बागलुङ/जिल्लामा १३ औं पटक हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ । बागलुङमा अझै हात्तीपाईले रोगका बिरामी फेला परेकाले १३ औं पटक आम औषधि सेवन कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले आम औषधि सेवन कार्यक्रम सञ्चालनका लागि बागलुङका सरोकारवालासँग समिक्षा तथा योजना गोष्ठी सम्पन्न गरेको छ । जिल्लाका दशवटै स्थानीय तहले फागुनको १५ गतेदेखि अभियानअन्र्तगतका विभिन्न कार्यक्रम सञ्चालन गर्ने कार्ययोजना बनाएका छन् ।
हात्तीपाइलेको प्रारम्भिक खोजीका क्रममा जाँच गरिएकामध्ये २.४६ प्रतिशतमा संक्रमण देखिएकाले आम औषधि सेवन अभियान १३ औं पटक सञ्चालन गर्नुपरेको हो । २०७७ माघ महिनामा आम औषधि सेवन अभियान सञ्चालन पूर्व गरिएको परीक्षणमा १० जनामा पुनः संक्रमण देखिएको थियो । त्यस यता गत चैतमा एकपटक आम औषधि सेवन अभियान सञ्चालन भइसकेको छ ।
इपिडेमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार संक्रमितको दर २ प्रतिशतभन्दा कम नआएमा लगातार दुई बर्ष आम औषधि सेवन अभियान सञ्चालन गरेर औषधि खानुपर्छ । बागलुङ नगरपालिका–१४ को नारायणस्थानमा ८ जना र कुश्मीशेरामा २ जनामा संक्रमण फेला परेको थियो । दुवै ठाउँमा तीनसय जनामा परीक्षण गरिएको थियो ।
आम औषधि सेवन कार्यक्रम जिल्लाका सबै स्थानीय तहमा सञ्चालन हुनेछ । परीक्षण गरिएकामध्ये एक प्रतिशतभन्दा कम मानिसमा संक्रमण देखिएको अवस्थामा मात्रै यो आम औषधि खाने अभियान सञ्चालन गर्नु नपर्ने स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए । एकजना मात्रै संक्रमित औषधि खानबाट छुट्दा मात्रै जिल्लाभर नै आम औषधि अभियान सञ्चालन गर्नुपर्ने अवस्था आउने भन्दै गुरौले सबै नागरिकहरुलाई औषधि खान आग्रह गरे ।
गोष्ठीमा सहभागि स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत तथा स्वास्थ्य शाखाका प्रमुखहरुले संक्रमण देखिएको क्षेत्रमा मात्रै आम औषधि सेवन अभियान चलाउने वा सबै स्थानीय तहमा जाँचको व्यवस्था गर्न माग गरेका थिए । ‘हामीले आम औषधि सेवन चलाउँदा समाजमा जानेबुझेका शिक्षकहरुनै औषधि खान मान्नुहुन्न, हाम्रोमा जाँच भएको होईन हामीले किन खाने भन्नुहुन्छ ?’, गलकोट नगरपालिकाको स्वास्थ्य शाखाकी प्रमुख मिरा शर्माले भनिन्,‘पटक पटक सञ्चालन भएको अभियानमा स्वास्थ्यकर्मीलाई असहज भइरहेको छ ।’
किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडाका अनुसार पाँच बर्ष लगातार सबै नागरिकले आम औषधि सेवन अभियानमा सहभागि हुँदा छैटौं पटक औषधि खानु पर्दैन । तर अभियानमा सबै सहभागि नहुँदा पटक पटक अभियान सञ्चालन गर्नुपरेको हो ।





