भारतले आफ्नै डिजिटल मुद्रा चलाउने घोषणा गरेको छ । अर्थमन्त्री निर्मला सीतारमणले आर्थिक वर्ष २०२२÷०२३ को बजेट भाषणमार्फत् डिजिटल मुद्रा प्रयोगमा ल्याउने घोषणा गरेकी हुन् । पछिल्लो समय क्रिप्टोकरेन्सी, बिटक्वाइन,हाइफर फण्डजस्ता डिजिटर मुद्राको कारोबार बढेसँगै भारतले आफ्नै डिजिटल मुद्राको घोषणा गरेको हो । हाल प्रयोगमा आएका डिजिटल मुद्रा ब्लकचेनमार्फत् जारी गर्नेको धेरै कम्प्यूटरमा रहन्छ भने भारतले जारी गर्ने मुद्रा चाहिँ रिजर्ब बैंकको डिजिटल प्रणालीमा रहन्छ । भारतले जारी गर्ने डिजिटल मुद्राले डिजिटल अर्थतन्त्रको विकास गर्ने अर्थमन्त्रीको जिकिर छ । भारतीय अर्थमन्त्रीले क्रिप्टोकरेन्सी,बिटक्वाइन, हाइफर फण्डजस्ता डिजिटल मुद्रामा प्रतिबन्धको घोषणा त गरेकी छैनन् तर ती मुद्रामा हुने कारोबारलाई करको दायरामा राखिएको छ ।
विश्वकै ठूलो अर्थतन्त्र भएको भारतले प्रवद्र्धन गरेसँगै डिजिटल मुद्राबारे नेपालमा पनि चासो बढेको छ । नेपालले डिजिटल मुद्रालाई वैधता दिएको छैन तर विदेशमा बस्ने तथा नेपालभित्र पनि यो मुद्राको कारोबार बढेको विभिन्न तथ्यहरुले प्रमाणित गरेका छन् । यही महिना कैलालीका दीनेश खड्कासहित ४ जनालाई विदेशी मुद्राको अवैध कारोबारको अभियोगमा राजश्व अनुसन्धान विभागले पक्राउ गरेपछि कारोबारको झ्याङ्गिएको प्रष्ट भएको हो । शेयर बजारमाजस्तै भर्चुअल मुद्राको बढ्ने घट्ने हुँदा यसप्रति आममान्छेको चासो बढेको हो । भर्चुअल मुद्राको कारोबारमा सबैभन्दा पहिला विदेशमै बस्ने नेपालीहरु आकर्षित बने । हुन पनि सन् २०१० मा ६ सेन्ट (०.०६ डलर अर्थात् करिब ७ रुपैयाँ) रहेकोको बिटक्वाइन सन् २०२१ मा बढेर ६६ हजार डलर (करिब ८० लाख) रुपैयाँसम्म पुग्यो । अहिले पनि बजारमा यसको मूल्य ३७ हजार डलर हाराहारीमा रहेको जानकारहरु बताउँछन् । सुरुमा बिटक्वाइन कारोबार गर्नेहरु नाफामा गए । कमाउन विदेश गएकाहरुमध्ये केहीले बुझेर र धेरैले नबुझेर भर्चुअल मुद्रामा लगानी गरे । उनीहरुकै सिको नेपालमा पनि गर्न थालियो । नाफा कमाउने लोभमा गोल्डक्वेष्ट,युुिनटीजस्ता चेन व्यवसायमा लगानी गरेकाहरुले डिजिटल मुद्रा प्रवद्र्धनको काम गरे । जसले गर्दा डलरमा कारोबार हुने डिजिटल मुद्राप्रति आकर्षित हुन पुगे । तर,उनीहरुले यो मुद्रा कारोबारमा हुने जोखिमको भने आँकलन गरेका छैनन् । जसले गर्दा उनीहरु जतिबेला पनि घाटामा जाने सम्भावना बढेर गएको छ ।अर्कोतर्फ, नेपालजस्तो सानो अर्थतन्त्र भएको देशबाट पूँजी पलायन हुँदा अर्थतन्त्र नै धरापमा पर्ने खतरा बढेको छ ।
हाल प्रयोगमा आएका क्रिप्टोकरेन्सी,बिटक्वाइन, हाइफर फण्डजस्ता मुद्राहरुको नियामक निकाय नै छैन । डिजिटल कारोबार हुने यो मुद्रा जुनसुकै बेला पनि बन्द हुनसक्छ । यो डिजिटल माध्यमबाट खेलिने एकप्रकारको जुवा नै हो । भारतले हाल जारी गर्ने डिजिटल मुद्राको नियमन केन्द्रीय बैंकले गर्छ । त्यो भनेको नोट लिएर हिँड्न नपर्ने वा सोझो भाषामा भन्दा क्युआर कोडमार्फत् पैसा भुक्तानी गरेजस्तै हो । तर, अन्य डिजिटल मुद्राहरुको हकमा त्यो सर्त लागू हुँदेन । त्यसैले ती मुद्रा ‘हावा’मा छन् । ठूलो रकम आउँछ भन्ने लोभमा राज्यले वैधानिकता नदिएको र छेउ–टुप्पो नभएको ठाउँमा लगानी गर्ने धृष्टता गरिनु हुँदैन । नेपालमा बढ्दो कारोबारलाई निरुत्साहित गर्न सरकारले कडा कदम चाल्नुपर्छ । जनचेतना बढाउनुपर्छ । अर्थतन्त्र नै संकटमा पार्नेहरुलाई कारबाही गरिनुपर्छ । बरु, वैधानिक डिजिटल कारोबार बढाउनेतर्फ भने ध्यान दिनुपर्छ ।
