बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

स्वार्थबाट माथी उठ

स्वार्थबाट माथी उठ


  • Dhorpatan News
  • फाल्गुन २५ २०७८, बुधबार

सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेको छ । संसद विघटन भएन भने आउँदो बैशाख ३० गते स्थानीय तहको दोस्रो निर्वाचन हुनेछ । स्थानीय सरकारले एक कार्यकाल पुरा गरेको र अर्को कार्यकालका लागि निर्वाचनसमेत घोषणा भैसकेको अवस्थामा पहिलो कार्यकालका कामको समीक्षा गर्ने बेला भएको छ । लामो समय जनप्रतिनिधिबिहिन अवस्थामा रहेको स्थानीय तहमा पहिलोपटक आएका जनप्रतिनिधिले गरेको कामकारवाहीको मुल्यांकन, जनताले पाएको सेवा सुविधाको मुल्यांकन गरेर मात्रै आउँदो निर्वाचनमा अर्को कार्यकालका लागि प्रतिनिधि चयन गर्ने अधिकार मतदातामा छ । पहिलो कार्यकालका लागि जिम्मेबारी दिएको व्यक्ति वा पार्टीले पाँच वर्षको बीचमा के–के काम गरे ? के कति काम हुन सक्ने थिए तर भएनन् र के कति काम जनप्रतिनिधिले गर्नै चाहेनन् सर्वसाधारणले बुझेका छन् । दल र जनप्रतिनिधिले पनि सर्वसाधारणमा विधितै भएको कुरा जानकारीमा राख्छन् । पाँच वर्षअघि गरेका प्रतिबद्धता भुलिसकेका दल र उनीहरुले उम्मेदवार बनाएर जनप्रतिनिधि भएका नेताहरु फेरी पनि आफ्नो पकड कायम गर्नेमा छन् ।

निर्वाचनको सम्मुखमा आएर फेरी पनि जनताको आँखामा छारो हाल्ने काममा भने दल र उनीहरुले नै उम्मेदवार बनाएर छानिएका जनप्रतिनिधि भने दत्तचित्त लगाईरहेका छन् । जसको ज्वलन्त उदाहरण हुन पाँच बर्षमा हुन नसकेका कामहरुको सुरुवात गर्ने । सडकको शिल्यान्यास, भवनको शिलान्यास, बनेका तर पुरा नभएका संरचनाको उद्घाटन र प्रयोग तथा आफ्नो कार्यकालमा भएका साना कामको ठुलो प्रचारबाजी उदाहरण मात्रै हुन् । जनताको सेवक भनिएका जनप्रतिनिधिले लामो समय आफु र आफ्नाहरुको बाटो सोझाउनमा खर्चिए । अपबादबाहेक देशभरका स्थानीय तहमा यो प्रबृत्ति राम्रै मौलायो । पहिलो बर्ष नै सुरुवात गर्न सकिने कामसमेत अन्तिम वर्षमा आएर सुरुवात भएका छन् । यो मतदातालाई प्रभावित गर्ने, आँफुले गर्नसक्ने भएर पनि नगरेका कामहरुको ढाकछोप गर्ने र निर्वाचनका लागि आफ्नो पक्षमा माहोल सिर्जना गर्ने काम मात्रै हो । दलहरु जिम्मेबार नबन्ने, दलबाटै चुनिएका प्रतिनिधि जिम्मेबार नबन्दा निश्चित समयको सस्तो लोकप्रियता निर्वाचनका लागि आवश्यक हुन्छ । सर्वसाधारण मतदाताले सिमित स्वार्थका लागि प्रभावित हुने गरेका कारणले पनि होहल्लाका पक्षमा माहोल बन्ने गरेको छ ।

जनता सार्वभौम छन् । सिमित समयका लागि मात्रै अझै भनौ मतदानको समयका लागि मात्रै जनतालाई प्रयोग गर्ने मनोबृत्ति दलहरुमा मौलाएको देखिन्छ । निर्वाचन घोषणा भैसकेपछि दिन दुईगुणा र रात चौगुणाका दरले भैरहेका विकासका पूर्वाधारको शिलान्यास र उद्घाटनका कार्यक्रमममा तत्काल रोक लगाउँ । काम नहुन भन्ने होईन निर्वाचन प्रभावित गर्नका लागि मात्रै भैरहेका कामहरुको विषयमा सर्वसाधारण र सरोकारवालाले चासो राख्न आवश्यक छ । निश्चित सयमका लागि मतदाता प्रभावित गरेर स्वार्थसिद्ध गर्ने र स्वार्थसिद्ध भएपछि आफ्ना बाचासमेत भुलेर राज्यको ढिकुटी दोहनमा लाग्ने परिपाटीबाट माथि उठेर जिम्मेबार बनौं । सधैं सफा नियत र जनपक्षीय काम गर्नेले कहिलै हार्दैन चेतना भया ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->