कोभिडको तेस्रो लहर समुदायस्तरमा फैलिइसकेको प्रष्ट छ । संक्रमण समुदायमा पुगेपछि यसविरुद्धका अभियानहरु निष्प्रभावी हुने खतरा बढेर गएको छ । तेस्रो भेरियण्ट भनिएको ओमिक्रोन पहिलो र दोस्रोभन्दा कम खतरनाक देखिएको एवं सोझै फोक्सोमा आक्रमण नगर्ने भएकाले मन बुझाउन भएको छ,ढुक्क बन्ने अवस्था छैन । संक्रमण रकेट गतिमा अघि बढ्दा स्वास्थ्यकर्मीहरु समेत प्रभावित भएका छन् । स्वास्थ्यकर्मी प्रभावित हुनु भनेको सेवा प्रवाहमा अवरोध आउनु हो । विभिन्न अस्पतालका आकस्मिक बाहेकका सेवा बन्द भइसकेका छन् । अन्य अस्पतालहरु त्यही अवस्थामा पुगे भने दीर्घरोगी तथा नियमित औषधि खानुपर्नेहरु,मौसमी फ्लुका कारण बिरामी पर्नेहरु,असक्त र बालबालिकाको उपचारमा समस्या निम्तन सक्छ । कोभिड तेस्रो लहर रोकथामकै लागि पर्याप्त तयारी नगरेको स्वास्थ्य मन्त्रालयले सम्भावित जोखिमको आँकलन गरेकै छैन ।७० प्रतिशत नागरिकलाई पुस मसान्तसम्म कोभिडविरुद्धको खोप दिने घोषणाबाट समेत सरकार चुकेको छ । भण्डारणमा खोप थन्क्याउने,सीमित संख्यामा खोप बितरण गर्ने कामले सरकारी अकर्मण्यता प्रष्ट देखिएको छ । सरकारलाई दवाव दिन सकिन्छ । तर, विषम परिस्थितिमा आफ्नो,परिवार र समुदायको संरक्षणको दायित्व नागरिक स्वयंमा आइलागेको छ । अत ः यो बेला नागरिक जिम्मेवार बन्नुपर्ने भएको छ ।
मौसम चिसो छ । मौसमकै कारण बालबालिका तथा बृद्धबृद्धाहरु प्रताडीत बनेका छन् । उनीहरुलाई चिसोको कारणबाट लाग्ने विभिन्न रोगले आक्रमण गरेको छ । माघको ठण्डीले प्रताडीत बनेकाहरुलाई कोभिडले आक्रमण गर्दा झन समस्या बढ्न सक्छ । अहिले विद्यालयहरु बन्द छन् । अनलाइन कक्षा भनिए पनि ती प्रभावकारी हुँदैनन् भन्ने यसअघि नै पुष्टि भइसकेको छ । त्यस्तोमा बालबालिकाहरु चिसोमा हिँड्ने वा खेल्ने सम्भावना ज्यादा रहन्छ । एकातिर पढाइ बिग्रनु अर्कोतिर स्वास्थ्यमा समस्या आउनु एकैचोटी हुनसक्छ । त्यसमा पनि सचेतता अपनाउनुपर्छ । बालबालिका र बूढाबूढीलाई यो जाडो र संक्रमणबाट बचाउन हदैसम्मको प्रयास गरिनुपर्छ । तातोमा राख्ने र खुवाउने, भिडभाडमा जान नदिने, कोभिडको जोखिमबाट टाढै राख्ने काम गरिनुपर्छ । कथंकदाचित बिरामी भएमा स्वास्थ्यकेन्द्रमा पु¥याउन विलम्ब नगरौँ । मौसमी फ्लु र कोभिडको लक्षण उस्तै देखिने भएकाले पनि हेलचेक्रयाइँ नगरौँ । महामारीको बेला जोगाउन पर्ने नै उनीहरुलाई हो भन्ने बुझौँ ।
