बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

योजना बनाउन सिक्दै महिलाहरु

योजना बनाउन सिक्दै महिलाहरु


  • ढोरपाटन संवाददाता
  • चैत्र १६ २०७८, बुधबार

बागलुङ/ बागलुङ नगरपालिका–१२ अमलाचौरकी खगेश्वरी परियारले नगरपालिकाबाट विनियोजन हुने योजनाको सम्झौतादेखि फरफारक सम्मका प्रक्रियाको बिषयमा पहिलोपटक जानकारी पाईन् । स्थानीय सहकारी, समुह र उपभोक्ता समितिमा बसेर काम गरेकी भएपनि उनलाई सबै प्रक्रियाको विषयमा जानकारी थिएन् ।

गाउँमा प्रक्रिया जानेको मान्छे खोजेर कागजी प्रक्रिया पुरा गरेर केही काम गरेकी परियार अब भने प्रस्वात बनाउनेदेखि योजना माग, सम्झौता र भुक्तानी तथा फरफारक सम्मका काम आँफैले गर्ने बताउँछिन् । काम सकेर नगरपालिका पटक पटक आउँदा पनि कागज नमिलेका कारण फर्किनुपरेको नमिठो अनुभव अब उनले गर्नुपर्ने छैन् ।

बागलुङ नगरपालिका–९ तित्याङकी उमा खड्का स्वास्थ्य स्वयंसेविका हुन् । गाउँमा हुने विकासका काममा खड्का पनि सहभागि हुने गरेकी छन् । कहिले उपभोक्ता समितिको पदाधिकारी हुने त कहिले सदस्य मात्रै भएर पनि काम गरिन् । तर खड्कालाई पनि काम कसरी हुन्छन् । आफुलाई लागेका काम गर्न योजना कसरी माग्ने भन्ने जानकारी थिएन् ।

बागलुङ नगरपालिकाको महिला बालबालिका तथा समाज कल्याण शाखाले यस पटक सबै वडाका अगुवा महिलालाई क्षमता अभिबृद्धि तालिम दियो । उपभोक्ता समिति तथा समुहमा पदाधिकारी रहेका महिलाका लागि आयोजना गरिएको तालिमबाट महिलाहरु उत्साहित छन् । ‘सधैं गरेको तर मेसो नपाएको बिषयमा छर्लङ्गै भयो, अब काम गर्न सजिलो हुन्छ’ खगेश्वरी परियारले भनिन् ‘अब त महिलाहरुको विकासका लागि योजना बनाएर माग्छौं, कसैलाई काम लगाईंदैन आँफै गर्न सकिन्छ ।’

नगरले १४ वडाका महिलालाई दुई दिन लगाएर तालिम दिएको हो । वडा नं. १ देखि ७ सम्म पहिलो दिन र ८ देखि १४ सम्म दोस्रो दिन तालिम सञ्चालन भएको शाखाका प्रमुख सरस्वती रेग्मीले बताइन् । तालिममा हरेक वडाबाट पाँच जनाका दरले महिला सहभागि थिए । ‘प्रतिनिधिमुलक हिसाबमा सहभागि महिलाहरुलाई गाउँमा पुगेर अरुलाई सिकाउनुस् भनेका छौं’ नगरप्रमुख जनकराज पौडेलले भने ‘यो सुरुवातले योजनाको कार्यान्वयनमा धेरै सहयोग गर्छ ।’ उनले प्रक्रिया बुझेर काम गर्दा धेरै दुःख नहुने र उपभोक्त पनि सन्तुष्ट हुने बताए ।

तालिममा संघ संस्थाको दर्ता तथा नविकरण, अत्यावश्यक कामका प्रक्रिया र आवश्यक कागजात तथा उपभोक्ता समितिको गठन, विनियोजित बजेटको कार्यान्वयन र भुक्तानी तथा फरफारकका बेला आवश्यक कागजातको बिषयमा प्रशिक्षण दिईएको थियो । बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुसोत्तम सापकोटा, योजना अधिकृत युक्तप्रसाद सुवेदी र शाखा प्रमुख सरस्वती रेग्मीले तालिमको सहजीकरण गरेका थिए । दुई दिनमा ७० जना महिलाहरु तालिममा सहभागि थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->