बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

मोदीमा सुत्केरीलाई गाउँपालिकाको थप २५ सय भत्ता

मोदीमा सुत्केरीलाई गाउँपालिकाको थप २५ सय भत्ता


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १ २०७८, आइतबार

पर्वत/पर्वतको मोदी गाउँपालिकाले ‘सुत्केरीसँग उपाध्यक्ष’ कार्यक्रम सञ्चालन गरिरहेको छ । यो कार्यक्रमले २० वर्ष उमेर पूरा भएपछि बच्चा जन्माएका आमा र उनीहरूका बच्चाको पोषणको अवस्थामा सुधार ल्याउनको आमालाई २५ सय रुपैयाँका दरले भत्ता उपलब्ध गराउँछ । २० वर्षभन्दा सानो उमेरमै हुने विवाह र आमा बन्ने क्रमलाई शून्यमा झार्नको लागि अभियान चालिएको गाउँपालिकाका प्रशासकीय अधिकृत किसानबहादुर क्षेत्रीको भनाइ छ ।
भत्ता पाउनको लागि उमेरको मापदण्ड सहित कुनै पनि सरकारी जागिर नभएको, नियमित रूपमा चार पटक गर्भ जाँच गरेको, सरकारी स्वास्थ्य संस्थामा सुत्केरी भएको हुनुपर्ने नियम राखिएको छ ।
‘२० वर्ष उमेर पार गरेको, नियमित रूपमा चार पटकसम्म गर्भको जाँच गरेको, सरकारी स्वास्थ्य संस्थामा बच्चा जन्माएर जन्म प्रमाणपत्र लिएको र कुनै प्रकारको सरकारी सेवामा नरहेको व्यक्ति भएमा भत्ता दिइन्छ,’ उनले भने, ‘यसो गर्दा भत्ताका लागि २० वर्षपछि आमा विवाह गर्ने र आमा बन्ने, सरकारी सेवामा नरहेकालाई भत्ता दिँदा आर्थिक समस्यामा रहेकाले रकम पाउने, नियमित गर्भ परीक्षण गरेको हुनुपर्नाले मातृ–शिशु मृत्युदरमा कमी आउने हुन्छ।’दुईभन्दा बढी सन्तान जन्माएको अवस्थामा भने यो कार्यक्रमले आमाहरूलाई सम्बोधन नगर्ने प्रशासकीय अधिकृत क्षेत्रीको भनाइ छ ।
यो कार्यक्रमको सुरुवात भएको दुई वर्षको अवधिमा गाउँपालिकाभित्रका आमाहरूको स्वास्थ्य अवस्थामा सुधार ल्याउन केही सहज भएको गाउँपालिकाकी उपाध्यक्ष सेती महत बताउँछिन् । अघिल्लो आर्थिक वर्षमा ७० जना आमाहरूलाई २५ सयका दरले एक लाख ७५ हजार रुपैयाँ बाँडिएको बताउँदै उनले चालु आर्थिक वर्षको हालसम्म एक सय २१ जनालाई तीन लाख रुपैयाँ बाँडिएको जानकारी दिइन् । गाउँपालिकाले राखेका सर्तहरू पूरा गर्नेहरूको क्रम बढेका कारण अघिल्लो वर्षको तुलनामा यो वर्ष यो भत्ता पाउनेहरूको संख्या पनि बढेको उपाध्यक्ष महतको भनाइ छ ।
‘अघिल्लो आर्थिक वर्षमा ७० जनालाई भत्ता दिइएकोमा चालु आर्थिक वर्षको माघसम्म एक सय २१ पुगेका छन् । कार्यक्रम लागू भएको पहिलो वर्षमा हामीले तोकेका मापदण्ड पूरा नगर्दा आमा बनेर पनि भत्ता नपाएकाहरू थिए,’ उनले भनिन, ‘मापदण्डहरू पूरा गरेर आउनेहरूको क्रम बढेसँगै भत्ता पाउनेहरूको संख्या पनि बढ्दै गएको हो।’ गाउँपालिकाको कार्यालयका अनुसार चालु आर्थिक वर्षको माघसम्म भुकका छ जना, देउपुरका १२ जना, देउरालीका १४ जना, क्याङका १६ जना, बाजुङका २१ जना, तिलहारका १६ जना, राम्जाका २० जना र चित्रेका १६ जना आमाहरूलाई भत्ता उपलब्ध गराइसकिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->