बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

कालिकाको भेटी अब सिधैं बैंकको खातामा

कालिकाको भेटी अब सिधैं बैंकको खातामा

भगवतीलाई क्यूआर कोडबाट नै पैसा समर्पण गर्न सकिने ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १५ २०७८, आइतबार

बागलुङ/ बागलुङ कालिका मन्दिरको भेटी तथा सहयोग रकमलाई बैंकिङ प्रणालीमा व्यवस्थापन गर्नका लागि क्यूआर कोडमार्फत भुक्तानी सुरु भएको छ । प्रभु बैंक बागलुङ शाखाले मन्दिरलाई क्यूआर कोड उपलव्ध गराएको हो ।
क्यूआर कोड हस्तान्तरण गर्दै नेपाल बैंकका निर्देशक तथा पोखरा कार्यालयका प्रमुख डा. रामशरण खरेलले नोटको सुरक्षा, भेटी तथा सहयोग रकमको पारदर्शीता र असहज परिस्थितिमा भक्तजनको सहजताका लागि क्यूआरकोड सहयोगी बन्ने बताए ।
‘देश डिजिटल युगमा प्रवेश गर्ने भनेको छ, अब हामी मन्दिरमा भेटी पनि डिजिटल माध्यामबाट चढाउन सक्छौं’, उनले भने ‘नोटको सुरक्षामा यो प्रबिधि निकै उपयुक्त हुनेछ ।’ मन्दिर र चाडपर्वका बेला नोटको प्रयोग हुँदा भिज्ने, च्यातिने, रंगहरु लाग्ने लगायतका समस्या हुने गरेको भन्दै उनले नोट छपाइमा लाग्ने राज्यको खर्च जोगाउन प्रविधि सहयोगी बन्ने बताए ।

मन्दिर परिसरमा क्यूआर कोड राखिने छ । सबै भक्तजनको पहुँचमा हुने क्यूआरकोड स्क्यान गरेर कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिको खातामा भक्तजन तथा दाताहरुले सिधै रकम जम्मा गर्न सक्ने छन् । सामाजिक उत्तरदायित्वअन्र्तगत बैंकले शनिबार मन्दिर परिसरमा एक कार्यक्रमको आयोजना गरेर कोड हस्तान्तरण गरेको हो ।

कार्यक्रममा बोल्दै नेकपा एमाले बागलुङका अध्यक्ष हिराबहादुर केसीले पर्यटकीय कालिका मन्दिरलाई प्रबिधिमैत्री बनाउन लागेको खुसी व्यक्त गरे । नेपाली कांग्रेस बागलुङका सचिव हरिहर शर्माले धार्मिक पर्यटनको विकासमा लाग्न सबैलाई आग्रह गरे । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश कमिटी सदस्य कुशुम बुढाले बैंक तथा बित्तिय संस्थाहरुले तल्लो बर्गका नागरिकको पहुँचमा पुगेर काम गर्नुपर्ने बताइन ।

नेपाल पत्रकार महासंघका उपाध्यक्ष नविन शिशिर बिक, उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी र कालिका भगवति गुठी व्यवस्थापन समितिका उपाध्यक्ष लिलादेवी खड्का लगायतले बोलेका थिए ।
कार्यक्रम प्रभु बैंकका उपप्रादेशिक कार्यालय प्रमुख राजु रानाको अध्यक्षता र बागलुङ शाखाका प्रबन्धक हेमन्तबाबु आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो । क्यूआर कोडको सुरुवात गर्दै प्रभु बैंक बागलुङ शाखाले कालिका मन्दिरको लागि ५ हजार ५५५ रुपैयाँ र नेपाल बैंकका निर्देशक तथा पोखरा कार्यालयका प्रमुख डा. रामशरण खरेलले १ हजार १११ रुपैयाँ सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->