
बागलुङ/ रोग निवारणका लागि बागलुङमा तेह्रौ पटक औषधि खुवाइने भएको छ । स्वास्थ्य कार्यालय बागलुङले फागुन २७ गतेदेखि जिल्लाभर फेरि हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको हो ।
पटक पटकको औषधि खुवाइबाट पनि रोग निवारण नभएपछि तेह्रौ पटकको अवस्था आएको स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले बताए । ‘हामीले धेरै पटक औषधि खुवायौं, तर औषधि उनीहरुले निले कि निलेनन् भन्ने अन्यौल भयो, त्यसैले फेरि पनि औषधि खुवाउनुपर्ने अवस्था आयो’, उनले भने, ‘यो पटक स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधि खुवाउने कार्यक्रम छ ।’
यो पटकको औषधि खुवाएर पनि निवारण नभएमा थप अर्को औषधि सहित आगामी दुई बर्ष फेरी औषधि खुवाउने योजना उनले सुनाए ।
बागुङमा २०६६ सालदेखि लगातार हात्तीपाइलेविरुद्धको औषधि खुवाइएको छ । सामान्यतया ४ देखि ६ बर्ष औषधि खुवाएपछि हात्तीपाइले निवरण हुनुपर्नेमा नभएपछि पटकपटक खुवाउनु परेको हो । बागलुङमा अझै पनि १० जनाभन्दा बढीमा हात्तीपाइले रोग देखिएको हो । यो संख्या कुल परीक्षण गरिएका ३ सय जनाको २ प्रतिशतभन्दा बढी हो । विश्व स्वास्थ्य संगठनले २ प्रतिशत बढी संख्या भएमा रोग निवारण नभएको मानेर औषधि खुवाउनुपर्ने प्रावधान राखेको छ ।
बागलुङ नगरपालिका १४ को नारायणस्थान र जैमिनी नगरपालिका–१ को कुश्मीसेरामा हात्तीपाइलेका बढी रोगी देखिएका छन् । त्यस्तै, बडिगाडमा पनि केही बिरामी भेटिएको हात्तीपाइले रोग निवारण फोकलपर्सन लक्ष्मी शर्माले बताइन् । यो बर्ष पनि बागलुङमा २ लाख ९३ हजार मानिसलाई औषधि खुवाउने कार्यक्रम रहेको उनले जानकारी गराइन् । हात्तीपाइले रोग लागेपछि खुट्टा सुनिने, संक्रमण हुने र पछिल्लो समयमा हिंड्न डुल्नै नसक्ने र खुट्टा झर्ने सम्मको समस्या हुने गर्छ ।
गतबर्ष स्वास्थ्य कार्यालयले गरेको खोजी अनुसन्धानमा जिल्लाभर १ सय ६२ जनामा अण्डकोस सुनिने रोग लागेको भेटाएको थियो । तीमध्ये ९ जनाले मात्रै स्वास्थ्य संस्थामा आएर अपरेशन गरेका थिए । अण्डकोस सुनिने मानिसमा हात्तीपाइले हुने बढी जोखिम हुने गुरौले जानकारी दिए ।
गुरौको अध्यक्षतामा आइतबार आयोजित अन्तरक्रियामा नेपाल पत्रकार महासंघ बागलुङका उपाध्यक्ष नविक शिशिर बिक र फेयरमेड फाउण्डेसनका कार्यक्रम संयोजक गणेश बरुवालले पनि धारणा राखेका थिए । फेयरमेड फाउण्डेसनले ग्रामीण स्वास्थ्य सुधार परियोजनामार्फत् जिल्लाका दशवटै पालिकाको स्वास्थ्य संस्थामा उपकरण सहयोग, अपांगता र हात्तीपाइले क्षेत्रमा पनि काम गर्दै आएको छ ।





