बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पर्वतका एक लाख २२ हजार मतदाताबीच १९ दल भिड्दै

पर्वतका एक लाख २२ हजार मतदाताबीच १९ दल भिड्दै


  • ढोरपाटन संवाददाता
  • चैत्र १४ २०७८, सोमबार

पर्वत\आउँदो वैशाख ३० मा हुन लागेको स्थानीय तहको निर्वाचनले चुनावी सरगर्मी दिनप्रतिदिन बढ्दै गइरहेको छ । राजनीतिक दलहरू प्रचारप्रसार, सङ्गठन विस्तार, फरक पार्टीका कार्यकर्तालाई पार्टी प्रवेश गराउन तँछाडमछाडको अवस्थामा छन् ।
अघिल्लो स्थानीय तहको निर्वाचनको बेलामा गाउँ गाउँ पसेका नेता तथा कार्यकर्ताहरू उसै गरी झन्डा फहराउँदै टोल टोलमा देखिन थालेका छन् । चुनावी सरगर्मीको यही माहौलमा सात ओटा स्थानीय तहहरू रहेको पर्वतमा कुल १९ राजनीतिक दलहरूबिच प्रतिस्पर्धा हुने भएको छ ।
चुनाव चिह्नको लागि जिल्ला निर्वाचन कार्यालय आह्वान गरेको निवेदनमा छ ओटा प्रमुख ठुला राजनीतिक दलहरू बाहेक १४ ओटा साना राजनीतिक दलहरूले निवेदन दिएका छन् । जिल्ला निर्वाचन अधिकृत लक्षु शर्माका अनुसार राप्रपा नेपाल, मंगोल नेशनल अर्गनाइजेशन, राष्ट्रिय प्रजातन्त्र पार्टी, सामाजिक एकता पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) विवेकशील साझा पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाली काँग्रेस (वी.पी), मौलिक जरोकिलो पार्टी, नेपाल परिवार दल, नेपाल कम्युनिस्ट पार्टी (माले), नेपाल दलित पार्टी र उन्नत लोकतन्त्र पार्टी गरी १४ ओटा साना दलहरू सक्रिय रहेका छन् ।
साना १४ बाहेक राष्ट्रिय रूपमा सक्रिय रहेका नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टी त चुनावी मैदानमा छँदै छन् । राष्ट्रिय राजनीतिमा सक्रिय रहेको भए पनि लोकतान्त्रिक समाजवादी पार्टी भने पर्वतमा सक्रिय नरहेका कारण १९ ओटा दलहरू चुनावी मैदानमा होमिएका हुन् ।
राजनैतिक दलका रूपमा १९ प्रकारका उउम्मेद्वारहरु हुन सक्ने छन् भने स्वतन्त्र रूपमा चुनाव लड्न चहानेहरु भएमा प्रतिस्पर्धी उम्मेदवारको सङ्ख्या अझै बढ्ने छ । पर्वतको राजनीतिक अवस्थालाई हेर्दा एमाले, काँग्रेस र माओवादी बलिया शक्ति हुन् । साना दलहरू आफैले उम्मेदवार खडा नगरेको अवस्थामा ठुला राजनीतिक दलको आड लाग्नुपर्ने हुन्छ ।
पछिल्लो पटकको अद्यावधिक तथ्याङ्क अनुसार पर्वतमा कुल मतदाताको सङ्ख्या एक लाख २२ हजार जति ठहरिन आउने छ । हालको मतदाता नामावलीमा कुल एक लाख २३ हजार एक सय ८५ जनाको नाम रहेको छ भने यो नामावली दाबी विरोधको लागि पठाइएको छ ।
जिल्ला निर्वाचन कार्यालयले जिल्लाका वडा कार्यालयहरूबाट सङ्कलन गरेको विवरणमा यी मध्येका आठ सय ५० जनाको मृत्यु भएको छ । यस्तै कतिपय मतदाताले दुईतर्फबाट मतदाता नामावलीमा नाम दर्ता गराएका कारण अहिलेको विवरणमा दोहोरो नाम भएकाहरूको नाम पनि हटाएर एउटा मात्रै कायम गरिने छ । मृत्यु भएका तथा दोहोरो परेकाहरूको नाम हटाउँदा कम्तीमा पनि एक लाख २२ हजार हजार मतदाता कायम हुने जिल्ला निर्वाचन अधिकारी शर्माले बताए ।
पाँच वर्ष अगाडि भएको स्थानीय तहको निर्वाचनमा जिल्लामा करिब ९९ हजार मतदाता रहेकोमा यस पटक त्यो सङ्ख्या बढेर एक लाख २२ हजार पुगेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->