बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

भ्रष्टाचार मुद्दा लागेपछि बागलुङ नगरपालिकाका जनप्रतिनिधी र कर्मचारी निलम्बनमा

भ्रष्टाचार मुद्दा लागेपछि बागलुङ नगरपालिकाका जनप्रतिनिधी र कर्मचारी निलम्बनमा


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १६ २०७८, सोमबार

बागलुङ/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागलुङ बसपार्कमा भ्रष्टाचार भएको आरोपमा बिशेष अदालतमा मुद्दा दायर गरेपछि कर्मचारी र जनप्रतिनिधि निलम्बनमा परेका छन् । मुद्दा परेकाहरुको नेमप्लेट हटाइएको छ । उनीहरुको कुर्सी खाली छन् ।

त्यतिमात्र हैन उनीहरुले चढ्ने गरेका गाडी र मोटरसाइकल पनि फिर्ता भएका छन् । अख्तियारले उपप्रमुख सुरेन्द्र खड्कासहित ८ जनालाई भ्रष्टाचारविरुद्ध मुद्दा दायर गरेको थियो । मुद्दा परेपछि अख्तियारले पत्र पठाएर उनीहरुलाई कारवाही गर्नु भन्ने जानकारी गराएपछि उपप्रमुख खड्काले चढ्ने गरेको जिप, इन्जिनियरले चढेका मोटरसाइकल, उनीहरुले प्रयोग गरेका ल्यापटप लगायतका सामाग्री पनि फिर्ता गरिएका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले बताए ।

‘कानूनले निलम्बन हुने व्यवस्था गरेपछि उहाँहरुलाई गाडीघोडा चढ्न दिने कुरा भएन, फिर्ता भैसकेको छ’ सापकोटाले भने, ‘गाडीहरु हाम्रो कार्यालयमा आइसकेका छन् ।’ अख्तियारले पनि पत्र पठाएर कारवाहीमा साथ दिनु भनेकोले सोही अनुसार काम भैरहेको उनले बताए ।

सोमबार बिहान नगरप्रमुख जनकराज पौडेलको अध्यक्षतामा बसेको आकस्मिक बैठकले अख्तियारको मुद्दाबारे गम्भिर छलफल गरेको थियो । आर्थिक वर्षको अन्त्य हुनै लागेकोले कैयौ योजनाको अनुगमन गर्नुपर्ने, निर्माणाधिन आयोजनामा प्राविधिक खटाउनु पर्ने बिषय पनि उठेको हो ।

‘काम भैरहेका स्थानमा नयाँ कर्मचारीले फेरी पुरै हेर्नुपर्ने बाध्यता हुन्छ, सोही अनुसारको खटनपटक हुनेछ’ प्रशासकिय अधिकृत सापकोटाले भने, ‘अन्यलाई पनि होसियारीका साथ काम गर्न भनेका छौं ।’ प्राविधिकले ल्याएको प्रतिवेदन र कागजातमा सही गर्ने भएकोले प्राविधिकहरुनै प्रष्ट र सचेत बन्नुपर्ने उनले बताए ।

बैठकका सहभागिले तत्काल कार्यपालिका बैठक बसेर अनुगमन समितिको संयोजक तोक्ने सहमति भएको बताए । ‘वडा अध्यक्ष वा सदस्यबाट संयोजक तोकेर काम गर्ने भन्ने छ’ उनले भने, ‘बेरुजु आइसकेको स्थानमा भुक्तानी दिने कामबाट यो समस्या सिर्जना भएकोले आन्तरिक रुपमा पनि अनुसन्धान गर्ने कुरा भएको छ ।’ सिफारिस गर्नेलाई कारवाही हुँदा चेक काटेर भुक्तानी दिनेलाई किन कारवाही भएन भनेर बहस भएको उनले बताए ।

बागलुङ बसपार्क निर्माणको क्रममा कामै नभएको स्थानमा भएको देखाएको, डोजर प्रयोग गरेर काम गरेको स्थानमा डोर हाजिरी देखाएको लगायतका बिषयमा अनुसन्धान गर्दा रकमसमेत अपचलन भएको देखेपछि अख्तियारले बिशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

मुद्दा परेपछि तत्कालिन डिभिजन इन्जिनियर दयाराम पौडेल, इन्जिनियर मनोज शर्मा र सबइन्जिनियर घनश्याम रिजाल निलम्बनमा परेका हुन् । उपप्रमुख खड्कासहित वडा नंं ४ का अध्यक्ष धु्रबबहादुर केसी पनि निलम्बनमा परेका छन् । केसीले केही समयदेखिनै वडा सदस्यलाई कावा दिएर काठमाण्डौमा बसेका छन् । उनले लामो समय कावा दिन मिल्ने नमिल्ने वा कावा बसेकाले काम गर्न मिल्ने नमिल्ने कुरामा पनि छलफल भएको ती सहभागिले जानकारी दिए ।

बसपार्क निर्माणकै क्रममा बागलुङ नगरपालिकाले ठेक्का दिइसकेको स्थानमा उपभोक्ता समितिमार्फत पनि दुइ बर्षसम्म १०÷१० लाख रुपैयाँ बजेट बिनियोजन गरेको थियो । उक्त बजेटले गर्नुपर्ने काम नियमसंगत नभएकोले बसपार्क निर्माण समितिका अध्यक्ष सुवासकुमार राजभण्डारी, सचिव गुणनिधि शर्मा र कोषाध्यक्ष भीमकुमारी आचार्यलाई पनि मुद्दा परेको छ । उनीहरु पनि कारवाहीको दायरामा परेका छन् ।

अख्तियारले दायर गरेको अभियोगपत्र अनुसारको भ्रष्टाचार ठहर भएमा उनीहरुलाई बिगो रकम फिर्ता गर्नुपर्ने बाध्यता हुनेछ । साथै अदालतले दिने आदेश अनुसारको जरिवाना र कैद सजायसमेत भोग्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->