पर्वत/कोरोना संक्रमणको अवस्था सामान्य अवस्थामा फर्किएपछि जिल्ला प्रशासन कार्यालय पर्वतले निषेधाज्ञालाई खुकुलो पार्दै भौतिक रूपमा सञ्चालनको अनुमति दिने भएको छ ।
प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीका अनुसार जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र (डिसीएमसी) को गत माघ २५ मा बसेको बैठकबाट फागुन एक गतेदेखि सुरक्षा सावधानीसहित भौतिक उपस्थितिसहितको अनुमति प्रदान गर्न लागिएको हो । प्रमुख जिल्ला अधिकारी खत्रीद्वारा जारी गरिएको आदेशमा सिनेमा हल, जिम खाना, कभर्ड हल, स्पोर्ट क्लब, स्विमिङ पुल, ब्युटीपार्लर, तथा सैलुनहरू जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गर्ने गरी सञ्चालन गर्न पाउने भनिएको छ ।
यस्तै विद्यालय, कलेज, ट्युसन सेन्टरहरूबाट भौतिक उपस्थितिमा सञ्चालन हुने पठनपाठन तथा तालिम जनस्वास्थ्य र सुरक्षाको मापदण्ड परिपालना गर्ने गरी सञ्चालन गर्ने पनि आदेशमा भनिएको छ । तर विद्यालय सञ्चालनको लागि जनस्वास्थ्य र सुरक्षाको मापदण्ड परिपालना गर्ने गरी सम्बन्धित स्थानीय तहले व्यवस्था मिलाउनुपर्ने भनिएको छ ।
पार्टी प्यालेसले भने कुल क्षमताको ५० प्रतिशत क्षमतामा सञ्चालन गर्न पाउने तर एक सय जना भन्दा बढी भेला हुन नपाउने, धार्मिक वा सांस्कृतिक जात्रा, पर्व, विवाह, न्वारन, पास्नी, व्रतबन्ध, धार्मिक अनुष्ठान, मृत्यु संस्कार गर्दा सुरक्षा सतर्कताको कार्यान्वयन गरिएको हुनुपर्ने आदेश दिइएको छ । जिल्लामा रहेका सेवा प्रदायक निकायहरूले सेवा प्रवाह गर्दा सेवाग्राहीहरूले अनिवार्य रूपमा कोभिड बिरुद्धको खोप लगाएको प्रमाण देखाउनुपर्ने, सार्वजनिक यातायातमा सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाइने भनिएको छ । यस्तै होटलहरुमा कुल क्षमताको आधा भन्दा बढी सेवाग्राहीलाई राख्न नपाइने र उनीहरूको बीचमा दुई मिटरको सामाजिक दूरी कायम राख्नुपर्ने प्रजिअको आदेश छ ।





