चारबर्ष अघिनै सम्झौता भएको एमसिसि पास गर्ने की नगर्ने भन्ने बिषयले नेपाली राजनीति तातेको छ । पक्ष र बिपक्षमा धेरै बहस पैरवी भए । पछिल्लो साता देशभर आन्दोलन समेत भएको छ । तर यो पास गर्ने नगर्ने भन्दापनि को पानी माथीको ओभानो बन्ने भन्ने होड छ । त्यसैले दलहरुले पटक पटक आफ्ना भाषा फेरेका छन् । राष्ट्रघाती भनिएको सम्झौतालाई कांग्रेसले पास गर्न खोजेको छ । अन्य दलले मौन समर्थन दिएपनि सडकमा राष्ट्रघाती भनिरहेका छन् ।
एमसिसि परियोजनाबाट आउने बजेटबाट नेपालमा बिद्युतीकरण गर्ने लक्ष छ । केही काम अगाडि बढीसकेका पनि छन् । नेपालको आन्तरिक र छिमेकी भारत तथा बंगलादेश सम्म प्रशारण लाइन बनाउनकालागि यो परियोजना संचालन हुनेछ । त्यसबाट भारत र बंगलादेशमा बिद्युत बिक्रीकालागि बाटो खुल्ने जानकारहरु बताउँछन् । त्यसकालागि भारतको भूमि पनि प्रयोग गर्नु पर्ने बाध्यात्मक अबस्थाका कारण काम गर्न उसको अनुमति चाहिन्छ । त्यो बिषयलाई सार्वभौम राष्ट्रको अस्तित्वमा असर गरेको भन्ने नाराका साथ एकाथरी राष्ट्रबादी बनेका छन् । उनीहरले अमेरिकाको सैन्य रणनीति भित्र कांग्रेस फसेको र उसले राष्ट्रघात गरेको भनिरहेका छन् । मौन बस्नेले राष्ट्रघात वा हितमा छ भन्ने बोलेका छैनन् । बरु आफ्नो पालामा अगाडी बढ्ने, अर्काको पालामा पछि सर्ने नीति लिएको देखिन्छ ।
सत्ता गठबन्धनमा रहेका माओवादी र नेकपा एसलेभने सत्ता नभत्कने गरी दोहोरो नीति लिएका छन् । सत्ता भत्केमा आगामी निर्वाचनमा घाटा लाग्ने उनीहरुको आंकलन छ । सत्तामा बसेरपनि सडकमा ढुंगामुढा गर्न उनीहरुले छाडेका छैनन् । राष्ट्रघाती भनिएको कांग्रेसकै गठबन्धनमा उनीहरु मन्त्री बनेका छन् । एकोहोरो राष्ट्रघातको नारा लगाएको राष्ट्रिय जनमोर्चाले पनि अहिले सम्म सत्ता छाडेको छैन । बरु उसले सत्ता गठबन्धनबाट अधिकतम बार्गेनिङ गरेर कतिपय आयोग र राजनीतिक नियुक्तीहरु खाएको छ । एमालेले फरक बिषयमा संसद अबरोध गरिरहेको छ । तर संसदमा टेवल भएको एमसिसिलाई सकारात्मक भनेको छ । यसरी समग्रतामा हेर्दा जेजस्तो सम्झौता भएपनि यो अनुदानको रकम ल्याएर बिकास गर्ने कार्यक्रम भने हो ।
आर्थिक अबस्था कमजोर भएका देशमा अमेरिका लगायतका पश्चिमा देशहरुले अनुदान दिने चलन नौलो होइन । बीसौं बर्ष अघिदेखि आएका सहयोगबाटै नेपालका धेरै बिकास निर्माण भएका छन् । समयमा बजेट ल्याएर काम गर्नुपर्नेमा सहयोग लिने नलिनेमै नेपाली अलमलिएका छन् । सहयोग ल्याएकै भरमा नेपालमा अमेरिकाका सेना आउने भन्ने कुरा कति सत्य हो त्यो थाहा छैन, तर संसारभर एमसिसिकै कारण सेना गएको भने देखिएको छैन । बरु नेपालीहरु बाझीएर धुूबीकरण हुने, कसैले चिनलाइ गुहार्ने, कसैले भारत र अमेरिका गुहार्ने प्रवृत्तिले देशको बिकास मात्र हैन दुवैथरीको हस्तक्षेप बढ्ने संकेत भने देखिएको छ । बेइजिङ र वासिंटनले निकाल्ने बिज्ञप्तीहरु नेपाल लक्षित बन्न थालेपछि नेपाल बरु दुइ साँढेको मिचाइमा पर्ने संभावना बढी छ ।
नेपालले अहिले कुनै देशसँग निहुँ खोज्ने बेला होइन । पञ्चशिलको सिद्धान्त अनुसार समदुरी कायम गर्ने, सबैको साथ र सहयोग जुटाएर बिकास गर्ने हो । आफ्नो उत्पादन नभएको अबस्थामा सहयोग लिनुको बिकल्प छैन । सहयोग लिने बिषयमा छिमेकी चिढाएर पनि सफल भइदैन । त्यसैले अझैपनि कुटनीतिक रुपमा छिमेकीहरुसँग संवादमा रहेर समदुरी कायम गर्दै सबैको अनुदान र ऋण मार्फत देशको बिकास गर्नु आजको आवस्यकता हो ।
