
बागलुङ/ राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङ–बलेवा बिमानस्थल खण्ड कालोपत्रेको बाटो खुलेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले सहमति जनाएकाले बागलुङ नगरपालिका वडा नं. १ मालढुंगादेखि बलेवा बिमानस्थलसम्मको १० किलोमिटर खण्ड कालोपत्रेका लागि बाटो खुलेको हो ।
चालु आर्थिक बर्षमा कालीगण्डकी करिडोरका लागि विनियोजित बजेटबाट उक्त खण्ड कालोपत्रेका लागि अर्थमन्त्रालयले स्रोत सूनिश्चित गरेको छ । फागुन १८ गते सडक विभागलाई पत्राचार गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले स्रोत सूनिश्चित भएको भन्दै कालोपत्रे गर्ने कामको प्रक्रिया अघि बढाउन भनेको छ ।
उक्त खण्ड कालोपत्रेका लागि ९३ करोड, १ लाख ७५ हजार ६ सय ६३ रुपैयाँको स्रोत सूनिश्तिच गरेको पत्र अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई लेखेको छ । अर्थले स्रोत सूनिश्चित गरेको पत्र तालुक मन्त्रालयबाट सडक विभागमा प्राप्त भएकाले बहुबर्षे ठेक्का प्रक्रियाको काम सुरु हुने कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाले जनाएको छ ।
यसअघि बैशाखमा घोषणा गरिएको स्थानीय तहको निर्वाचनका कारण बजेटको अभाव हुनसक्ने संकेत अर्थमन्त्रालयले गरेकाले सर्वसाधारणमा निरासा थियो । बलेवादेखि जैमिनी नगरपालिका वडा नं. ८ छिस्तीको अदुवाबारी २० किलोमिटर खण्डका लागि पनि स्रोत सूनिश्चित माग गरेको छ । बहुबर्षे ठेक्काका लागि योजना आयोग र अर्थमन्त्रालयले स्रोत सूनिश्चित गरेका छैनन् ।
‘लामो प्रयास पछिको यो महत्वपुर्ण उपलब्धी, बागलुङदेखि बलेवा विमानस्थलसम्मको १० किमी बाटो कालोपत्रेको बहुबर्षीय ठेक्काको लागि बजेट ९३ करोड सुनिश्चित भएको छ’ बागलुङ क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य डा. सूर्य पाठकले भने ‘अब कामका लागि जिम्मेबारी पाउने निर्माण कम्पनीलाई समयमा काम सक्न खबरदारी गरिरहनु पर्छ ।’
नेपाली सेनाले दश मिटर चौडा गरेर हस्तान्तरण गरेको यो खण्डमा गत बर्षाको समयमा आएको बाढी र पहिरोका कारण ठाउँ ठाउँमा क्षति पुगेको छ । गत आर्थिक बर्षमा सडक विभागले यो खण्ड मर्मतका लागि ५ करोड रुपैयाँ विनियोजन गरेर काम भैरहेको छ । आउँदो चैत मसान्तमा मर्मतको काम सकिने भएपछि कालोपत्रेको प्रक्रिया अघि बढ्ने भएको हो ।
बलेवा बिमानस्थलको सञ्चालन, जिल्लाको दक्षिण क्षेत्रको महत्वपूर्ण मार्ग र छिमेकी जिल्ला गुल्मीहुँदै भारतीय सिमानासम्म पुग्ने छोटो मार्ग भएकाले करिडोरको यो खण्डमा धेरैको चासो छ । जिल्लाको दक्षिण जोड्ने बागलुङ कुश्मीशेरा सडकसमेत ठाउँ ठाउँमा भत्किने, ठुलो पहिरोको मारमा पर्ने र बन्द हुने समस्या रहेकाले करिडोरको यो खण्ड कालोपत्र तत्काल गर्न सर्वसाधराणले समेत दबाब दिँदै आएका थिए ।





