सरकारले अनेकौं आशंका र अड्कलहरु चिर्दै आउँदो वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेको छ । जेठ ५ गते स्थानीय जनप्रतिनिधिहरुको कार्यकाल सकिँदै थियो । कार्यकाल सकिनु अगावै निर्वाचन गर्नुपर्ने कानूनी व्यवस्थालाई आत्मसात गर्दै सरकारले वैशाखमै चुनावको मिति घोषणा ग¥यो । जनप्रतिनिधिविहीनताको सम्भावित आशंका आफै हावामा बिलायो । त्यसो त,देशका सबै स्थानीय तहमा एकैसाथ निर्वाचन गर्ने निर्णयबाट केही जनप्रतिनिधिहरुले पूरा ५ वर्ष काम गर्न नपाउने अवस्था सिर्जना भएको छ । तर, यो परिस्थिति र आवश्यकताका कारण भएको निर्णय हो भन्ने उनीहरुले बुझ्नुपर्छ । ४–५ महिना बढी कुर्सीमा बस्ने कुराभन्दा राष्ट्रले जित्ने कुरा महत्वपूर्ण हुन्छ भन्ने उनीहरुले मनन गर्नुपर्छ । कानूनी छिद्रहरु खोज्दै निर्वाचन भाँड्ने वा विरुद्धमा जाने प्रपञ्च जनप्रतिनिधिहरु र राजनीतिक दलहरुबाट हुनु हुँदैन । निर्वाचन नचाहेका केही राजनीतिक दलहरुले एकैपटक घोषित निर्वाचन अवैध हुने अभिव्यक्ति दिएका छन् तर ती अभिव्यक्तिहरुमा कुनै दम छैन । देशका प्रमुख राजनीतिक दलहरुसहित हिजो चुनाव नै वहिष्कार गरेकाहरु पनि तयारीमा जुट्दा निर्वाचनको विरुद्धमा जाने छुट कसैलाई छैन । गएमा त्यो दल स्वयंले ठूलो मूल्य चुकाउनुपर्ने पनि निश्चित छ ।
निर्वाचन घोषणा भएको छ । निर्वाचन आयोगले चुनावी तयारी थालिसकेको छ । केही दिनमा आयोगले अवश्य आचारसंहिता जारी गर्नेछ । निर्वाचनलाई स्वस्थ,निष्पक्ष र पारदर्शी तरिकाले सम्पन्न गराउनु आयोगको दायित्व हो भने सघाउने दायित्व सरकारको हो । निर्वाचन घोषणा गरिसकेपछि सरकारले दायाँवायाँ गर्ने अवस्था छैन । उसको अर्जुनदृष्टि तोकिएको मितिमा शान्तिपूर्ण र निष्पक्ष तबरले निर्वाचन सम्पन्न गर्नेमै हुनुपर्छ । निर्वाचन एक्लै लड्ने वा गठबन्धन बनाउने छुट दलहरुलाई छ तर निर्वाचनको विरोध गरेर लोकतन्त्रको बर्खिलापमा जाने छुट कोही कसैलाई छैन र हुँदैन पनि । अतः दलहरु नै अब चुनावी तयारीमा लाग्दा उत्तम हुन्छ ।चुनाव घोषणा भएसँगै सबैभन्दा चनाखो चाहिँ नागरिकहरु नै हुनुपर्ने देखिएको छ । जनताहरुले आउँदो निर्वाचनलाई सामान्य निर्वाचनको रुपमा मात्रै नलिएर,आफ्नो सचेतता प्रदर्शन र प्रश्न गर्ने अवसरको रुपमा उपयोग गर्नुपर्छ । हिजो गरिएका बाचाहरु पूरा भए कि भएनन् ? किन पूरा भएनन् ? भन्नेलगायतका प्रश्नहरुसहित नागरिकले प्रतिनिधि चयन गर्दा विवेक पु¥याउनुपर्ने देखिएको छ । यो अभियानमा नागरिकहरु आजैदेखि चनाखो बन्नुपर्छ । चुनावको स्वागत गरिसकेको सन्दर्भमा निर्वाचन भाँड्न खोज्नेलाई खबरदारी गर्दै एजेण्डासहितका गतिला प्रतिनिधि छान्न तयार भएर बस्नुपर्छ ।
