बागलुङ/ तमानखोला गाउँपालिका वडा नं. २ को खोलेस्बाङकी बिष्णुमाया घर्तीले पानीको धारा बनाउन आँफैले गिटी कुटिन् । ढुंगा बोक्ने, खानेपानीको पाइपलाइन खन्ने काममा पनि खटिएकी छिन् ।
गाउँमा लामो समयदेखि खानेपानीको अभाव थियो । अभाव टार्न उनीहरुले दुइ बर्षदेखि खानेपानीको आयोजना निर्माण गर्दैछन् । कोरोना संक्रमण र निशेधाज्ञाले सोचेको बेलामा काम गर्न नपाएर ढिलाई भएको छ । खोलाखोल्सीको पानी खाँदा बिरामी पर्ने समस्याले उनीहरुले शुद्ध पानीको खोजी गरेका थिए । यो अभियानमा गोरखा वेयलफेयर ट्रष्ट दाताको रुपमा आइपुग्यो । त्यसपछि भने स्थानीयले हौसिएर काम गर्न थालेका छन् ।
दुइ वर्ष अघिदेखि सुरु भएको आयोजना पुरा हुने चरणमा पुगेको छ । ‘यति दुःख गरियो, अब घरमै खानोपनी पाइन्छ भन्ने आश छ’ उनले भनिन्, ‘पानीको कारण बिहानभर खर्चनु पर्दा बालबालिकालाई समयमा बिद्यालय पठाउन समेत सकिएको थिएन, अब सजिलो हुनेभयो ।’ आगामी चैत सम्ममा घर घरमा धारा ल्याउने गरी स्थानीयले काम गरेका हुन् । बर्षात्मा नजिकै पानीका श्रोत पाएपनि हिउँद र सुख्खा याममा बढी समस्या थियो । त्यसैले उनीहरुले पानी खेप्ने सास्ती खेपेका थिए ।
स्थानीयले खेपेको दुःखबाट दाता खोज्ने क्रममा ट्रस्ट भेटाएको उपभोक्ता समितिका अध्यक्ष यामबहादुर घर्तीले बताए । उनले बिद्यालय, सामुदायिक भवनसहित घर घरमा धारा जडान गरेर उपभोक्तालाई शुद्ध पानी खुवाउन लागेको बताए । ‘२०३३ सालको आयोजनाबाट पानी खाइरहेका थियौं, ती धारा मेटिएका थिए, मुहान सुकेको थियो, खोल्साखोल्सी धाउन बाध्य थियौं’ घर्तीले भने, ‘अहिले त धेरै टाढाबाट पानी ल्याउँदै छौं ।’ उनले सिद्दभीर भन्ने स्थानबाट पानी ल्याउन लागेको बताए । उक्त स्थान गाउँदेखि झण्डै १० किमी पर छ ।
६० लाख रुपैयाँ ट्रष्टको लगानी भएको आयोजनामा स्थानीयको श्रमदानसमेत गर्दा १ करोड बढी लागत लागेको घर्तीले जानकारी दिए । ‘यो आयोजना सम्पन्न भयो भने कम्तिमा २० वर्षलाई ढुक्क हुन्छ’ घर्तीले भने, ‘केही दुःख भएपनि दिगो रुपमा घर घरमा धारासमेत राखेर आयोजना सम्पन्न गर्दैछौं ।’ ढुवानीको समस्या भएकोले स्थानीयले पनि आयोजनामा धेरै लगानी गरेको उनले बताए ।
आयोजनाका सामाजिक सुपरिवेक्षक दुर्गा लिम्बुका अनुसार यो आयोजनाबाट १ सय ४७ धारा जडान हुनेछन् । तीमध्ये ५ वटा विद्यालय, आमा समूह, सामुदायिक भवन छन् । ‘जनताले लामो समय खानेपानीको सास्ती खेपेको भेटेपछि यहाँ आयोजना संचालन गरेका हौं’ लिम्बुले भने, ‘यसअघि पनि तमानखोलामा २ वटा आयोजनामा ट्रष्टले लगानी गरेको छ ।’ अन्य आयोजनाभन्दा ट्रष्टको आयोजनामा उपभोक्ताले बढी लगानी गर्नुपर्छ । तर दीगो आयोजनाका लागि काम गर्ने भएकोले उपभोक्तालाई पनि सहभागि बनाएको उनले बताए ।
तमानखोलामा जनप्रतिनिधि आएपछि १ हजार २ सय घरमा खानेपानीका धारा बनिसकेको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताए । यो आयोजनाको पानी झरेपछि उक्त तथ्यांकसमेत वृद्धि हुनेछ । ‘अझै झण्डै एक हजार घरमा शुद्ध खानेपानी पु¥याउन बाँकी नै छ, तर कतिपय घर भने अस्थायी हुन्’ बुढाले भने, ‘अभियान चलिरहेकोले केही समयमै अधिकांस घरमा शुद्ध पानी पुग्छ ।’
उनले तमानगाउँलाई त शुद्ध खानेपानीसहित पूर्ण सरसफाइ गाउँ घोषणाको तयारीमा पु¥याइसकेको बताए । तमानखोलामा नेपाल स्वास्थ्यका लागि पानी (नेवा), गण्डकी प्रदेश र स्थानीय तह समेतको लगानीमा अन्य खानेपानी आयोजना निर्माण भैरहेका हुन् ।





