बागलुङ/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय पोखराले बागलुङको जैमिनी नगरपालिका ८, छिस्ती स्वास्थ्यचौकीको कागजात मागेको छ । भवन निर्माणमा अनियमितता भएको आशंकामा आयोगले कागजात झिकाएको हो । यो भवन बनेकै वर्ष चुहिएको थियो ।
२ करोड २५ लाख रुपैयाँ लागतमा बनेको भवन निर्माण भएकै वर्ष चुहिएको, छतमा फुटेर चिरा–चिरा भएको र फुटेको स्थानमा हेर्दा स्थानीयले माटो बोरा भेटाएपछि अनियमितता भएको आरोप लगाएका थिए ।
स्थानीय उपभोक्ताले भवन निर्माणमा अनियमितता भएको, गुणस्तरहिन सामाग्री प्रयोग भएको बताएका थिए । ‘ठेकेदार र नगरपालिकामा पनि हामीले धेरै पटक भनेका थियौं, तर सुनुवाइ नभई भवन हस्तान्तरण भएको थियो,’ स्थानीय जीवन श्रीषले भने, ‘अख्तियारले भ्रष्टाचारको खोजी गरेर दोषीलाई कारवाही गर्नैपर्छ ।’
स्थानीयले भवन पुननिर्माण गरेर मात्रै बुझ्नुपर्ने शर्त राखेपनि सहरी विकास तथा भवन डिभिजन पोखराबाट आएका प्राविधिकले मूल्यांकन गरेर भवनको गुणस्तर ठिक भएको प्रतिवेदन दिएपछि नगरपालिकाले बुझेको थियो ।
नगरप्रमुख इन्द्रराज पौडेलले प्राविधिकले ठिक छ भनेपछि भवन उद्घाटन गराएको बताए । ‘गुणस्तरबारे प्राविधिकले हेर्ने हो, हामीले बाहिरी आवरण मात्रै देख्छौं, प्राविधिककै सल्लाहअनुसार भवन उद्घाटन भएको हो,’ पौडेलले भने, ‘ठेकेदारले भवन मर्मत गरेर भएपनि नचुहिने बनाउनु पर्छ ।’ यो भवनमा स्थानीयले २५ हजार खर्चेर केही स्थानमा मर्मत गरेपनि चिरा पर्न छाडेको थिएन ।
अहिले भने बागलुङमै स्थापना भएको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयले पुराना भवनको अपनत्व लिएर हेर्ने गरेको छ । अख्तियारले उक्त कार्यालयलाई पत्र लेखेर कागजातसमेत पठाउन माग गरेको इन्जिनियर प्रविणप्रताप अधिकारीले बताए ।
‘भवनको गुणस्तरबारे प्रश्न उठेपछि अख्तियारले चासो राखेर पत्र आएको छ,’ उनले भने, ‘हामीले स्थलगत अवलोकन पनि गर्ने, कागजात पनि पठाउने काम हुन्छ ।’ कार्यालय प्रमुख बाहिर रहेकोले आएपछि यो विषयमा छलफल गरेर कार्य अगाडि बढाइने उनले बताए ।
गत साउनदेखि मात्रै आयोजनाको कार्यालय बागलुङमा स्थापना भएको छ । यो कार्यालयले बागलुङसहित पर्वत र म्याग्दीमा काम गर्न थालेको छ । ‘अन्य स्वास्थ्य चौकीहरुमा पनि जग्गा छनौटदेखि ठेक्काका काम गर्दा धेरै कमीकमजोरी भएको पाइएको छ,’ अधिकारीले भने, ‘चालु वर्ष काम शुरु हुने कतिपय स्थानमा हामीले अध्ययन गरेर रोकेका छौं ।’
बागलुङ नगरपालिका ११, रायडाँडाको स्वास्थ्य चौकी हस्तान्तरण अघि नै चुहिएपछि राष्ट्रिय सर्तकर्ता केन्द्रले छानविन गरेको हो । उक्त छानविनको प्रतिवेदन आयोजनालाई दिएर ठेकेदारबाट मर्मत गराउन निर्देशनसमेत दिएको अधिकारीले बताए । प्राविधिकले भवनको गुणस्तर जाँच्न ल्याबमा पठाएको र उक्त ल्याबको प्रतिवेदनसमेत कार्यालयमा आइसकेको बताइएको छ ।





