शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

सायद अब पानीको लागि काकाकुल बन्नु नपर्ला !

सायद अब पानीको लागि काकाकुल बन्नु नपर्ला !

बागलुङ बजारमा पर्याप्त खानेपानी पु¥याउने गरी प्रतिसेकेण्ड ७० लिटर पानी तान्ने लिफ्टिङ प्रविधिको योजना म्याद थपेर काम चलिरहेको छ ।


  • तारानाथ आचार्य
  • माघ २० २०७८, बिहिबार

बागलुङ/ वर्षाको समयमा बाढी पहिरोको चपेटो र हिउँदको समयमा मुहनामै पानी कम हुने भएकाले चाहिएको जति पानी नपाउँदा बागलुङ बजारका सर्वसाधारण मात्रै होइन,सेवा प्रदायक संघ संस्थाले समेत सास्ती खेप्छन् ।
मुहानदेखि बागलुङ बजारसम्मको लामो पाइपलाइनबाट पानी ल्याएको बागलुङ नगरखानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले बजारमा वितरण गरिरहेको छ । पाइपलाइन र मुहानमा देखिने समस्या तथा वितरण लाइनमा समेत अन्य विकासे पूर्वाधारले पु¥याउने क्षति खानेपानी उपभोक्ता संस्थाका लागि ठूलो समस्या हो ।

संस्थाकै तथ्यांक हेर्ने हो भने बजारका लागि पर्याप्त पानी आउँदैन् । ४२ लिटर प्रतिसेकेण्ड आवश्यकता रहेको बागलुङ बजारले सुख्खा याममा २६ लिटर प्रतिसेकेण्ड मात्रै पानी पाउँछ । त्यही पानी बाँडेर बजारलाई पु¥याइएको छ । बागलुङ नगरपालिकाकै कैलामपोखरीमा काठेखोलाको पानी तानेर वितरण गर्ने योजना निर्माणाधिन अबस्थामा छ । चैतसम्ममा पानी ल्याउने संस्थाका प्रबन्धक हिमाल शर्मा बताउँछन् ।
पानीको समस्या दिनानुदिन बढ्न थालेपछि यहाँका केही संस्थाहरुले धाराको पानीको विकल्प खोज्न थालेका छन् । तीन वर्ष पहिला बागलुङमानै पहिलो पटक चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुल रामरेखाले जमिनमुनिको पानी प्रयोगमा ल्यायो । बागलुङ नगरपालिका–१ रामरेखामा रहेको विद्यालय प्राङ्गणमा २ सय १० मिटर जमिनमुनीबाट बोरिङ गरेर पानी तानिएको छ । प्रतिघण्टा १० हजार लिटर पानी तान्ने क्षमताको मोटर जडान गरेपछि अहिले विद्यालयलाई धाराको आवश्यकता छैन् । ‘१२ जना शिक्षक विद्यार्थीलाई धाराको पानीले नपुगेपछि विकल्प खोज्यौं, लगानी त भयो तर अहिले पानीको समस्या छैन्’, विद्यालयका प्रिन्सिपल नवराज श्रेष्ठले भने‘हामीले पानी निकालेपछि अरुले पनि सिकेका छन् ।’

धारामा आउने पानी अपर्याप्त भएपछि गतवर्ष धौलागिरी अस्पताल बागलुङले पनि सोही प्रविधि प्रयोग गरेर पानी तानेको छ । २ सय ३० मिटर तलबाट पानी तान्नका लागि अस्पतालले २० लाख खर्चेको थियो । हरेक दिन हजारौं खर्चेर ट्याङ्करको पानी प्रयोग गर्ने अस्पताललाई अहिले पानीको समस्या छैन् । पानी चाहिए मोटर चल्छ ।
धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बागलुङले पनि यसै साता जमिनमुनिको पानी निकाल्यो । २ सय १० मिटर गहिराइमा पुग्दा पानी भेटिएपछि प्रतिष्ठानका सञ्चालक सदस्य श्रीप्रसाद शर्माले सामाजिक सञ्जालमा लेखेका छन् ‘द्वारेगौडा, रमेटार, कुँडुले बागलुङ बजार क्षेत्रमै रहेपनि खानेपनी अभावले युगौंदेखि तड्पिंदै आएको छ । सरकारी योजनाको बजेटिङ्को राशि भयङ्करका सुनिन्छन् । तर, काम कछुवा गतिभन्दा उदेकलाग्दो सुस्त ! यही पीडाबाट मुक्ति पाउन एक हप्ता डिप बोरिङ गरि करिब २१० मिटर मुनि पानी फेला पारियो । डिपिएसपि परिवार आज हर्षित– खुसी भएको छ ।’

पानीको खाँचो टार्नका लागि संस्थाहरुले ठूलो लगानी गर्ने गरेका छन् । डिप बोरिङका लागि २० लाखभन्दा धेरै खर्च आउने सरोकारवाला बताउँछन् । बागलुङ बजारमा पर्याप्त खानेपानी पु¥याउने गरी प्रतिसेकेण्ड ७० लिटर पानी तान्ने लिफ्टिङ प्रविधिको योजना म्याद थपेर काम चलिरहेको छ । बाधा अबारोध नआए आउँदो चैतसम्म पानी आउने संस्थाले जनाएको छ । डिप बोरिङबाट पानी तानेका संस्थाहरु भने ‘सायद अब हामी पानीको लागि काकाकुल बन्नु नपर्ला !’ भन्ने गरेका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->