रुसले युक्रेनमाथी गरेको आक्रमणको अहिले सर्वत्र बिरोध भएको छ । विश्वभर शान्ति स्थापना गर्ने अभियानमा लाग्नुपर्नेमा ठूला र शक्ती राष्ट्रहरुले आफ्ना हातहतियार बिक्री गर्न यस्ता लडाइहरु रचिरहन्छन् । कहिले अमेरिका, कहिले रुस यस्ता गतिविधिमा निरन्तर छन् । यस्ता गतिविधिले उनीहरुको हतियारको व्यपार भएको होला तर साना र बिकाससिल राष्ट्रहरु मारमा परेका छन् ।
अहिले विश्व बजारमा तेलको मूल्य बढेको छ । सुन त अतिसारै महंगो भैसक्यो । अझै बढ्ने संभावना छ । अन्य दैनिक उपभोग्य बस्तुको मूल्य पनि उत्तिकै आकासिएको छ । विशेषगरी तेल, सुन र निर्यातजन्य बस्तुहरुको मूल्यमा अन्तराष्ट्रिय घटनाक्रमले असर पर्ने गरेको छ । यो अबस्थालाई चिर्न संसारभरका राष्ट्रहरुमा शान्ति कायम हुनु पर्छ । बिकास र उत्पादनमा प्रतिष्पर्धा गर्न पाउने अबस्था आउनु पर्छ ।
तर यो क्रम कहिले पनि रोकिने वाला छैन । कुनै राष्ट्रको स्वतन्त्रता माथी हस्तक्षेप गरेर शक्तीराष्ट्रहरुले आधिपत्य जमाउन चाहन्छन् । आफ्नो शक्ती लाद्ने, लगानीको नाउँमा रणनीतिक योजना बनाउने, सामरिक अभ्यास गर्न साना राष्ट्र रोजेर ध्वस्त पारिदिने काम भैरहेका छन् । यस्ता घटनाक्रमको पछिल्लो स्वरुप युक्रेम माथी रुसको हमला हो । यो घटनाले तुलनात्मक युक्रेनमा समस्या आएको होला । तर रुसमा पनि कम क्षति भएको छैन । क्षति कतैपनि हुनु राम्रो होइन । आम नागरिकको संहारले कतैपनि शान्ति ल्याउन सक्दैन । बरु लामो समयसम्म शत्रुवत अबस्था रहन्छ ।
त्यतिमात्र होइन आणबिक हतियार जन्य युद्धले सयौं बर्ष पछि सम्म पनि असर गर्छ । बर्षौ पहिलाका जापान आक्रमणको असर अझै समाप्त भएको छैन । उक्त घटनास्थलमा कुनै जीवको अबशेष त बाँकी रहेन, बनस्पति पनि उम्रेन । सिंगो नाकासाकी र हिरोसिमा मरुभूमी बन्यो । त्यस्तै घटना अहिलेपनि दोहोरिएको छ । यो घटनाले युक्रेनमा पनि त्यस्तै समस्या आउने निश्चित छ । बर्षौपछि सम्म पनि मानिसमा अपांगता हुने देखि मानवीय अस्तित्वनै संकटमा पर्ने सम्ममा घटना हुन सक्छन् । सबै राष्ट्रहरुलाई शान्तिको बाटोमा हिडाउन सक्ने संयुक्त राष्ट्रसंघ लगायतका संस्थाहरु भिटो राष्ट्रको आक्रमणमा मौन बसिदिने गरेका छन् । अन्य स्थानमा सामान्य झगडा हुँदा अनमिन लगायतका मिसन बनाएर जाने ती अन्तराष्ट्रिय संस्था देश र मानव जातीकै अस्तित्व संकटमा पर्ने आक्रमण र युद्दहरु भैरहेको स्थानमा उपस्थित नहुनु अर्थपूर्ण छ । अब ती संस्थाहरुले बेलैमा बोल्नुपर्छ । संसारमा आणबिक हतियार उत्पादन र दुरुपयोग रोक्नुपर्छ । यस अघि त्यही युक्रेनमा भएका कतिपय आणविक भट्टीहरु रुस र अन्य शक्ती राष्ट्रले नष्ट गराएका थिए । साना राष्ट्रले हतियारको काम गर्दा सक्रिय हुने अन्तराष्ट्रिय संस्थाहरु शक्ती राष्ट्रका काममा मुकदर्शक बन्नु पटक्कै राम्रो होइन् ।
त्यसो त यो आक्रमणलाई संसारका अधिकांस देशले राम्रो मानेका छैनन् । तर खुलेर बिरोध गर्न पनि नसक्ने प्रवृत्तिले हिंसालाई प्रोत्साहन गरेको छ । शक्ती राष्ट्रहरुले दाताको निहुँमा होस् वा अन्य कारणले बिकाससिल राष्ट्रलाई प्रयोग गर्नु पनि घातक हो भन्ने सन्देश अब सबै मिलेर दिनुपर्छ । स्वभाविक रुपमा पाउने सहयोगलाई कुनै शर्त बनाउन समेत हुँदैन । अब संसारभरका बिकाससिल राष्ट्रहरुले शान्ति र बिकासकोलागि तटस्थ र असंलग्न परराष्ट्र नीति बनाउनु पर्ने बाध्यता पनि छ । नेपालले बर्षौ पहिला अंगालेको सिद्धान्तलाई फेरी एकपटक संसारभर उजागर गर्ने बेला भएको छ ।
