बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बसपार्क चलाउन नगरले थाल्यो पहल

बसपार्क चलाउन नगरले थाल्यो पहल


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ३ २०७८, मंगलबार

बागलुङ/ निर्माण सम्पन्न भएर प्रयोगविहीन भएको आधुनिक बागलुङ बसपार्कको सञ्चालनका लागि बागलुङ नगरपालिकाले छलफल थालेको छ । बागलुङ नगरपालिका–४ उपल्लाचौरको दावगह्रामा निर्माण भएको आधुनिक बसपार्क सञ्चालनका नगरपालिकाले सरोकारवालासँग छलफल गरेको हो ।

सोमबार जिल्ला प्रशासन, प्रहरी कार्यालय, ट्राफिक प्रहरी, यातायात व्यवस्था कार्यालय, उद्योग वाणिज्य संघ, जनप्रतिनिधि र यातायात व्यवसायी समेतको छलफलमा बसपार्क सञ्चालनका लागि आवश्यक राय मागिएको थियो । बसपार्क सञ्चालन हुँदा प्रयोगविहीन हुने चिप्लेटी बसपार्कको उपयोग, बागलुङ बजारमा ट्राफिक व्यवस्थापन र साना तथा ठूला सवारी साधनको पार्क व्यवस्थापनका विषयमा सरोकारवालाबीच छलफल भएको छ ।

बसपार्कको सञ्चालन र नगरभित्र सवारी व्यवस्थापनका लागि नगरपालिकाले कार्यबिधि तयार गर्ने भएको छ । कार्यबिधि तयार गर्नुपूर्व आवश्यक राय दिनका लागि ‘नगरको समग्र यातायात व्यवस्थापन सुझाव कार्यदल’समेत बनाइएको छ ।
बागलुङ नगरपालिकाका इञ्जिनियर मनोजसहित  प्रशासनका प्रतिनिधि, ट्राफिक प्रहरी प्रमुख, यातायात व्यवस्था कार्यालयका प्रमुख, दुई जना जनप्रतिनिधि, उद्योग बाणिज्य संघका अध्यक्ष, यातायात व्यवसायीका प्रतिनिधि, बसपार्कको जग्गा व्यवस्थापन समितिका प्रतिनिधिसहितको कार्यदल बनेको संयोजक मनोज शर्माले जानकारी दिए ।

कार्यदलले जतिसक्दो छिटो बसपार्क सञ्चालन र यातायत व्यवस्थापनका बिषयमा छलफल गरेर नगरको विद्यायन समितिलाई सुझाव दिने छ । सोही आधारमा बनेको कार्यविधि कार्यान्वयनमा आउने नगरप्रमुख जनकराज पौडेलले बताए ।
नगर विकास कोषको ऋण सहयोगमा निर्माण भएको बसपार्कसम्म पुग्ने पहुँच मार्ग विस्तार र घडेरी व्यवस्थापनमा ढिलाइ हुँदा बसपार्क प्रयोगबिहिन छ । पहुँच मार्ग र जग्गाको व्यवस्थापनलाई समेत अघिबढाउन नगरले काम थालेको हो । कार्यबिधितयार भएमा ठूला सवारी आधुनिक बसपार्क र साना सवारी साधन चिप्लेटी बसपार्कमा व्यवस्थापन गर्ने नगरले जनाएको छ ।

७ करोड ६६ लाख ९९ हजार रुपैयाँको लागतमा बसपार्क तयार भएको हो । बसपार्क क्षेत्रमा टर्मिनल भवन, व्यापारिक भवन र भूमिगत ट्यांक्सी पार्किङ, ग्यारेज र फुलबारी निर्माणको भएका छन् । नगर विकास कोषले ९ करोड ४ लाख रुपैयाँ ऋण दिएपछि निर्माणको काम शुरु भएको थियो । बाँकी रकममध्ये नगरपालिकाको ७५ लाख र समपूरक कोषबाट २५ लाख खर्च भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->