बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

‘दुव्र्यसनीलाई गोपनियता भंग हुने त्रास’

‘दुव्र्यसनीलाई गोपनियता भंग हुने त्रास’


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १४ २०७८, शनिबार

बागलुङ/ लागुऔषध प्रयोगकर्तामा एचआइभी र एड्सको संक्रमण कम गर्न बागलुङमा विभिन्न सामाजिक संघ संस्थाले गरेको प्रयास सकरात्मक देखिएको छ ।
स्वास्थ्य कार्यालय बागलुङसँगको समन्वयमा कम्युनिटी सपोर्ट ग्रुपले लागुऔषध प्रयोगकर्ताहरुलाई एचआइभी र एड्सबाट बच्ने उपायसहित सिरिन्ज, कण्डमलगायतका सामग्री उपलव्ध गराउँदै आएको छ ।

प्रयोगकर्ताहरुका लागि यस्ता सामग्रीहरु उपलव्ध गराउँदा एचआइभी र एड्स सर्ने सम्भावना कम भएको कम्युनिटी सपोर्ट ग्रुप बागलुङका कार्यक्रम संयोजक प्रदीप जिसीले बताए । निःशुल्क उपलव्ध गराइका सामग्रीहरुका कारण प्रयोगकर्ताहरुमा सम्भावित एचआइभी र एड्सको जोखिम कम भएको उनले बताए ।

‘अहिले हामीसँग १ सय ७० जनाले सिरिन्ज लिने गर्नुभएको छ, उहाँहरु कसैमा पनि संक्रमण भेटिएको छैन्’, जिसीले भने ‘अघिल्लो बर्षबाट कार्यक्रम सुरु भएकाले तथ्यांकमा घटे–बढेको देखाउन गाह्रो छ तर सजग र सतर्क बनाएको छ ।’ आगामी वर्षको कार्यक्रमका विषयमा छलफल गर्न सरोकारवालासँग शुक्रबार बागलुङमा आयोजित कार्यक्रममा जिसीले बागलुङ बजार र गलकोट तथा छिमेकी जिल्लाका सिमानामा प्रयोगकर्ता धेरै रहेको बताए ।

‘हामीले गोपनीयता कायम राखेका छौं, मात्रा घटाउन भन्छौं, एचआइभीबाट जोगिनका लागि सिरिन्ज दिन्छौं’, उनले भने ‘धेरैले सुधार केन्द्रसमेत जानुभएको छ ।’
जिसीका अनुसार लागुऔषध प्रयोगकर्ता २० देखि ३० वर्ष उमेर समूहका धेरै छन् । १ सय ७० जनामा एक जना मात्रै महिला रहेको उनले बताए । ‘यो संख्या धेरै हुनसक्छ किनकी ११ वटा सिरिन्ज भए पुग्नेहरुले ३५ वटासम्म लिएको तथ्यांक हामीसँग छ’, उनले भने ‘हामी खोजीकै क्रममा छौं, गोपनीयता भंग हुने त्रासले खुलेर नआएको हुनसक्छन् ।’

कार्यक्रममा प्रहरी उपरीक्षक दयानिधी ज्ञवालीले प्रहरीमा रहेका मनोसामाजिक परामर्शकर्ताबाट पनि उनीहरुलाई परामर्श दिएर लागुऔषध प्रयोगकर्ताको दर घटाउन सकिने बताए । ‘प्रहरीले समातेर कारवाही मात्रै गर्छ भन्ने भ्रम नपालौं, हामीले सुधार केन्द्र पनि पठाएका छौं, दुव्र्यसनी खुलेर आउँदा हुन्छ’, उनले भने ‘लागुऔषधको सेवन पछिका जोखिम कम गर्न सबै मिलेर लाग्नु जरुरी छ ।’

स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले एचआइभी नियन्त्रण जस्तो संवेदनशिल बिषयमा सबै क्षेत्रको साथ सहयोगको आवश्यकता रहेको औंल्याए । सोही अबसरमा राष्ट्रिय एचआइभी तथा एड्स महासंघले जिल्लामा गरेका गतिबिधिको बिषयमा समेत समिक्षा गरिएको थियो । महासंघले एक बर्षयता जिल्लाभर देश बाहिरबाट आउने र उनीहरुको परिवारमा गरेको परीक्षणमा ३ जनामा एचआइभी संक्रमण पुष्टि भएको छ ।

महासंघकी कार्यक्रम संयोजक सिर्जना थापाले ६ हजार बढी परीक्षण गर्दा दुई जना बिदेशबाट आएका र एक जनामा अर्को व्यक्तिबाट सरेको पाइएको बताइन् । विशेष गरेर भारतमा रोजगारीको लागि पुगेर फर्किने र उनीहरुको परिवारमा बिभिन्न चरणमा परीक्षण गर्ने गरिएको उनले बताईन् ।
यो कार्यक्रम जिल्लाका दशवटै स्थानीय तहमा सञ्चालनमा छ ।कार्यक्रम स्वास्थ्य कार्यालय बागलुङका कोभिड स्रोतव्यक्ति देवप्रकाश घिमिरेले सञ्चालन गरेकाथिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->