बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

गभर्नरको निलम्बनले उब्जाएका प्रश्न

गभर्नरको निलम्बनले उब्जाएका प्रश्न


  • Dhorpatan News
  • चैत्र २७ २०७८, आइतबार

नेपाल राष्ट्र बैंकका अधिकारीहरुले भन्दै आएका थिए्,‘अर्थतन्त्र इनारको डिलमा पुगेको पक्का हो तर सुधार्न सक्ने ठाउँ बाँकी छ । सोधानान्तर घाटा बढ्दा विदेशी मुद्राको संचिति घटेको छ । अर्थतन्त्र श्रीलंंकाको दिशामा अगाडि बढ्ने आशंकाकै बीचमा आएका यस्ता अभिव्यक्तिहरुले अर्थतन्त्र प्रभावित भएको थियो । अर्थतन्त्रमा आएको गिरावटको सारा दोष अर्थमन्त्री जनार्दन शर्मामाथि आइपरेको थियो । अर्थमन्त्रीले सक्दो बचाउ गरिरहेका थिए तर यही बीचमा विवादमा मुछिए । अमेरिकाबाट आएको करोडौं रकम छुटाउन उनी स्वयं अग्रसर भएको सार्वजनिक भयो । सो रकम जफत गर्न अमेरिकाको आर्थिक अपराध हेर्ने निकाय फिनसेनले पत्रचार गरेको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद लामिछाने जानकार थिए । यो विषयमा अर्थमन्त्री र गभर्नर लामिछानेका भनाइ परस्पर विरोधी थिए । गैरकानूनी मार्गबाट आएको शंकास्पद रकम छानविनको दायरामा आउनैपथ्र्यो । तर, अर्थमन्त्रीले अनुचित दवाव दिए । यही बीचमा सरकारले नेपाल राष्ट्र बैंकका गभर्नरलाई नै निलम्बन गरेको छ । अर्थमन्त्रीको शंकास्पद गतिविधि सार्वजनिक हुनु,देश आर्थिक संकटमा फसिरहेको बेला भएको निलम्बनले शंकामाथि शंका उब्जाएको छ । गभर्नर निलम्बन प्रकरणलाई प्रमुख प्रतिपक्षी एमालेले गलत भनिसकेको छ । एमाले अध्यक्ष ओलीले अर्थतन्त्र बुझेका गभर्नरलाई हटाएर सरकारले गलत काम गरेको आरोप लगाएका छन् । छानविनको लागि बनाइएको समितिप्रति पनि उनको आशंका छ । अर्थमन्त्री निलम्बनको घटनाप्रति पूर्वअर्थमन्त्री तथा माओवादी केन्द्रका नेता वर्षमान पुनले पनि असन्तुष्टि जनाएका छन् । जसले गर्दा यो प्रकरणमा वर्तमान अर्थमन्त्री नराम्रोसँग फसिन पुगेका छन् ।

निलम्बन सरकारले गरेको हो । निलम्बनसँगै छानबिन समिति बनेको छ । समितिले प्रतिवेदन देला नै । तर, अर्थतन्त्र गम्भीर संकटमा फसेको बेला अर्थमन्त्रीको निलम्बनले आम नागरिकमा त्रास फैलिएको छ । संकटापन्न अर्थतन्त्रलाई सही दिशामा अगाडि बढाउने जिम्मा सरकारकै हो । तर, सरकारको पछिल्लो कदमले अर्थतन्त्र झन असन्तुलन बन्ने हो कि भन्ने आशंका उत्पन्न भएको छ । अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेका व्यक्तिहरुबाटै अर्थतन्त्र श्रीलंकाको दिशामा अगाडि बढेको बताउँदा बजारबाट पूँजी हराउने सम्भावना बढेर गएको छ । बैंकहरुमा तरलता अभाव त छँदैछ, भएको पूँजी पनि हरायो भने अर्थतन्त्र थामिनसक्नु हुने निश्चित छ । सरकारले केही सामान आयातमा प्रतिबन्ध लगाएको छ तर त्यसको विकल्प दिन सकेको छैन । गभर्नर निलम्बनले मात्रै समस्या सुल्झन्छ भन्ने ग्यारेण्टी छैन । विषमतामा अर्थतन्त्र सुधारको लागि कदम चाल्न छाडेर किन गभर्नर हटाइयो भन्ने चित्तबुझ्दो जवाफ सरकारले दिनैपर्छ । र, सबैभन्दा चित्तबुझ्दो जवाफचाहिँ अर्थतन्त्रलाई सही दिशामा लैजानु नै हुनेछ । त्यसको लागि सबैभन्दा पहिले अनावश्यक अफवाह रोक्ने प्रयत्न पनि जरुरी छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->