बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

ठेकेदार हराउँदा मजदुरहरुको बिचल्ली

ठेकेदार हराउँदा मजदुरहरुको बिचल्ली


  • ढोरपाटन संवाददाता
  • चैत्र १७ २०७८, बिहिबार

बागलुङ/ ठेकेदारले काम लगायो । लाखौं रुपैयाँ बाँकी हुँदासम्म उनीहरुले भुक्तानी पाएनन् । काम सकेपछि ठेकेदार बेपत्ता भए । गलकोट नगरपालिका वडा नं. १० पाण्डवखानीका स्थानीयले काम गरेर भुक्तानी नपाएका हुन् । पीडितले भुक्तानी नपाएपछि पटक पटक वडामा पहल गरिदिन माग गर्न थालेका छन् ।

भवन बनेको डेढ वर्षसम्म पनि रकम नपाएपछि मजदुरहरु मारमा परेका हुन् । भुक्तानी नपाउनेमा डकर्मी र सिकर्मी काम गरेकाहरु छन् । स्थानीय उमेश बिकले चार महिनासम्म काम गरेको रकम पाउन नसकेको गुनासो गरे । उनले काम गरेको कमाइबाटै परिवार पाल्नु पर्नेले लाखौं रकम नपाएर हैरानी खेपेको बताए । दैनिक काम गरेर परिवार पाल्नुपर्नेलाई ठेकेदारले ठगेको उनको गुनासो छ ।

काम गरिरहेको बेला रकम नदिंदा बिकले ऋण खोजेर छाकको जोहो गरेका थिए । ‘काम गरेको आउला भन्दै उधारोमा दाल चामल खाइयो, अहिले पैसा नपाएर बर्बाद भयौं’ अर्का मजदुर कुमारी श्रीषले भनिन्, ‘दैनिक कमाएर खानुपर्छ, तीनचार महिनाको खाडल पुर्नै सकिएन ।’ उनीहरुले ढुंगा बोक्ने, काठ, सिमेन्ट तथा गाह्रो लगाउने काम गरेका थिए ।

२०७३ सालको जेठ १२ गते निर्माण थालेपनि ठेकेदार कम्पनी रबिना कन्ट्रक्सनले काम अलपत्र पारेको थियो । स्थानीय र जनप्रतिनिधिको दबावले ठेकेदार रबिन जोशीले सहायक ठेकेदारको रुपमा बसन्त केसीलाई पठाएका थिए । बसन्तले स्थानीयलाई मजदुरको रुपमा काममा लगाएर भुक्तानी नदिएका हुन् ।

केसीले भने मुख्य ठेकेदारले रकम नदिएकोले मजदुरलाई वितरण गर्न नसकेको बताए । केसीले २०७६ को चैत र कोरोना नियन्त्रण भएपछि २०७७ को असार साउन महिनामा काममा लगाएर भवन बनाएका थिए ।
वडा अध्यक्ष तिलक घर्तीले पनि स्थानीय पीडित भएको बताए । ‘हामीले नै पहल गरेपछि ठेकेदारले केसीलाई पठाएर काम लगाएका थियौं, तर काम सकेर हिंडेका केसीले पनि केही पाएको छैन भन्दै उम्केका छन्’ घर्तीले भने, ‘हामीले निरन्तर पत्राचार गरिरहेपनि ठेकेदार कम्पनीले भवन समेत हस्तान्तरण गरेको छैन ।’ एकदुइ पटक प्रहरीमा समेत लगेर पैसा तिर्ने सहमति गरेपछि फेरी ठेकेदार सम्पर्कबिहिन भएको घर्तीले बताए ।

स्वास्थ्य मन्त्रालयको १ करोड ७७ लाख रुपैयाँमा पाण्डवखानी स्वास्थ्य चौकी निर्माण भएको थियो । गत भदौमा पनि वडा अध्यक्षले ठेकेदार जोशीलाई भेटेर रकम दिन दबाव दिएका थिए । प्रहरीमा समेत पुगेर लिखित गरेका जोशी पटक पटक सम्पर्कबाट भाग्ने गरेका हुन् । स्थानीयका अनुसार यहाँका ५५ जना मजदुरले १५ लाख ५० हजार रकम पाउन बाँँकी छ । त्यस्तै नजिकका पसल र होटलमा खाएको समेत हजारौं रकम बाँकी रहेको गुनासो बढेको छ ।

यसअघि बुंगादोभान स्वास्थ्यचौकी निर्माण गर्दा पनि ठेकेदारले रकम नदिएपछि स्थानीय पीडित भएका थिए । गाउँपालिका अध्यक्षको पहलमा ठेकेदारबाट रकम असुल गरेर बितरण भएको थियो । पाण्डवखानीका बासिन्दाले पनि पटक पटक वडा अध्यक्षको कार्यकक्षमा पुगेर रकम असुल गरिदिन माग गरिरहेका छन् । ‘धेरै जना आएर गुनासो गरिरहनुहुन्छ, खोजी भएको छ, तर रकम दिन सकिएन’ घर्तीले भने, ‘हामीले खोजी गरिरहेका छौं, तर उजुरी परेकोले प्रहरीले उनको खोजी गर्नुपर्छ ।’

लामो समयसम्म भवन नबन्दा स्वास्थ्य चौकी संचालनमा समेत समस्या थियो । भवन बनेपछि संचालनमा आए पनि रकम फरफारक गर्ने, भएको खर्च व्यवस्थापन गर्ने काममा ठेकेदार नआएको उनले बताए । ठेकेदार नआएकोले भवनको औपचारिक हस्तान्तरण समेत भएको छैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->