पोखरा म्याराथनको १६ औं संस्करणको मूल प्रतियोगिता सम्पन्न भएको छ । विदेशी खेलाडीले सहभागिता जनाएको यो प्रतियोगितामा उनीहरुले कीर्तिमान कायम गरिदिएका छन् । २ घण्टा १९ मिनेट ४३ सेकेण्डको रेकर्ड बनाएका केन्याका धावक स्टेफन कोसगोइले विजेता बनेसँगै अभिव्यक्त गरेको भनाइले आयोजकलाई खुसी बनाएको छ । उनले पोखराको वातावरणको प्रशंसा गरिहँदा आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्चलाई साँच्चिकै म्याराथन अन्तर्राष्ट्रिय बनाउन थप उत्साह मिलेको छ ।
पाका खेलाडीहरुको संस्था भूतपूर्व खेलाडी मञ्चले गतिशीलताको लागि प्रतियोगिताको सुरुवात गरेको थियो । पोखरा रंगशालाको पर्खाल लगाउने अभियानबाट अस्तित्वमा आएको मञ्चले पछि म्याराथनलाई प्राथमिकतामा राख्यो । प्रतियोगिता आयोजना गर्नु यत्तिकै कठीन हुन्छ, अझ म्याराथनमा त झन सास्ती व्यहोर्नु पर्छ नै ! जसोतसो मञ्चले खेललाई निरन्तरता दियो । म्याराथनकै माध्यमबाट पोखरालाई चिनाउने संकल्प लियो । यो आफैमा सही र दूरदर्शी निर्णय थियो । संसारका धेरै सहरहरुलाई म्याराथनले चिनाउने गरेको छ । युरोपमका केही सहरहरुले ती सहरमा आयोजित म्याराथनमा भागमात्रै लिनुलाई मात्र पनि गर्वको विषय बनाएका छन् ।म्याराथनकै माध्यमबाट त्यहाँको पर्यटन प्रवद्र्धन गरेका छन् । आर्थिक गतिविधि चलायनमान बनाएका छन् । ती सहरहरुको तुलनामा नेपालजस्तो शान्त र स्वच्छ ठाउँ धावकहरुको लागि आकर्षणको केन्द्र बन्न सक्नेमा कुनै द्धिविधा थिएन ।
त्यही यथार्थता बुझेर मञ्चले म्याराथनलाई निरन्तरता दियो । आफ्नो ठाउँबाट राम्रै प्रचार ग¥यो । अहिले आएर पोखरा म्याराथन देशको सबैभन्दा चर्चित र ठूलो पुरस्कार राशीको प्रतियोगिता बनेको छ । बिस्तारै म्याराथनमा विदेशी खेलाडीहरुले चासो देखाएका छन् । दौडको लागि प्रख्यात अफ्रिकी देशका खेलाडीहरुको सहभागिताले अब म्याराथनले अन्तर्राष्ट्रिय स्वरुप ग्रहण गरिसकेको छ । मात्र, मान्यता पाउन बाँकी छ । पोखरा म्याराथनलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन मञ्च एक्लैको प्रयासले मात्रै पुग्दैन । यो अभियानमा राज्य र राज्य सम्वद्ध खेल संस्थाहरुले सघाउनुपर्छ । खेलकुदको माध्यमबाट अन्तर्राष्ट्रिय पहिचान,प्रतिष्ठा र आर्थिक उपार्जन गर्न सकिन्छ भन्ने प्रमाणित भइसकेको सन्दर्भमा म्याराथनलाई अझ परिष्कृष्त बनाउने अभियान थाल्नुपर्छ । म्याराथनलाई राष्ट्रिय पर्व बनाउन सडक सुरक्षा, पर्यावरणको संरक्षण, पुरस्कार राशीमा वृद्धि एवं अन्तर्राष्ट्रिय प्रचार–प्रसारमा ध्यान पु¥याउनै पर्छ । म्याराथनले सम्भावनाको बाटो पहिल्याएको छ । अब त्यो बाटोलाई राजमार्ग बनाउनेतर्फ अगाडि बढ्नुपर्छ ।
