बागलुङ/गत बर्ष जिल्लामा ५ सय कोरोनाका सक्रिय संक्रमित हुँदा धौलागिरि अस्पताल र क्लिनिकसमेत भरिभराउ थिए । दैनिक चार खेप अक्सिजन खेपेर बिरामीको उपचार गर्नु पथ्र्यो । तर यो पटक ६ सय बढी संक्रमित भएपनि अस्पतालको आइसीयू भने रित्तै छन् ।
यो पटकको संक्रमणमा ओमिक्रोन भएकोले संक्रमण दर बढेको, जटिल बिरामी कम भएको आंकलन भएका छन् । तर एक महिना अघिको परीक्षणमा बागलुङमा डेल्टा नै देखिएकोले दुवै संक्रमण हुन सक्ने धौलागिरि अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए ।
ओमिक्रोन कम घातक र डेल्टा बढी घातक देखिएका थिए । फैलावटले ओमिक्रोन जस्तो देखिएपनि जुनसुकै संक्रमण हुन सक्ने उनले बताए । स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौका अनुसार अल्फा भेरियन्ट एकजनाबाट बढीमा ३ जना, डेल्टा भेरियन्ट चारदेखि ५ जना र ओमिक्रोन भने दश जनाबढीमा सर्ने संभावना रहेको पाइएको हो । बागलुङमा साता दिनमै बढेको ग्राफले ओमिक्रोनको संभावना बढी देखिए पनि परीक्षण बिना बताउन नसकिने बताए । पोखरेलका अनुसार एक महिना अघिसम्मको परीक्षणमा डेल्टा देखिएकोले दुबै भेरियन्टको जोखिम उत्तिकै रहेको हो । डेल्टामा मृत्युदर बढी भएकोले संक्रमणलाई लापरबाही गर्न नहुने उनको भनाइ छ ।
गत बर्ष अस्पतालमा ५० जना सम्मलाई राखिएको आइसोलेसनमा चारजना बिरामी मात्रै छन् । त्यसैले ओमिक्रोन हुन सक्ने धेरैको आंकलन छ । ‘यतिबेला अस्पतालमा बिरामीको चाप छैन, भएका पनि सामान्य अबस्थाकै छन्’ उनले भने, ‘संक्रमितहरु यो पटक घरघरमा बसेका छन् ।’ बिरामीले अस्पताल भरिने अबस्था आएको भए उपचारमा कठिनाइ हुने उनले बताए ।
अघिल्लो भेरियन्टको बेला स्वास्थ्यकर्मीहरु कम संक्रमित थिए । तर यो पटक चासो दिएपनि स्वास्थ्यकर्मीनै बढी संक्रमित छन् । त्यसैले कतिपय बिदामा छन् । तरपनि सेवामा अप्ठ्यारो नपरेको पोखरेलले बताए । ‘अस्पतालमै कार्यरत १७बढी स्वास्थ्यकर्मी संक्रमित भएका छन्’ उनले भने, ‘तरपनि बैकल्पिक उपायाबाट अस्पतालमा आउने बिरामीको उपचार गराएका छौं ।’ अस्पतालमा दैनिक र नियमित आउने बिरामीको संख्या भने सामान्य अवस्थाको झँै रहेको उनले बताए । धौलागिरि अस्पतालमा अक्सिजन दिने गरी थोरै बिरामी मात्रै उपचाररत रहेको उनले बताए । अधिकांसले खोप लगाएकोले जोखिम कम भएको हुन सक्ने भन्दै डेल्टा भेरियन्टकै जस्तो सर्तकता चाहिएको पनि उनको जोड छ ।
अस्पतालमा अक्सिजन दिएकाहरुपनि थोरै मात्रामा दिनुपर्ने खालका छन् । अघिल्लो भेरियन्टमा एकैपटक दैनिक १४ लीटर सम्म अक्सिजन दिनुपर्ने भएकोमा यो पटक चारदेखि ५ लीटरले पुग्ने गरेको हो । तरपनि अस्पतालले १ सय ६४ वटा सिलिण्डर भरेर तयारी अवस्थामा राखेको अस्पतालका चिकित्सकले बताए । जटिल समस्या आएमा तत्काल चाहिन्छ भनेर हामीले अक्सिजन भने भरेरै राखेको हो । अस्पतालमा दैनिक ५० जनाबढी पिसिआरकालागि समेत आउने गरेको तथ्यांक छ । पिसीआर शाखाका स्वास्थ्यकर्मीका अनुसार यो क्रम बढीरहेको हो । पिसिआर भने बागलुङ नगर स्वास्थ्य शाखाले पनि नियमित जसो गरेको छ । ‘अत्यावश्यक पर्नेलाई एन्टिजेन्ट गरेर पठाएका छौं, नत्र पिसिआर नै भरपर्दो विधि हो’, शाखा प्रमुख रामप्रसाद खनालले भने,‘नगरपालिका बन्द भएपनि स्वास्थ्य शाखाको नियमति काम भैरहेको छ ।’ यो क्रम ग्रामीण क्षेत्रमा पनि उस्तै छ । तर, घरघरमा मात्रै संक्रमित सिमित छैनन् । कतिपय पिसिआर दिएरपनि खुलेआम हिड्ने गर्दा संक्रमणको दर भने बढी रहेको हो भन्छन् स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौ । उनले अब हरेक नागरिक सचेत बनेर आफ्नो मात्र नभइ सबैको सुरक्षामा ध्यान दिनुपर्ने बताए । ‘जटिल बिरामी छैनन् भन्दा भन्दै धेरै बिरामी थपिए भने अस्पतालहरु भरिन सक्छन्, लक्षण देखिएमा आँफै सचेत बन्नुपर्छ’, गुरौले भने, ‘घरमा बस्ने र खानपानमा ध्यान दिन सकियो भने रोग जित्न सकिन्छ ।’ आर्थिक क्रियाकलाप चलायमान बनाउन राज्यले निशेधाज्ञा नगरेको विषयलाई हामीले लापरबाही गर्न नहुने उनले बताए ।




