बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

संरक्षण भएनन् शालिक

संरक्षण भएनन् शालिक

राजाको शालिक इतिहास हो । संरक्षण गर्नुपर्छ । ‘इतिहास जोगाउन नसके बेथिति हुन्छ ।


  • ढोरपाटन संवाददाता
  • माघ २७ २०७८, बिहिबार

बागलुङ/ बागलुङको ट्राफिक चोक नजिकै रहेको पार्कलाई अहिले पनि ‘वीरेन्द्र ऐश्वर्य पार्क’ले चिनिन्छ । पंचायतकालमै राजा वीरेन्द्र र रानी ऐश्वर्यको शालिक राखिएको थियो । फूलबारी, रुख विरुवा र हरियाली थियो ।
२०६२/०६३ को आन्दोलनमा यहाँको शालिक भत्काएर फालियो । दशकसम्म जीर्ण रहेको यो पार्क अहिले व्यवस्थापन गरिंदैछ । तर यहाँका शालिक र हरियालीको नाम निसाना मेटिने गरी काम भैरहेको छ । आर्कषक बनाउने भनेपनि हरियाली मासिएकोमा स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।

‘यो पार्क भूकम्प वा अन्य बेलामा मानिस जम्मा हुने खालको थियो, अहिले कंक्रिटको बनाउनु खासै राम्रो भएन’, होटल व्यवसायी अर्जुन चोखालले भने, ‘आकर्षक बनाउने भनेको कंक्रिटले मात्रै होइन, सही व्यवस्थापन गरेको भए हुने थियो ।’ यहाँका शालिकको अस्तित्व बचाएको भए पार्कको महत्व झनै बढ्ने उनले सुझाव दिए । एक करोड लागतमा पार्क व्यवस्थापन गर्न लागेपछि सबै रुखसमेत ढालिएको छ ।

बागलुङकै महेन्द्र चोकमा राजा महेन्द्रको शालिक थियो । त्यो पनि आन्दोलनकै क्रममा ढल्यो । अहिले त्यहाँ बाघको शालिक बनाइएको छ । शालिकमा लेखिएको विषय विवादित छ । इतिहासलाई नै बंग्याउने गरी शालिकमा विषय लेखिएको धेरैको टिप्पणी छ । यहाँ बाघको लस्कर लाग्ने भएकोले बागलुङ नामाकरण भएको उल्लेख छ । तर, अर्काथरीले बागलुङको हावापानीमा बाघ नपाइने टिप्प्णी गर्छन् । ‘यो हावापानी बाघ पाइने खालको होइन, बरु वाककला भएका मानिस बस्ने स्थान हो, त्यसबाटै बागलुङ भएको हुनुपर्ने’, स्वर्गीय पत्रकार विदुर खड्काको पुस्तकमा उल्लेख छ । खड्काले पुँवार खड्काको इतिहास नामक पुस्तक लेखेका छन् ।

सरकारी कार्यालयहरुमा राखिएका पूर्वराजा र पूर्वप्रधानमन्त्रीहरुका फोटो पनि आजकल भेटिन छाडेका छन् । तत्कालीन जिविस समन्वय कार्यालय भएपछि सबै तस्वीर लोप भएका छन् । हटाइएका तस्वीरहरु कता गए भन्ने कसैलाई पत्तो छैन । ‘परिवर्तनको नाउँमा पुराना इतिहास सबै मेटिएका छन्, यो राम्रो होइन’, तत्कालीन जिल्ला विकास समितिका सभापति टीकाराम सापकोटाले भने, ‘ती शालिकले कसैलाई बिगारेको थिएन, बरु पार्क र कार्यालयहरुमा शोभा बढाएको थियो ।’ व्यवस्था फेरिएपछि शालिक र तस्वीर हटाउने काम राम्रो नभएको उनले बताए ।

गण्तन्त्रपछि स्थापित भएका पार्कसमेत अव्यवस्थित छन् । एमालेले स्थापना गरेको मदन–आश्रित पार्क, २०५४ मा स्थापना भएको शहीदस्मृति पार्क, बाल उद्यान र कांग्रेसले बनाएको बीपी बाटिका पनि व्यवस्थित बन्न सकेका छैनन् । ‘बीपी बाटिकामा हरेक वर्ष रोपिएका बिरुवा कुनैपनि छैनन्’, बानपा १ का सामाजिक अगुवा दुर्गाबहादृर आचार्यले भने, ‘संरक्षण गर्न नसके पार्क र बाटिका बनाउनुको औचित्य छैन ।’ कांग्रेसका स्थानीय समितिले बनाएको बीपी पार्कको व्यवस्थापनको काम भने भएको छ ।
शालिक संरक्षणबारे वीरेन्द्र ऐश्वर्य पार्कको डीपीआरमा कुनै योजना समावेश छैन । ‘राजाको शालिक भएपनि कुनै बेलाको महत्वले बनेका थिए, त्यो इतिहास हो, इतिहास संरक्षण गर्नुपर्छ’, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष मुकेश राजभण्डारीले भने,‘इतिहास जोगाउन नसके बेथिति हुन्छ ।’ जो शक्तिमा आउँछ, उसैले आफ्नो स्वार्थको संरचना बनाउने अवस्था नआएको राम्रो हुने उनले सुझाव दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->