लाखभन्दा बढी बालबालिका कुपोषणमा परेका छन् । गरिबी यतिसम्म बढेको छ कि, विपन्न अफगानीहरु विवाहको नाममा कलिला बालिकाहरु बेचबिखन गर्न बाध्य भएका समाचारहरु सार्वजनिक भएका छन् । योभन्दा दर्दनाक अवस्था के हुनसक्छ ? हो,तालिवानहरु सुध्रिएका छैनन् । उनीहरुबाट भएको सत्ताकब्जा स्वभाविक प्रक्रिया थिएन । निर्वाचित सरकारलाई अपदस्थ गर्दै सत्तामा आएको तालिवानले मानव अधिकारको गम्भीर उलंघन गरेको छ । अतिवादलाई प्रश्रय दिएको छ र महिलाहरुमाथि अत्याचार गरेको छ । उनीहरुका गतिविधिलाई स्वीकार्न सकिँदैन र मिल्दैन तर त्यही निहुँमा मानवीय संकटमा परेका अफगानीको समस्यामा आँखा चिम्लन नैतिकताले दिँदैन ।

दक्षिण एसियाली सहयोग संगठन (सार्क)को अध्यक्षसमेत रहेको नेपालले सहयोगमार्फत उच्च कुटनीतिक सुझबुझ र मानवीयता प्रदर्शन गरेको छ । परिपक्व कुटनीति प्रदर्शन गर्न असमर्थ रहँदै आएको नेपाल जिम्मेवार रुपमा प्रस्तुत हुँदा त्यहाँको मानवीय संकटप्रति सिंगो विश्वको ध्यान आकृष्ट हुने अपेक्षा गरिएको छ । कम्तिमा सार्कका सदस्य राष्ट्रहरु अफगान समस्याप्रति निरपेक्ष रहन हुँदैन भन्ने सन्देश पनि नेपालले दिएको छ । सार्कको अध्यक्ष भएको नाताले अफगानिस्तानको तालिवान सरकारलाई मानवअधिकार उलंघन हुन नदिन,अतिवाद छाड्न र महिलामाथि हुने हिंसा अन्त्य गर्न नेपालले कुटनीतिक दवाव दिन सक्नुपर्छ । मुर्खलाई मुख्र्याइँले परास्त गर्न सकिँदैन र त्यस्तो बेला उच्च तहको कुटनीतिक सुझबुझ आवश्यक पर्छ । नेपालले यही सत्यलाई मनन गर्दै आउँदा दिनमा अझ सक्रियता देखाउनुपर्छ । नेपालको सक्रियताले अफगानिस्तानको मानवीय संकट टार्न तथा तालिवानलाई नरम बन्न बाध्य पार्नुपर्छ । मुख्य कुरा, नेपालले सधैँ यस्तै कुटनीतिक चातुर्यता देखाउनुपर्छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->