बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

दलहरु, दोहोरो चरित्र त्याग

दलहरु, दोहोरो चरित्र त्याग


  • Dhorpatan News
  • फाल्गुन ५ २०७८, बिहिबार

अमेरिकी सहयोग परियोजना (एमसीसी)को सवालमा नेपाली जनमत विभाजित बनेको छ । विपक्षमा सडकमा नारा–जुलुस हुन थालेको छ । यसो हुनुमा राजनीतिक दलहरुको गतिविधि नै कारक भएकोमा कुनै विवाद छैन । कतिसम्म भने सत्ता साझेदार दल माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) एमसीसीको विपक्षमा सडकमा उत्रिएका छन् । यी दुई दलकै कारण एमसीसी परियोजना सदनमा टेबल हुनबाट रोकिएको छ । सत्तामा बस्ने दलहरुले सरकारको निर्णयको पक्षमा उभिनुपर्छ तर यहाँ त ती दलहरु नै सडकमा उत्रिएर दोहोरो चरित्र प्रदर्शन गरेका छन् । एमसीसी पारित गराउन पत्र नै लेखेको सार्वजनिक हुँदा पनि माओवादी अध्यक्ष प्रचण्डले दोहोरो चरित्र प्रदर्शन गर्न छाडेका छैनन् । सत्तामा बसेर सत्ताकै विरुद्धमा उभिएर उनले राजनीतिक रुपले आफू जिम्मेवार नभएको प्रमाण पनि दिएका छन् । सत्ता गठबन्धनमै दरार आउँदा राजनीतिक तरलता बढ्ने खतरा पनि बढेको छ । सत्तामा हुँदा एमसीसीको पक्षमा रहेको प्रमुख प्रतिपक्षी एमाले यो रमितमा रमाएको छ । उसले सत्ता साझेदार दलहरुभित्र देखिएको मतभेदमा आफ्नो राजनीतिक भविष्य देख्न थालेको छ । सत्ताको नेतृत्व गरेको नेपाली कांग्रेस एमसीसीको पक्षमा देखिने र साझेदारहरु विपक्षमा देखिँदा उसलाई राजनीतिको रोटी सेक्न सजिलो भएको छ । तर, अहिले देखिएको भाँडभैलोले दुष्परिणाम निम्त्याउने खतरा बढ्दै गएको छ ।

राष्ट्रियताको सवाल उठ्दा नागरिकहरु सहजै सडकमा उत्रनु र ज्यानको आहूतीकै लागि तयार हुन्छन् । यसर्थ, यो संवेदनशील विषयलाई भजाँउने वा गलत तरिकाले प्रस्तुत गरिनु हुँदैन । तर,नेपालमा भने त्यसको विपरीत हुँदै आएको छ । राजनीतिक दलहरुले राष्ट्रियताको मुद्दालाई आफू अनुकूल प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएको छ । राष्ट्रियतासँग जोडिएका संवेदनशील विषयमा व्यापक बहस र राष्ट्रिय सहमति कायम हुनुपर्छ । तर, हामी कहाँ राष्ट्रियताका अन्य सवालहरुलाई पनि दलहरुले सत्ता स्वार्थसँग जोड्ने प्रवृत्ति झन झांगिएको छ । कुटनीतिक महत्वका संवेदनशील विषयहरुलाई हल्का ढंगले लिँदाको परिणति सुखद हुँदैन । यसले देशको गरीमा घटाउँछ, अन्तर्राष्ट्रिय सम्बन्धमा दरार उत्पन्न गराउन सक्छ र विश्वसनीयता हराउँछ । पछिल्लो समय चर्चामा रहेको अमेरिकी सहयोग परियोजना (एमसीसी)को हकमा पनि दलहरुले अंगिकार गरेको गलत प्रवृत्ति त्यही सम्भावनातर्फ लम्किएको छ । एमसीसी राष्ट्रिय हितमा छ कि छैन भन्ने बहस नाजायज हैन । राष्ट्रिय हित प्रतिकूल छन् भने त्यस्ता परियोजनालाई वहिष्कार गर्नुपर्छ । राष्ट्रिय स्वाधीनता पैसासँग सौदाबाजी हुनै सक्दैन र गरिनु हुँदैन । तर, सत्तामा हुँदा त्यही परियोजना सही ठान्ने र सत्ताबाट बाहिरिनासाथ विरुद्धमा उत्रिने प्रवृत्तिबाट राजनीतिक दलहरु मुक्त हुनुपर्छ । स्थिति बिग्रँदो छ तर नियन्त्रण बाहिर छैन । हाम्रै कारणले नेपालमाथि अविश्वास गर्ने वा कमजोरीमा खेलेर आन्तरिक राजनीतिमा विदेशी शक्ति प्रवेश गर्ने खतराप्रति नजरअन्दाज गरिनु हुँदैन । कांग्रेस प्रष्ट छ । अन्य दलहरुले कम्तिमा एमसीसीबारे प्रष्ट धारणा सार्वजनिक गर्नुपर्छ । एउटा चर्चित गीतमा भनिएजस्तै दुईतिर हैन,एकतिर माया देखाउनुपर्छ । जनतालाई उचाल्ने काम बन्द गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->