प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको क्रममा लामो समयदेखि रोकिएको जनकपुर जयनगर रेलसेवा संचालनमा आएको छ । सोलु करिडोर प्रसारण लाइन संचालनमा आएको छ भने सिमा बिबाद बारे चासो देखाइएको छ । देशका प्रधानमन्त्री स्तरीय भ्रमणमा भएका यी कामले दुइ देशबीचका सम्बन्ध केही सुधार हुने अपेक्षा गरिएको छ ।
त्यसो त भारत भ्रमण राजकीय नभइ मित्रबत मात्र भयो भन्ने टिप्पणीपनि भएको छ । दुइ देशबीच कुनै सन्धी सम्झौता नहुने भएकोले राजकीय भन्न नमिल्ने भन्ने टिप्पणी भएको हो । यद्यपी सिमा बिबाद र नेपालको भूमि बिषयमा कुनै छलफल भएको हो भने चाँही त्यो सकारात्मक हो । सिमा बिबाद बारे कत्तिको चासो दिएको हो त्यो सबै खुलेको छैन । तर भारतीय बिदेश सचिवको पत्रकार सम्मेलनमा पनि सिमा बिबादबारे संक्षिप्त कुरा भएको भने जनाएका छन् ।
शेरबहादुर देउवा अधिकांस राजनीतिक दलको आँखामा भारतकै परस्त हुन् । उनले भारतकै फाइदाकालागि काम गर्छन् । नेपालीको हितमा भन्दा व्यक्तिगत स्वार्थमा काम गर्छन् । इतिहासका कुनैपनि कालखण्डमा कांग्रेसी प्रधानमन्त्री भारत गएर देशका नदीनाला जमिन बेचेर आएको भन्ने आरोप छ । यद्यपी ती कुरा भाषणका मात्र हुन् वा दस्तावेज र वास्तविकतामा हुन् त्यो भने समीक्षाकै बिषय हो । तरपनि प्रधानमन्त्री तहमा देशको चिन्ता र चासो भएको हो भने यो कुरा सकारात्मक छ । प्रधानमन्त्री स्तरमा भएका कुरा अब जनताको बहसमा आउनु पर्छ । अनि मन्त्री, सचिव तथा राजदुत स्तरमा पुगेर समस्या समाधानका कार्यविधिहरु बन्नुपर्छ । सडकमा सिमा मिचियो भनेर कराइरहने, आन्दोलन हुने, तर भारतले दिनदिनै आफ्नो सिमा मिच्ने काम गरिरहने अबस्था अब हुनु हुँदैन । चुच्चे नक्सामा रहेका नेपालका जमिनपनि नेपालकै बन्नुपर्ने बिषय अब संस्थागत हुनुपर्छ ।
यस अघि कतिपय बिषयहरु छापा माध्यममा मात्रै आउने, सिमानामा बस्ने नेपालीले मात्रै सास्ती खेप्नुपर्ने, भारतीय सिमा सुरक्षा बलले नेपालीलाई सधै दुःख दिने, आफ्नै जमिनमा खेती लगाउन समेत नदिने, सुत्दा नेपालमा, बिहान उठ्दा भारतीय सिमाना भित्र हुनुपर्ने अबस्था अब अन्त्य हुनुपर्छ । यस्ता बिषय सडममा नारा लगाएर, आन्दोलन गरेर भन्दा राष्ट्रप्रमुख वा सरकार प्रमुखको तहमा कुरा भएरै अगाडि बढ्नुपर्छ । दुवै देशका प्रधानमन्त्री र राष्ट्रपतिलाई सिमा मिचिएको छ, केही बिबाद छ र सम्झौताहरुमा त्रुटी भए पुनराबलोकन गरेर जानु पर्छ भन्ने बुझाइ हुनुपर्छ । पटक पटक उठ्ने गरेका असमान सन्धीसम्झौताहरु भएपनि त्यसको कुटनीतिक पहल र समस्याको समाधान पनि खोजिनुपर्छ । दक्षिण एशियाका देशहरुमा शान्ति, अमनचयन र भातृत्वको भावना बिकास गर्न सकेमा पनि अन्तराष्ट्रिय मंचमा युद्ध बिरुद्धको सन्देश दिन सकिन्छ ।
नेपालका प्रधानमन्त्रीले गरेको भारत भ्रमणले संसारलाई शान्ति र सदभावको सन्देश दिनसक्ने अबस्था भयो भने हाल भैरहेका शितयुद्द देखि आणबिक हतियारको युद्दपनि रोकिन सक्छ । हाल लामो समयदेखि अन्यौलमा रहेको सार्क सम्मेलनलाई पनि अगाडि बढाउन यस्ता भ्रमण फलदायी बन्न सक्छन् । अरु धेरै कुरा फेर्न सकिएला, छिमेकी फेर्न सकिंदैन भन्ने मान्यतालाई आधार मानेर नेपालले पनि पछिल्लो समय दुइ देशबीच बनेका असमmदारीहरु सुल्झाउनुपर्छ । एमसिसिपछि चिढिएको चीनको असन्तुष्टीपनि के छन् सोधेर असंलग्नता, पञ्चशिलता जस्ता नेपालका पुराना मान्यतालाई छिमेकी सामु स्थापित गर्न फेरी सबैको समान पहल आवस्यक पर्छ ।
