बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बनिनसक्दै फेरि जीर्ण बागलुङ कुश्मीशेरा सडक

बनिनसक्दै फेरि जीर्ण बागलुङ कुश्मीशेरा सडक

सडकमा १ अर्बभन्दा बढी खर्च भएको छ तर सवारी चलाउँदाको हैरानी अन्त्य भएको छैन ।


  • ढोरपाटन संबाददाता
  • फाल्गुन १२ २०७८, बिहिबार

बागलुङ/ गत वर्षको चैतमा कालोपत्रे भएको बलेवास्थित पानीट्यांकीदेखि टाकुरी तर्फको सडकमा ठूलो पहिरो खसेको छ । पहिरोले झण्डै एकसय मीटर सडक र माथिल्लो बस्ती नजिकको खरबारी बगेको छ । बस्तीलाई जुनसुकै बेला जोखिम हुने अवस्था छ ।

यही सडकमा लगाइएका कतिपय पर्खालहरु चिरिएका छन् । नाली छियाछिया बनिसकेको छ । टाकुरीदेखि टुनिबोट खण्डमा सडकमा खाल्डै–खाल्डा छन् । कतै ढुंगामात्रै भएकोले सवारी साधन गुड्दा ठोकिन्छन् । कतै पानी जमेको छ । कतै खसेका पहिरो माथीबाटै सवारी गुड्नुपर्ने अवस्था छ ।

यी सबै सास्ती खेपेर दक्षिण बागलुङबासी नियमित जसो यात्रा गरिरहेका छन् । कालोपत्रे गरिएको पाउजामा कालोपत्रेसहित सडक बगेर खाल्डा बन्दा पनि मर्मत समेत गरिएको छैन । कतिपय स्थानमा नालीनै छैनन् । भएका स्थानमा पनि पहिरोले पुरेको छ । सामान्य बर्षात् हुँदा नालीको पानी सडकमा आउँछ ।

गतबर्ष खसेको पहिरोले भाँसिएको सडकमा अहिले जोखिम मोलेर यात्रा गर्नुपरेको जैमिनी नगरपालिका–१ का मोतीप्रसाद पौडेलले बताए । ‘हिउँदमै यस्तो छ, बर्षात्मा सवारी चढेर हिड्न पाइएला जस्तो छैन’, उनले भने, ‘समयमा काम गरेर सडक सुरक्षित बनाउनु पर्छ भन्ने कुरा जिम्मा लिएका नेता र कर्मचारीले बुझ्दैनन् ।’ सडक अवरुद्ध भयो भने बर्षातमा सयौं मानिसले दुःख पाउने उनले बताए ।

कुश्मीसेरा नजिकैको टुनिबोटमा पनि गतबर्ष खसेका पहिरा पन्छाइएका छैनन् । बस्तीसमेत बगाएको पहिरो नियन्त्रणमा पनि चासो छैन । बरु पहिरोले थुपारेको माटो माथीबाटै सवारी गुड्छन् । नगरप्रमुख इन्द्रराज पौडेलले नगरको कार्यक्षेत्रमा नपरेकोले काम नगरेको बताए । ‘सडक बनाउने जिम्मा सडक डिभिजनमा छ’ उनले भने, ‘समयमा मर्मत गरिएन भने बर्षात्मा दुःख पाइन्छ ।’ यो सडक हिउँदमै जोखिमको भएकोले बर्षात्मा चल्ने बनाउन पहल भैरहेको उनले बताए ।

२४ बर्षदेखि दक्षिण बागलुङबासीले सास्ती खेपेको यो सडक गत बर्षदेखि मात्रै कालोपत्रे थालनी भएको हो । चैतमा कालोपत्रे गर्दा आर्कषक देखिएपनि जोखिमको आंकलन बिनै काम भएको स्पष्ट देखिएको स्थानीय बलराम पौडेलले बताए । ‘एकै बर्षमा जोखिम हुने गरी कस्तो प्रकारको डिजाइनले काम भएको होला ?’ उनले गुनासो गर्दै भने, ‘जतासुकै पहिरो खसेका छन्, सडक भत्केको छ, समयमै बनाउनुपर्छ भन्ने चेतै कसैलाई भएन ।’

यो सडकको टाकुरीदेखि टुनिबोट तर्फको खण्ड अझै कालोपत्रे गर्ने काम बाँकी छ । केही खण्डमा गत सातादेखि काम थालिएको छ । तर गतबर्ष बनेर संचालनमा आएको सडक अहिले छियाछिया भैसकेको छ । कालोपत्रे उप्केको छ । सडकमा खाल्डैखाल्डा छन् । कतै एउटा गाडि मात्रै गुड्ने साँघुरै छाडिएको छ । घुम्तीमा साँघुरो सडकले दुर्घटनाको जोखिम छ । २०५४ सालमा ट्रयाक खुलेपछि यो सडकमा १ अर्ब भन्दाबढी रकम खर्च भैसकेको स्थानीयको टिप्पणी छ ।

तत्कालिन जिविसको करोडौ लगानी भएको यो सडकमा आरआईडिपी परियोजनाको पनि धेरै लगानी भयो । ड्रिलिप नामक सरकारी परियोजनाले पनि १६ करोड लगानी गरेको थियो । गत बर्ष १० किमी खण्डमा ४० करोड लगानी भएको थियो । गत बैसाखमा कर्ण बिल्डर्सले कालोपत्रे गरेको खण्डपनि जीर्ण भैसकेको हो ।

सडक डिभिजन कार्यालयका इन्जिनियर मुकुन्द लामिछानेले काम सम्पन्न भएको एक बर्ष भित्र बिग्रे भत्केको ठेकेदारले बनाउनु पर्ने बताए । ‘हामीले अनुगमन गर्र्छौ, तर गुणस्तरहिन काम भएको र एकबर्षमै भत्केको स्थानमा ठेकेदार जिम्मेवार बन्नुपर्छ’ उनले भने,‘गुणस्तरहिन काम गर्नेलाई जिम्मेवार बनाउन पहल गर्छौ ।’ केही खण्डमा भने प्राकृतिक प्रकोपले जोखिम बनाएको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->