बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

सोधानान्तर घाटा घटाऊ

सोधानान्तर घाटा घटाऊ


  • Dhorpatan News
  • चैत्र ६ २०७८, आइतबार

डरलाग्दो आर्थिक संकटमा फसेको श्रीलंकाले प्रश्नपत्र छाप्ने कागजको अभावमा परीक्षा नै स्थगित गरेको छ । सोमबारबाट सुरु हुने भनिएको परीक्षा स्थगनबाट करिब ४५ लाख विद्यार्थी प्रभावित बनेका छन् । कागज किन्न आवश्यक पर्ने अन्तर्राष्ट्रिय मुद्रा अर्थात् डलरको अभावमा यो अवस्था आएको शिक्षा मन्त्रालयका अधिकारीहरुले स्वीकारेका छन् । सन् १९४८ पछिको गम्भीर आर्थिक संकटले श्रीलंकामा खाद्यान्न तथा अन्य आवश्यक सामग्रीको अभाव सिर्जना भएको छ । विभिन्न दातृ निकायहरुबाट प्राप्त सहयोग अपर्याप्त देखिएको छ । देशको अर्थतन्त्र नै तहसनहस हुने अवस्थामा पुगेको छ ।

मित्रराष्ट्र श्रीलंकाले भोगेको आर्थिक संकटबाट नेपालले सिक्नुपर्ने देखिएको छ । पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य आकासिएको छ । सरकारी स्वामित्वको नेपाल आयल निगमले लामो समयसम्म घाटाको व्यापार गर्न असमर्थ हुने निश्चित छ । बढ्दो इन्धनको खपत घटाउने उपायको खोजी हुन सकेको छैन भने डलरको संचिति पनि घट्दो अवस्थामा छ । बजारमा तलरता अभाव र करिब ७ महिनालाई मात्र धान्ने डलरको संचितिका कारण नेपाल जुनसुकै बेला श्रीलंकाको नियति भोग्न अभिषप्त हुने सम्भावना बढ्दो छ । भला, अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र बिस्तारै लयमा आउँदै गरेको किन नबताउन् !

सबैलाई थाहा छ, नेपालको वैदेशिक व्यापार घाटाको सबैभन्दा ठूलो हिस्साको कारक इन्धन नै हो । यसका अलावा अत्यावश्यक मानिएका इलेक्ट्रोनिक सामान,औषधि र नेपालमै उत्पादनको सम्भावना भएका खाद्यान्न, फलफूल र मासुमा पनि नेपालले ठूलो रकम खर्चदै आएको छ । वैदेशिक व्यापारलाई सन्तुलनमा राख्न सकिएन भने, आयात प्रतिस्थापनतर्फ ध्यान दिइएन भने आउँदा दिनहरु नेपालका लागि सुखद नहुने अर्थविदहरुले चेतावनी दिँदै आएका छन् । अपितु,सरकारले भने त्यसतर्फ गम्भीरतापूर्वक सोचेको छैन । बजारमा भएको तरलता अभावलाई अर्थमन्त्रीले पैसा लुकाइएको रुपमा व्याख्या गरेका छन् । कसैले सिरानीमा पैसा लुकाएको हुनसक्ने भन्दै त्यो पैसा खोज्ने उनको उद्घोष छ । अनौपचारिक अर्थतन्त्रको बिस्तारका कारण सिरानीमा पैसा लुकाउने प्रवृत्ति बढेको सत्य होला तर योमात्रै तरलता अभावको कारण हैन । वैदशिक व्यापारको असन्तुलन र उत्पादनशील क्षेत्रमा आएको सुस्तता तरलताका कारणहरु हुन् भन्ने सरकारले बुझ्नैपर्छ । बढ्दो व्यापार घाटा कम गर्न सकिएन भने यसले अर्थतन्त्रमा थप दवावमात्रै सिर्जना गर्दैन,पैसा लुकाउने र अनौपचारिक च्यानलमार्फत् पूँजी बाहिरिने खतरा उत्तिकै बढ्छ । राष्ट्रिय ढुकुटीमा डलरको संचिति घट्दा देश टाट पल्टिने अवस्थामा पुग्न बेर लाग्दैन । नेपालको अर्थतन्त्र भीरतिर अगाडि बढेको छ तर खसिसकेको छैन । अतः अर्थतन्त्रमा देखिएको संकट निवारणको लागि बेलैमा सोधानान्तर घाटा कम गर्नेतर्फ प्रभावकारी कदम चाल्नुपर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->