फागुनको अन्तिम सातादेखि बागलुङमा १३ औं पटक हात्तिपाईले रोग बिरुद्धको आम औषधि सेवन अभियान सुरु हुँदै छ । देशभरका दश जिल्लामा सञ्चालन हुने यो अभियानमा गण्डकी प्रदेशका तीन जिल्ला बागलुङ, पर्वत र लमजुङमा सञ्चालन गर्न थालिएको हो ।
छ पटकसम्म आम औषधि सेवन गरेपछि हात्तिपाईले निवारण हुने स्वास्थ्य मन्त्रालयको मापदण्ड छ । तर यी जिल्लाहरुमा ६ पटकभन्दा धेरै पटक आम औषधि सेवन अभियान सञ्चालन भैसकेका छन् । आम औषधि सेवन गरिसकेपछि गरिने जाँचमा २ प्रतिशतभन्दा धेरैमा रोगको संक्रमण देखिएमा अर्को पटक आम औषधि सेवन गर्नुपर्ने मापदण्ड छ । सोही मापदण्डका आधारमा बागलुङमा १३ औं पटक औषधि सेवन कार्यक्रम सञ्चालन हुँदैछ । यसको अर्थ बागलुङमा पटक पटक अभियान सञ्चालन हुँदासमेत नागरिकको पहुँचमा औषधिको पहुँच पुगेन् वा नागरिकले औषधि खाँदासमेत यो निवारण भएन । दुवै आशंकाहरु कायम छन् । स्वास्थ्य कार्यालय बागलुङको तथ्यांकमा हेर्ने हो भने आम औषधि सेवनमा सहभागि भएकाहरुमा संक्रमण पुष्टि भएको छ । यो औषधि खाँदा किन निवारण भएन हात्तिपाईले यो खोजीको विषय हो ।
पहिला केही वर्षहरुमा स्वास्थ्य स्वयंसेविकामार्फत औषधि घर घरमा पु¥याएको सरकारले पछिल्ला वर्षहरुमा स्वास्थ्यकर्मीकै सहभागितामा औषधि खुवाउन थालेको छ । हातमा दिएको औषधि सर्वसाधारणले निलेनन् ? औषधिले खाएर पनि काम गरेन् ? अथवा स्वास्थ्यकर्मीले तयार गरेको तथ्यांक नै गलत थियो ? खोजीको विषय हो । तथ्यांकलाई केलाउने हो भने पहिलो वर्षदेखिनै ७० प्रतिशतभन्दा धेरै सर्वसाधारण आम औषधि सेवन अभियानमा सहभागि छन् । पछिल्ला तीन वर्षको तथ्यांक ८० प्रतिशतभन्दा माथि छ । यस्तो अवस्थामा समेत किन जाँच भएकाहरुमध्ये २ प्रतिशत बढीमा संक्रमण देखिईरहेको छ ? जिल्लाको दुई स्थानमा भएको जाँचमा एक ठाउँमा २ प्रतिशतभन्दा कम र एक ठाउँमा बढी संक्रमण भएको पाईयो । तर भौगोलिक हिसाबले अन्य जिल्लासँग आवतजावत भएका ठाउँहरुमा यो अभियान सञ्चालन हुँदैछ । जाँच गरिएको क्षेत्रमा मात्रै होईन नमुनाको रुपमा कुनै एक ठाउँमा गरेको जाँचमा नतिजा खराब आएमा जिल्लाभर औषधि सेवन अभियान चलाउनुपर्ने मापदण्ड छ । अहिले संक्रमण देखिएको बागलुङ नगरपालिका–१४ को नारायणस्थान र जैमिनी नगरपालिकाको कुश्मीशेरा हो । तर औषधि सेवन कार्यक्रममा बुर्तिबाङ, तमान र निसीका नागरिकले पनि सहभागि हुनैपर्छ । यसको व्यवहारिकता जाँच हुनुपर्छ ।
हामीले पटक पटक औषधि सेवन गरिसकेका छौं । देशभरका ६७ जिल्लामा आम औषधि सेवन कार्यक्रमबाट नै हात्तिपाईले निवारण भएको छ । बाँकी दश जिल्लामा पनि यसको निवारण गर्नै पर्नेछ । यो अभियान सञ्चालनका बेला फैलिने अफवाह, नागरिकमा परेको गलत असर र औषधि सेवन कार्यक्रम सञ्चालनका दौरानमा भएका कमीकमजोरीको विषयमा राज्यले सोच्नु पर्छ । एउटा भुगोलमा समस्या हुँदा अर्को भुगोलले जिल्ला एउटै भएका नाताले अनिवार्य औषधि सेवन गर्नुपर्ने मापदण्डमा पुर्नविचार आवश्यक छ । यो अभियान पटक पटक सञ्चालन भैहँदासमेत निवारण नभएको हात्तिपाईलेले एकातर्फ हामीलाई झस्काईरहेको छभने अर्कोतर्फ खर्च हरेक वर्ष बढेको छ । राज्यका निकायले इमान्दार भएर काम गर्ने, नागरिक इमान्दार भएर अभियानमा सहभागि हुने र हात्तिपाईको निवारणको बिन्दुमा पुग्ने प्रण गरौं ।
