बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

स्कुल खाजा बनाउन अभिभावकको पालो

स्कुल खाजा बनाउन अभिभावकको पालो


  • ढोरपाटन संवाददाता
  • चैत्र २३ २०७८, बुधबार

बागलुङ/ काठेखोला गाउँपालिका ७, रेशकी आशा गुरुङको दुई महिनापछि विद्यालयमा खाजा बनाउने पालो आयो । विद्यालयले खबर गरेपछि आशा आफ्ना सबै काम छोडेर विद्यालयमा खाजा बनाउन पुगिन् । विद्यालयको चेमना गृहमा दिनभर लगाएर खाजा बनाएपछि उनको काम ससाना बालबालिकालाई खाजाको भाग लगाइदिने हो ।

प्राथमिक तहका सबै विद्यार्थीले खाजा खाईसकेपछि भने उनलाई छुट्टी हुन्छ । रेश नुन्थला माध्यामिक विद्यालयमा उनका २ जना छोराछोरी पढ्छन् । आशा गुरुङमात्रै होइन, यो विद्यालयमा प्राथमिक तहमा अध्ययन गर्ने सबै विद्यार्थीका अभिभावकको पालो हरेक दुई महिनामा आउँछ । सरकारले उपलव्ध गराएको निशुल्क खाजा कार्यक्रमअन्तर्गत रेश नुन्थला माविले अभिभावकले नै खाजा बनाएर खुवाउने कार्यक्रम बनाएको हो ।

विद्यालयले अभिभावककै सल्लाहमा बनाएको नियमले अहिले सबैलाई सजिलो भएको छ । ‘खाजा खर्च दिएर घर पठाउनुभन्दा यहीं खाजा बनाएर खुवाउँदा केटाकेटी खुसी छन्, ताजा पनि हुन्छ,’ गुरुङले भनिन्, ‘दुई महिनामा एक पटक विद्यालय आउँदा यहाँको वातावरण पनि हामीलाई जानकारी हुन्छ, सरहरुलाई सल्लाह दिन पाइन्छ ।’

अक्सर सामुदायिक विद्यालयहरुप्रति अभिभावकमा रहेको चासो बढाउनकै लागि अनिवार्य खाजा बनाउने कार्यक्रम तयार गरिएको प्रधानाध्यापक ओमबहादुर थापाले बताए । ‘उहाँहरु यहाँ आउँदा सरसल्लाह हुन्छ, आफ्ना बालबालिकाको पढाइ र विद्यालयको बसाइँ विषयमा समेत जानकारी हुन्छ,’ थापाले भने, ‘धेरै विद्यार्थी छन्, अभिभावकलाई पालो लगाउँदा दुई महिनामा आउने पालो खास समस्याको विषय पनि होइन ।’

विद्यालयले सरकारले विद्यार्थीको खाजावापत दिने रकमबाट सामग्री खरिद गर्ने गरेको छ । विद्यालयकै चमेना गृहमा खाजा बनाउनका लागि सबै समग्रीहरु तयार पारिएको छ । कोदोको पिठो (हलुवा) सुजी, चना, अण्डा, रोटी लगायतका खाजा बनाएर अभिभावकले
विद्यार्थीलाई खुवाउँछन् । अभिभावकको पालो भने विद्यालयले लगाउने गरेको छ ।

विद्यालयमा प्राथमिक तहमा ७० जना विद्यार्थी छन् । एक विद्यार्थी बराबर एक जना अभिभावकले एक दिन खाजा पकाउनुपर्ने नियम बनाइएको छ । ‘विद्यालयका सूचना पु¥याउन होस् वा यहाँका शिक्षक कर्मचारीलाई जिम्मेवार बनाउन होस्, दिनदिनै अभिभावक उपस्थित हुँदा धेरै सहज हुन्छ,’ थापा भन्छन्, ‘सामुदायिक विद्यालयको पढाइ र शिक्षक कर्मचारीको षियमा अनावश्यक हुने टिकाटिप्पणी समेत कम हुन्छन् ।’ अभिभावकनै विद्यालयमा पुगेर खाजा खुवाउँदा विद्यार्थीले पनि आफ्नै घरको वातावरण महसुस गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->