शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

ल्याब बनेपछि गाउँमै सुत्केरी हुने बढे

ल्याब बनेपछि गाउँमै सुत्केरी हुने बढे

‘स्वास्थ्य संस्थामै सुत्केरी हुनेको संख्या शतप्रतिशत पुग्न थालेको छ । एकादुई बाहेक सबैले स्वास्थ्य संस्थाको सेवा लिने गर्छन् ।’


  • ढोरपाटन संबाददाता
  • माघ १४ २०७८, शुक्रबार

बागलुङ/ ल्याब सेवा पाएपछि ग्रामीण स्वास्थ्य संस्थामा सुत्केरी हुनेको संख्या बढेको छ । गलकोटस्थित हटिया स्वास्थ्य चौकी र बडिगाडको ग्वालीचौर स्वास्थ्य चौकीमा सुत्केरी हुनेको संख्या बढेको हो ।

सामान्य समस्या भएपछि ल्याब अभावमा बाहिर रिफर हुने बिरामी र गर्भवतीलाई ती स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीले पनि अन्यत्र नजान सुझाव दिन थालेका छन् । पछिल्लो दुई बर्षदेखि संचालित ल्याबमा सबै प्रकारका परीक्षण सम्भव भएको हो ।

गलकोट नगरपालिका ३ बस्ने गोमा अर्गेजा अघिल्लो महिना हटिया स्वास्थ्य चौकीमा पुगेर सुत्केरी हुँदा ल्याब सेवा पनि पाएकोले सजिलो भएको बताइन् । ‘चार पटक गर्भजाँच र एक पटक भिडियो एक्सरे पनि गराउन पाएर ढुक्क भएँ,’ उनले भनिन्, ‘यसअघिको बच्चाको पालामा पाल्पा पुगेकी थिए, अहिले यहीं सेवा पाएँ ।’

गलकोट नगरपालिका ८ का सुरेश विकले बिरामी हुँदा रगत, खकार, पिसाबसमेत हटिया स्वास्थ्य चौकीमा परीक्षण गर्न पाएको बताए । ‘कोरोनाले संक्रमित भएर पनि अन्यत्र जानुपरेन, यही सेवा पाएँ,’ विकले भने, ‘सदरमुकाम जानु परेको भए होटल खोजेर बस्नुपथ्र्यो, जाने आउने, बस्ने कामले ५ हजारले पुग्थेन ।’ हटिया स्वास्थ्य चौकीमा सबै सेवा निशुल्क पाएको उनले बताए ।

पत्नी सुनितालाई प्रसूति व्यथाले च्याप्दा मध्यरातमा लगेर सुत्केरी गराएको उनले बताए । ‘अहिले यहाँबाट चौबिसै घन्टा स्वास्थ्य सेवा सुरु भएको रहेछ, त्यसैले रातमा पनि सहज भयो,’ विकले भने, ‘अब हरेक स्वास्थ्य संस्थामा एम्बुलेन्स पनि चाहिन्छ ।’ उनको घर भएको कांडेवासमा यो सेवा छैन । त्यसैले रातारात हटिया ल्याएको उनले बताए ।

हटिया स्वास्थ्य चौकी प्रमुख दिलु सुवेदीका अनुसार जिल्ला सदरमुकामपछि सबैभन्दा धेरै बिरामीले हटियाबाट स्वास्थ्य परीक्षण र सेवा लिन्छन् । गत वर्ष ८ सय ६० जनाले ल्याब सेवा लिएकोमा चालु वर्ष ४ सय ५० जनाले सेवा लिइसकेका छन् ।

हरेक वर्ष २ सय ५० बढीले सुरक्षित सुत्केरी सेवा लिने गरेका छन् । चालु वर्ष पनि १ सय बढीले सेवा लिइसकेको उनले बताए । ‘स्वास्थ्य
संस्थामै सुत्केरी हुनेको संख्या शतप्रतिशत पुग्न थालेको छ,’ सुवेदीले भने, ‘एकादुई बाहेक सबैले स्वास्थ्य संस्थाको सेवा लिने गर्छन् ।’
गलकोट नगरपालिकाले चारपटक गर्भ जाँच गरेर स्वास्थ्य चौकीमै सुत्केरी भएका महिलालाई ४ हजार ५ सय रुपैयाँ प्रोत्साहन भत्ता दिने गर्छ । नेपाल सरकारले दिने २ हजारसमेत थप्दा ६ हजार ५ सय रुपैयाँ बुझेर फर्कन्छन् ।

‘आर्थिक अबस्था कमजोर भएका र चेतना अभावले घरमै सुत्केरी हुनेले पनि सुत्केरी खर्च पाउने आशामा स्वास्थ्य संस्थामै आउन थाले,’ स्वास्थ्यकर्मी शोभा काउचाले भनिन्, ‘घरमा सुत्केरी हुने दर शून्य बनाउने लक्ष पूरा हुने क्रममा छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->