बागलुङ/ दुई वर्षअघिको पहिरोले घर तथा परिवार गुमाएका र विस्थापितलाई फर्काउन जैमिनी नगरपालिकाले अनुदान दिने नीति बनायो । तर, अनुदान माग्न पीडितहरु नआएको नगरपालिकाले जनाएको छ ।
आफ्नै वडामा घर बनाएर बसेमा ४ लाखसम्म अनुदान दिने योजना ल्याए पनि पीडित भने अन्यत्रै बसाइ सरेका हुन् । जैमिनी नगरपालिका वडा नंं १ को टुनिबोटमा दुई वर्षअघिको पहिरोले घरहरु विस्थापित भएका हुन् । पहिरोले ८ घर भत्केका थिए । एक दर्जन घर चिरिएका छन् । दुई जनाको मृत्यु भएको थियो ।
ती घर भत्केपछि पहिरोको जोखिम देखेर टुनिबोट बस्तीका अधिकांस घरपरिवार बसाईँ सरिरहेका छन् । त्यसैले यहाँ अनुदान लिएर घर बनाउनेहरु नभेटिएका हुन् । पहिरोपछि धमाधम बसाइँ सर्नेको लर्को छ । झण्डै १५ घरले बसाइ सरिसकेका छन् । तीमध्ये अधिकांश चितवन झरेका छन् । केहीले सदरमुकाम र सुरक्षित स्थान खोजेर हिँडेका छन् । वर्षांैदेखि बसेको थातथलो छोड्ने योजनामा केही मानिसले तयारी गरेका छन् । स्थानीय शिक्षक यदुनाथ शर्माले पनि आगामी असारसम्ममा घर छाड्ने योजना सुनाए । उनका छिमेकीहरुले पनि चितवनको तयारी गरेको बताए ।
स्थानीय टिकादेवी शर्मा, शिव शर्मा कोपिला पाध्या, धनपति पाध्यासमेतले गाउँ छाडेको उनले बताए । नगरपालिकाले प्रतिघर ४ लाख रुपैयाँ दिएर पीडितलाई गाउँमै बसाल्ने योजना बनाएको थियो । तर, नजिकमा जग्गा नपाएपछि अधिकांसले सुरक्षित स्थान खोज्दै बसाईँ सरेको बताए । हाम्रा जमिन चिरिएका छन्, घर पनि जोखिममा छ, कसरी बसौं, पैसा नभएपछि कता जाऔं ?’ स्थानीय सरस्वती शर्माले गुनासो गर्दै भनिन्, ‘नगरपालिकाले हामीलाई मान्छे गनेन् ।’ मान्छे गनेको भए जहाँ बसेपनि अनुदान दिनुपथ्र्यो भन्दै उनले अनुदान नलैजाने गरी योजना बनाएको टिप्पणी गरिन् ।
अन्यत्र घडेरी नभएकोले सस्तोका लागि चितवन झर्नुपर्ने बाध्यता स्थानीयले सुनाए । उनीहरुले जग्गा नभएपछि कि यहीं जोखिमकै स्थानमा घर बनाउनुप¥यो, नत्र हामीले अनुदान नपाउने भयौं’, शर्माले भनिन्, ‘बालबालिका बोकेर बर्षात्मा सुरक्षित ठाउँ खोज्दै हिंड्नुपर्ने बाध्यता छ ।’ हिउँदमा झार उम्रेकोले जंगल जस्तो देखिएपनि बर्षात्मा टुनिबोट जोखिमको भएको उनले बताइन् । अधिकांस घरको भित्रभित्रै पानीको मुल फुट्ने गरेको उनले सुनाइन् ।
घर जमिन सुरक्षित भएपनि मनोबैज्ञानिक रुपमा कतिपयले बस्ती छाडेका छन् । ‘छिमेकीहरु उठेर हिंडेपछि सुरक्षित भएपनि के कसो हुने हो भन्ने लागेको छ’, स्थानीय भेषराज पौडेलले भने, ‘जाने ठाउँ छैन, तर बर्षात्मा के हुने हो भन्ने डरै मात्र छ ।’ गत बर्षात्मा तीन महिनासम्म पौडेल परिवार छिमेकीको घरमा बसेका थिए । घर सुरक्षित भएपनि डरैडरले उनीहरु बस्न नसकेका हुन् ।
नगरप्रमुख इन्द्रराज पौडेलले बसाइसराइ रोक्न अनुदान नीति बनाएको बताए । ‘नगरभित्रै बस्नेलाई अनुदान दिन सकिन्छ, बाहिर जानेलाई त नगरको दायित्वमा राख्न सकिएन’ नगरप्रमुख इन्द्रराज पौडेलले भने, ‘पीडित भएपनि कार्यविधिले नदिने काम गर्न नसकेकै हो ।’ थातथलो रित्तो नहोस् भनेर अनुदान दिन खोजेपनि कसैले नलिएको उनले बताए । यहाँका पीडितहरु अधिकांस चितवन, केही सदरमुकाम र केहीले अन्य सहरी क्षेत्र ताकेका छन् । आगामी असार सम्ममा यहाँका २५ घरले बसाइ सर्ने तयारीमा छन् ।





