बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

भिडतन्त्र नियन्त्रण गर

भिडतन्त्र नियन्त्रण गर


  • Dhorpatan News
  • चैत्र ८ २०७८, मंगलबार

मोरङको लेटाङ खेरुवामा एक प्रहरी जवानको निर्मम हत्या गरिएको छ । छात्रामाथि यौन दुव्र्यवहारको आरोप लागेका शिक्षक पक्राउ गर्न गएको प्रहरी टोलीमा रहेकी प्रहरी जवान उर्मिला श्रेष्ठको आपराधिक मनोवृत्तिको भीडले हत्या गरेको हो । स्थानीय शिक्षा विकास माविमा पढाउने आरोपित शिक्षकलाई दण्डको लागि पक्राउ गर्न आएको प्रहरीलाई सघाएन ।उल्टै प्रहरीमाथि आक्रमण भयो । उत्तेजित भीडमा रहेका आपराधिक मनोवृत्तिका व्यक्तिहरु निर्मलामाथि खनिए र अन्ततः आक्रमणबाट उनको ज्यान गयो । प्रहरीमाथि भीडले आक्रमण गरेको यो पहिलो घटना हैन तर मोरङमा भएको यो घटना अरुभन्दा भिन्न छ । प्रहरीको काम शान्ति सुरक्षा प्रदान गर्ने प्रहरीको दायित्व हो । अपराधीलाई पक्राउ गर्नु, अनुसन्धानपछि कानूनी कारवाही चलाउनु उसको कर्तव्य हो । लेटाङको खेरुवामा प्रहरी त्यही उद्देश्यले परिचालित थियो । अपराधी नै किन नहोस् ? उसलाई दण्डित गर्ने निकाय हुन्छ । त्यो निकाय भनेको प्रहरी नै हो । भीडले कसैलाई अपराधी करार गर्ने र दण्ड दिने कानूनी आधार हुँदैन ।त्यहाँ जम्मा भएको भीडले प्रहरीलाई सघाउनुपथ्र्यो । अनुसन्धान प्रक्रिया पूरा गर्न दिनुपथ्र्यो तर त्यसो गरिएन । भीडबाट कानून हातमा लिन जसरी हिंसाको प्रयोग गरियो,त्यो अपराध नै हो । घटनामा संलग्न अपराधीलाई कानून अनुसार कारबाही गरिनुपर्छ ।

पछिल्लो सयम देशमा भीडतन्त्र मौलाउँदै गएको छ । प्रशानसको भरोसा नगर्ने,सामान्य विषयमा पनि भीड जम्मा गर्ने र सके कानून नै हातमा लिने प्रवृत्ति बढेर गएको छ । यो प्रवृत्ति भनेको अराजकता नै हो । कहिले अमूक राजनीतिक पार्टीको नाममा त कहिले कुनै शक्तिको नाममा जम्मा हुने भीडले अराजकता निम्त्याएको छ । दण्डहीनतालाई प्रश्रय दिएको छ । यस्ता प्रवृत्तिहरु कानूनी राज्यको अवधारणासँग मेल खाँदैनन् । राज्य संयन्त्र कहिँकतै चुक्यो होला तर त्यसलाई विश्वास नगर्ने प्रवृत्तिले अराजकता सिवाय केही निम्त्याउँदैन । भीडको दवावबिना न्याय पाइँदैन भन्ने मानक तयार गरिनु र सोही अनुसारको कृत्य हुनुलाई किमार्थ राम्रो संकेत मान्न सकिँदैन । यसले हिंसालाई प्रश्रय दिन्छ, राज्यविहीनताको सिर्जना गराउँछ र अन्ततःराज्यको सुरक्षा संयन्त्रलाई पंगु बनाउँछ ।

देशमा भएको सशस्त्र युद्धदेखि मौलाएको यो प्रवृत्तिलाई अंकुश लगाउने मामिलामा अझै पनि राज्यले विशेष ध्यान पु¥याएको छैन । एकातिर प्रहरी प्रशासनमा भीड नियन्त्रणको लागि दक्ष जनशक्तिको अभाव छ भने अर्कोतर्फ भीडलाई उत्तेजित बनाउन खोज्ने प्रवृत्ति पहिल्याउन पनि ऊ चुक्दै आएको छ । यस्तो अलमलमा प्रहरीबाट पनि अनावश्यक शक्तिको प्रयोग भएका दुृष्टान्तहरु पनि छन् । तर, बुझ्नुपर्ने के हो भने, भीडतन्त्र आफैमा अवैधानिक कृत्य हो । यस्तो कृत्यको नियन्त्रण हुनैपर्छ । मोरङ दुखान्त घटनामा ज्यान गुमाउने प्रहरी जवानको आत्माले शान्ति पाओस् र यही घटनाबाट पाठ सिक्दै प्रहरीले भीडतन्त्र नियन्त्रणको लागि प्रभावकारी कदम चालोस् । घटनामा संलग्न भएको आरोपमा ५ जना पक्राउ परेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले घटनाका दोषीलाई कडा कारबाही गर्ने जनाएका छन् । घटनामा संलग्नहरुले कुनै पनि बहानामा उन्मुक्ति पाउनु हुँदैन । संगठनका सदस्यमाथि नै आक्रमण भएकाले प्रहरीले पनि उत्तिकै सक्रियता देखाउला तर अनुसन्धानको क्रममा उसले संयम भने गुमाउनु हुँदैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->