प्रमुख प्रतिपक्षी दल एमालेले गण्डकी सरकार जिम्मेवार र जवाफदेही नभएको आरोप लगाएको छ । २० बुँदे ध्यानाकर्षण पत्रमार्फत् एमालेले मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई आफैले हिजो गरेका प्रतिवद्धताहरु स्मरण गर्न सुझाव दिएको छ ।
प्रमुख प्रतिपक्षी भएको नाताले सरकारका गलत काममा खबरदारी गर्नु तथा सचेत गराउनु एमालेको कर्तव्य नै हो । एमालेले हिजो एक घरः एक पिसीआरको नारा दिने नेपाली कांंग्रेस नेतृत्वको सरकारले कोभिड नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको मुद्दालाई विशेष रुपले उठाएको छ । यो स्वभाविक पनि छ । २० बुँदे ध्यानाकर्षण पत्रमा सरकारले पूँजीगत बजेट खर्च गर्न नसकेको पञ्चवर्षीय,बहुवर्षीय एवं गौरवका आयोजनाहरु अलपत्र पारेको,अघिल्ला सरकारले सुरु गरेका योजनाप्रति पूर्वाग्रही बनेको एवं खुद्रा बजेट छर्दै हिँडेको आरोप पनि लगाएको छ । कमिसनको लागि सेटिङमा काम हुँदै आएको संगीन आरोप लगाउँदै एमालेले यातायात कार्यालय भएको अनियमितता छानबिन माग गरेको छ । भ्रष्टाचार र सेटिङको आरोप आफैमा गम्भीर हो । यो विषयमा सरकारले ध्यान नदिएमा अख्तियारलगायतका नियमनकारी निकायहरुले पनि छानबिन थाल्नुपर्छ ।
एमालेले पेश गरेका २० मध्ये धेरैजसो बुँदाहरु राजनीतिक आग्रहबाट निर्देशित देखिए पनि विकास निर्माण एवं सुशासनका लागि देखाइएको चासो महत्वपूर्ण छ । प्रमुख प्रतिपक्षले वर्तमान सरकारको ९ महिने कार्यकालको खोट देखाउँदै गर्दा सत्ता छाड्नुपर्दाको रोष पनि पोखेको छ । तर, प्रतिपक्षको आरोप नै सही, नजरअन्दाज गर्ने छुट सरकारसँग छैन । निश्चय पनि, कृष्णचन्द्र नेपाली नेतृत्वको सरकारले देखिने गरी नयाँ काम केही गर्न सकेको छैन । सोच्दै नसोचेको सत्ता प्राप्तिमा नै सरकार रमाएको प्रतित भइरहेको छ । गठबन्धन टिकाउन १२ मन्त्रालय निर्माण गर्दै सरकारी खर्च बढाएकोमा जनता सरकारप्रति सकारात्मक छैनन् । अर्कोतर्फ,सेवा प्रवाहमा पनि यो सरकार अब्बल देखिएको छैन । अघिल्ला मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ जसरी नै अहिलेका मुख्यमन्त्री देखिने र सुनिने गरेका पनि छैनन् । कांग्रेस र माओवादी केन्द्रको अधिवेशनले पनि सरकारका कामहरु सुस्त बन्न पुगे । सरकारले सुस्तता तोड्नुपर्छ । एमालेले यसअघि आफूसँग भएका सम्झौताको ख्याल राख्न र दिइएका सुझाव मनन गर्न सुझाव दिएको सन्दर्भमा सरकार स्वयंसमेत उठाइएका मुद्दाहरुबारे सचेत बन्नुपर्छ । गल्ती भए सुधार गर्नुपर्छ । कम्तिमा सदन नभएको अहिलेको अवस्थामा एमालेले उठाएका विषयहरुको सार्वजनिक रुपले उत्तर दिने हिम्मत गर्नुपर्छ ।
