बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

वैकल्पिक शक्ति बन्न आपबाट सिक

वैकल्पिक शक्ति बन्न आपबाट सिक


  • Dhorpatan News
  • फाल्गुन २९ २०७८, आइतबार

भारतको क्षेत्रीय दल आम आदमी पार्टीले पञ्जाजमा प्रचण्ड बहुमत प्राप्त गरेको छ । पञ्जाव विधानसभा चुनावमा ठूला दलहरु कांग्रेस आइ र भारतीय जनता पार्टी तथा शक्तिशाली मानिएको अकाली दललाई पाखा लगाउँदै आम आदमी पार्टी ( आप ) सत्तामा पुगेको हो । आपले ११७ सिट रहेको विधानसभाको ९२ सिटमा विजय प्राप्त ग¥यो । भारतको इतिहासमा नै २ वटा राज्यमा सरकार बनाउने आप पहिलो पार्टी बनेको छ भने उसले मुख्यमन्त्रीको रुपमा अगाडि सारेका भगवंत मानको चर्चा चुलिएको छ । दिल्लीको मुख्यमन्त्रीसमेत रहेका अरविन्द केजरीवालले २०२२ को विधानसभा चुनावमा ६ वटा प्रान्तमा उम्मेदवारी दिने बताइरहँदा ठूला दलहरुले सायदै पञ्जावमा आपको सरकार बन्छ भन्ने सोचेका थिए । तर, सबै अनुमानहरुलाई गलत सावित गर्दै आपले क्षेत्रीयबाट राष्ट्रिय पार्टी बन्ने दिशामा अगाडि बढेको छ । शिक्षा,स्वास्थ्य र रोजगारको नारालाई अगाडि सा¥यो । ३ सय युनिट बिजुली निःशुल्क तथा १८ वर्षभन्दा माथिका महिलालाई मासिक एक हजार रुपैयाँ ‘भत्ता’ दिने घोषणासमेत ग¥यो । ती घोषणाहरुलाई जनताले अनुमोदन गरिदिए । परिवर्तनको एजेण्डा स्थापित भयो । आप अब दिल्लीबाट पञ्जाव पुगेको छ । आपले गरेका वाचाहरु कति पूरा होलान् ? यो प्रश्नको उत्तर खोज्न पर्खनै पर्छ तर दिल्लीमा आपले जे गरेको छ,त्यसबाट आशा गर्ने ठाउँ भने दिएको छ ।

भ्रष्टाचार विरोधी आन्दोलनबाट आप उदाएको हो । सामाजिक अभियन्ता अन्ना हजारेको दायाँ हात बनेर आपका वर्तमान संयोजक अरविन्द केजरीवालले परिवर्तनको एजेण्डा सत्ताबाटै सम्भव हुने देखे र आपको गठन गरे । आपले परिवर्तनको नारा दियो । आपले जनताका मुद्दाहरु बोक्यो । कुचो चुनाव चिन्ह लिएर सडकमा उत्रेको उसले भ्रष्टाचारलाई बढार्ने प्रतिवद्धता जनायो । यी यावत् कारणले भारतको राजधानी दिल्लीमा आप बलियोमात्रै बनेन,सत्ता हाँक्ने अवस्थामा पुग्यो । आपले दिल्लीका जनतालाई परिवर्तन महशुस गराएको छ । हिजोका सरकारले गर्न नसकेका सामाजिक सुधारहरु आपबाट सम्भव भएका छन् । समग्रमा आपले असल कर्मले मात्र जनअनुमोदित हुन सकिन्छ भन्ने सन्देश प्रवाह गरेको छ । यो सन्देश नेपालसम्म पनि आइपुगेको छ ।

दिल्लीमा आपको उदयसँगै नेपालमा पनि वैकल्पिक शक्ति निर्माणको लहर चल्यो । वैकल्पिक शक्तिको नाममा थुप्रै पार्टीहरु अस्तित्वमा आए । सुरुवाती चरणमा ती पार्टीका गतिविधिहरुले ठूला पार्टीलाई धक्का दिन र आम जनताको मन जित्ने सम्भावना बढायो । तर, कालान्तरमा ती पार्टीहरु आन्तरिक कलहमा फसे । जनताका मुद्दाहरु बोक्न आनाकानी गरियो । अहिले ती दलहरु अस्तित्व जोगाउन संघर्षरत छन् । जनतालाई विकल्प खोज्ने अवसर प्रदान गर्ने आशा गरिएका दलहरुले उल्टो जनता र कार्यकर्तालाई निराश बनाएका छन् । जसले गर्दा नेपालमा वैकल्पिक शक्तिको तत्काल उदयको सम्भावना पर धकेलिएको छ । अपितु, भारतमा आपले पाएको सफलताले उनीहरुलाई सिक्ने र सुध्रने अवसर भने प्रदान गरेको छ । जनताको मुद्दा बोक्ने हो र जनतासँगै घुलमिल हुने हो भने सत्ता टाढा छैन भन्ने सन्देश दिएको छ । नेपालका वैकल्पिक भनिएका दलहरुले आपबाट अझ धेरै सिक्नुपर्ने भएको छ । यसो भनिरहँदा,मूलधारका दलहरुले झन बढी सिक्नु जरुरी देखिएको छ । गतिलो एजेण्डासहित कुनै शक्तिको उदय नभइञ्जेल पुराना दलको राज चल्ना । अन्यथा,परिणाम जगजाहेर नै छ !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->