आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

‘कोमल हुन्छ बन्दुक बोक्ने हृदय पनि …!’

‘कोमल हुन्छ बन्दुक बोक्ने हृदय पनि …!’


  • विकास रोकामगर
  • फाल्गुन २९ २०७८, आइतबार

पोखरा/पोखरा तालतलैया, हरियाली वा उज्याला हिमशृंखला देखिने सहरमात्रै होइन । यो लाहुरेको सहर पनि हो । सहरको बीच भागमा उभिएर पत्थर फाँक्यो भने कुनै न कुनै लाहुरेको घरमा ठोक्किन्छ । तर, त्यो पत्थर अमृत क्षेत्रीको ढोकामा पुग्छ । पत्थर पग्लिँदै सोध्नेछ, के छ हालखबर ? सञ्चै ?
किनकी त्यो पत्थर एउटा ‘लाहुरे’को घरमा मात्रै ठोक्किन पुगेको हुँदैन । त्यो ठोक्किएको हुनेछ, एउटा कविसँग । कवि अमृत अर्थात् शालिनता र नरमपनाले भरिएको कवि ।
०००
माथिका वाक्यांश साहित्यकार दीपक समीपले कवि अमृत क्षेत्रीका लागि खर्चेका शब्द हुन् । समीपले चिनेजस्तै कवि अमृत क्षेत्रीको पहिलो परिचय नै शालिनता हो । कम बोल्छन्, नरम बोल्छन् । आफू बाँचिरहेको जीवन शैलीझैं शान्त र शालिन छन्, उनका कविताहरु पनि ।
लामो समय भारतीय सैनिकमा सलामी ठोकेपछि जागिरे जीवन टुंग्याउँदै स्वदेश फर्किएका छन् । यही फुर्सदको मौकामा नियालिरहेका छन्, कवि अमृत आफूलाई । दोहोरिरहने बन्दुक र कलमबीचको ‘सम्बन्ध’बारे प्रश्नको उत्तर खोजिरहेका छन् ।
तर, कवि अमृतलाई लाग्छ, ‘बन्दुक एक सत्ता हो भने कविता स्थायी प्रतिपक्ष । तर, दुवै आआफ्नै नियममा हिँडिरहेका छन् । अर्थात्, आआफ्नै अस्तित्वको खोजमा छन् ।’
०००
साहित्यमा रुचि भए पनि भारतीय सेनामा भर्ती भएका कवि अमृतले त्यहाँ यतिबेला कवि अमृत १६ वर्ष एक महिना ६ दिन सेवा गरे । ‘चेन अफ कमान्ड’मा हिँड्नु पर्ने सैनिकीय जीवनमा अध्ययन र साहित्य सिर्जनाका लागि समय नमिल्नुपर्ने हो । तर, त्यसमा पनि उनी आफूलाई भाग्यमानी दर्जामा राख्छन् ।
अरु लाहुरेजस्तो पल्टनमा उनले सलामी ठोक्दै बन्दुक बोकेर हिँड्नु परेन, बरु अध्ययनका लागि प्रशस्त समय पाए । ‘भारतीय सेनाको आइटी सेक्टरमा परें । त्यहाँ अरुलेजस्तो बन्दुक बोक्नु परेन । कम्प्युटर अघि बस्नुपथ्र्यो,’ सुनिन्छन्, ‘त्यसबेलाको फुर्सदको समय अध्ययन र सिर्जनाका लागि राम्रो अवसर बन्यो ।’
आइटी सेक्टरबाहेक अन्य क्षेत्रमा परेको भए यतिबेला आफू कवि हुन्थे वा हुँदैन थिए, उत्तर उनीसँग छैन । त्यसैले पनि सैन्य पेशालाई बाहिरबाट हेरिएजस्तो ‘क्रुर पेशा’ देख्दैनन् । ‘सैन्य पेशालाई बाहिरबाट क्रुर देखिन्छ भन्छन् । तर, त्यति हुँदैन । त्यो कोमल पनि हुन्छ,’ भन्छन्, ‘कोमल हुन्छ बन्दुक बोक्नेको हृदय पनि ।’
सैन्य पेशामा भए पनि आफूभित्र कोमल हृदय भएकै कारण काव्यिक मोहमा डुबेको कवि अमृत सुनाउँछन् । ‘सायद आफूभित्रको कोमल हृदयलाई महसुस नगर्दो हुँ त यहाँसम्म आइपुग्ने थिएन । त्यसैले मेरा कविताहरु पनि छोटा हुन्छन्, कोमल प्रकृतिका हुन्छन्,’ उनी भन्छन्, ‘विद्रोह गर्न चर्को नारा लगाउनुपर्छ भन्ने हुँदैन ।’

आफूले सिर्जना गरेका धेरै कविताहरु कवि अमृतले आइटी सर्भर रुममै फुराए । कति यादमा छन्, कति कापीका पानामा छन्, कति सामाजिक सञ्जालको भित्तामा । आफ्ना सिर्जना प्रायः सामाजिक सञ्जाल टाँस्थे ।
त्यहीबेला अर्का एकजना सर्जकले सामाजिक सञ्जालमा नराख्न र कृतिकै रुप दिन सुझाए । ‘त्यतिबेला पो म झसंग भएँ । अहो ! मेरो पनि किताब ? भन्ने भयो,’ उनी भन्छन्, ‘कवितामा म समाज लेख्न मन पराउँछु । आफूले भोगेका अनुभव, चित्त नबुझेको कुरा उतार्न मन पराउँछु । तर, कृतिकै रुपमा अघि लैजानेबारे सोचेको पनि थिइनँ ।’
आफ्ना सिर्जनालाई कृतिकै रुपमा लैजाने नै सोचिसकेपछि त्यसमा सहयोग गरे, कवि चन्द्रवीर तुम्बापो, कृष्ण बोहोरा यात्रीलगायतले । त्यसपछि जन्मियो, एकान्त भिड ।
शनिबार पोखरामा कवि अमृतका तिनै कविताहरुको संग्रह विमोचन भएको हो । साहित्यकार सरुभक्त, तीर्थ श्रेष्ठ, सरस्वती श्रेष्ठ ‘सरु’, दीपक समीप, सञ्जीप पौडेल लगायतले कवि अमृत क्षेत्रीको नवीनतम् कविता संग्रह विमोचन गरेका हुन् ।
कृति विमोचनपछि साहित्यकार सरुभक्तले नेपाली साहित्याकासमा एक शालिन कविको सशक्त कविता पर्दार्पण भएको सुनाए । ‘कवितालाई सीमामा बाँध्ने हुँदैन । यो स्वतन्त्र हुने भएकाले पनि कवि शाश्वत र सर्वभौम छ,’ उनले भने, ‘कविका कविताले नयाँ जीवनजस्तै विरोधाभाष दर्शनको खोजमा छ ।’
साहित्यकार तीर्थ श्रेष्ठले कवि अमृतको कवितामा कुनै छलछाम र अहम् नभएको सुनाए । ‘कविता हल्लाखल्ला गरेर पनि लेख्न सकिन्छ, आक्रोश पनि पोख्न सकिन्छ, तर, आक्रोशलाई पनि अत्यन्त सरल रुपमा प्रस्तुत गर्न सक्ने कवि हुन्, अमृत,’ उनले भने ।
क्वि चन्द्रवीर तुम्बापो, सरस्वती श्रेष्ठ ‘सरु’, सञ्जीव पौडेल लगायतले कवि अमृतको कृतिले कवितामा नयाँ बाटोको खोजी गरेको सुनाए । कविका कवितामा शब्दमात्रै नभएर समाजका विसंगतीप्रति प्रश्न उठाउँदै संगती समाजको खोज रहेको सुनाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->