९३ प्रतिशत भौतिक निर्माण सम्पन्न भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपालको पोल्टामा आएको छ । विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणको क्रममा चिनियाँ पक्षले विमानस्थल हस्तान्तरण गरेको हो । चिनियाँ ऋण सहयोगमा निर्मित विमानस्थल आउँदो असारसम्म नेपाललाई बुझाउनुपर्ने थियो । चीनले छिटो गरेको छ र विदेशमन्त्रीबाटै हस्तान्तरण गरेर उसले जिम्मेवारी पूरा गरेको सन्देश प्रवाह गरेको छ । नेपालले निर्माण कम्पनी चाइना सिएएमसीलाई धन्यवाद ज्ञापन गरेको छ । यी औपचारिक प्रक्रिया पूरा भए पनि निर्माण कार्य निरन्तर जारी रहने आयोजना निर्माण पक्षले जानकारी दिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय गौरवको परियोजना हो । २२ अर्बको लागतमा निर्मित विमानस्थल नेपाललाई हस्तान्तरण भएसँगै संचालनप्रति आम चासो बढेको छ । ठूलो ऋण सहयोगमा निर्मित विमानस्थल समयमै पूर्ण संचालनमा आउन सकेन भने त्यसले लाभभन्दा विलाप निम्त्याउने विज्ञहरुको चिन्ता छ । प्राविधिक जटिलताहरु ज्यूँकात्यूँ रहेकाले विज्ञहरुको चिन्तालाई बल पुगेको छ । रिठेपानी डाँडा कटानसँगै पोखरा १४ मा रहेको ल्याण्डफिल साइट स्थान्तरण नभएसम्म यहाँबाट उडान सम्भव छैन । अर्कोतर्फ,यहाँबाट कहाँ उडान भर्ने भन्ने अन्यौल कायमै छ । यो अन्यौलतालाई बेलैमा सम्वोधन गरिनुपर्छ । निर्माणको जिम्मा पाएको कम्पनीले आफ्नो काम फत्ते गर्दा पनि नेपाली पक्षको तयारी फितलो हुनुलाई कुनै पनि कोणबाट राम्रो मान्न सकिँदैन । ठूला परियोजनाहरु गेम चेञ्जर बन्नुपर्छ, आर्थिक समृद्धि ल्याउने हुनुपर्छ । यसका लागि बेलैमा सोच्नुपर्छ ।ढिला भएको छ । अन्तर्राष्ट्रिय उडान गन्तव्य तथा सस्तो र सोझो हवाइ मार्ग प्राप्त भएको छैन । भारतीय पक्षसँग सजिलो हवाइ मार्गको लागि गरिएको अनुरोधले सार्थकता पाएको छैन । पर्यटन मन्त्रालय तथा नागरिक उड्डयन प्राधिकरणले यी र यावत् विषयलाई गम्भीरतापूर्वक लिनुपर्छ ।
चिनियाँ पक्षसँग निर्माण सम्झौता भएको हो । उसले समयमै काम सकेको छ । निर्माण कार्यको गुणस्तर नाप्ने जिम्मा प्राधिकरण हो । गुणस्तरमा सम्झौता भएको छैन होला भन्ने आम अपेक्षा छ । विमानस्थल निर्माणपछिका दिनहरु सुखद थिएनन् । कोभिडका कारण निर्माण रोक्नुपर्ने र सामग्रीहरुको अभाव थियो । विषमतामा पनि चिनियाँ पक्षले निर्माण रोकेन । समयमै सम्पन्न गराउन आफ्नो सम्पूर्ण शक्ति लगायो र वचनको पक्का सावित ग¥यो । विमानस्थल निर्माणमा चिनियाँ निर्माण पक्षले देखाएको तदारुकताबाट शिलान्यास गर्ने तर त्यसको प्रगति कस्तो छ भन्ने नसोच्ने राजनेताहरुले सिक्नुपर्छ । तोकिएकै समयमा निर्माण सम्पन्न गर्न के आवश्यक पर्दो रहेछ भन्ने शिक्षा लिनुपर्छ ।
