बागलुङ/ घरघरमा सफा शौचालय छ । खानेपानी कम भएकोले ड्रममा भएपनि संकलन गरेर शौचालयदेखि करेसाबारीसम्म चाहिने पानीको व्यवस्था छ । शौचालय गएर आएपछि बालबालिकादेखि बुढाबुढीले साबुनपानीले हात धुन्छन् ।
महिनावारी भएको बेला महिलाहरुले सुरक्षित प्याड प्रयोग गर्छन् र सुरक्षित व्यवस्थापन पनि गर्छन् । खानेपानी सबैले उमालेर खान्छन् । ढाकेर राख्छन् । यस्ता धेरै सरसफाइका सूचकहरु सबैले प्रयोग गर्न थालेका छन् । उनीहरुले न्युन प्रयोग गरे नम्बर १, मध्यम प्रयोग भएमा नम्बर २ र अधिकतम प्रयोग भए नम्बर ३ दिने चलन छ । यहाँका ५ सय ३० बढी घरमा यस्तै आनीवानी परिवर्तन भएको छ ।
यो कुनै सहरी क्षेत्रको कुरा होइन । बडिगाड गाउँपालिका वडा नं. १ को तुम्डाँडा, दगा, नेपाने लगायतका बस्तीमा आएको परिवर्तन हो । अधिकांश सूचक पूरा गरेर यहाँ पूर्ण सरसफाइयुक्त वडा बनेको छ ।
वडाध्यक्ष बोमबहादुर थापाका अनुसार यहाँ चैत महिनाभित्रै पूर्ण सरसफाइयुक्त गाउँ घोषणाको तयारी छ । त्यसका लागि टोल टोलमा महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक, विद्यार्थी, राजनीतिक कार्यकर्ता र सामाजिक क्षेत्रका अगुवाले समिति बनाएर काम गरिरहेका छन् ।
कोही स्वागत गेट बनाउने काममा खटिएका छन्भने कोही सभ्य समाजका बारेमा नारा लेख्दैछन् ।
‘हरेक विद्यार्थीको मुखमा पनि हामी स्वच्छ र सरसफाइयुक्त वडाका नागरिक हौं भन्ने सन्देश बोल्न सक्ने हुनुपर्छ भनेर लागेका छौं,’ स्थानीय भिमसेन वनले भने, ‘आर्कषक नारा तय गर्ने काममा खटिएको छु ।’ उनले दश वर्ष अघिको वडाको अवस्थाबाट आकास जमिन परिवर्तन भएको बताए ।
घर घरमा शौचालय नहुँदा जथाभावी फोहोर भएको, पाहुना आउँदा बस्न नमानेको र मानिसहरुको सभ्यता अत्यन्त कमजोर हुँदा स्थानीय अगुवाहरु लज्जित थिए । खुला दिशामुक्त घोषणा अभियानमा घर घरमा शौचालय बनाउने काम भयो । त्यसपछि धमाधम सफा शौचालय, खानेपानीको सफाइ, आनीबानी परिवर्तन जस्ता काममा वडा र सामाजिक अगुवाले निरन्तर काम गरे ।
यो अभियानमा सुआहारा परियोजना पनि सहयोगी भयो । सुआहारा परियोजनाले सफाइको सूचक पुरा गर्न त साथ दियो, हरेक घरमा पोषणयुक्त खाना खानुपर्छ भन्ने सन्देश पनि दियो । फलस्वरुप पहिला जस्तो मानिसहरु बिरामी पर्न छाडेका छन् ।
औषधी उपचारमा खर्चने पैसा जोगाउन सकेको, समयको बचत भएको जस्ता कारणले आर्थिक रुपमा पनि सम्पन्न हुने क्रम बढेको स्थानीय महिला स्वास्थ्य स्वयंसेविका दुर्गा थापाले बताइन् ।
‘दश वर्ष अघिका मानिस कति फोहोरी थिए, पाहुनालाई स्वागत गर्न पनि जान्दैनथे’ उनले भनिन्, ‘अहिले सफाइ र पाहुना स्वागत सत्कारका विषयमा पनि सचेतना फैलिएको छ ।’ स्थानीय बासिन्दाहरुले कृषि क्षेत्रमा लागेर पनि सफा बन्न सकिन्छ भन्ने देखाउन सक्ने भएका छ्न ।
दगा र तुम्डाँडामा स्वास्थ्य चौकी थिएन, अहिले यहाँ बर्थिङ सेन्टर सहितको स्वास्थ्य चौकी बनेको छ । तीन घण्टा लगाएर खरवाङ झर्ने बाध्यता हटेर गाउँमै उपचार सेवा पाइन्छ । मानिसहरु स्वस्थ्य पनि भएका छन् । कक्षा १२ सम्मको पढाइ पनि गाउँमै हुन्छ । खड्गदेवी माबिमा ७ सय बिद्यार्थी पढ्छन् । टोलटोलमा बालबिकास केन्द्र छन् ।
ती बालबिकास केन्द्रमा पनि स्वास्थ्य र सरसफाइको ज्ञान दिन थालिएकोले सानै बालबालिकाले पनि शौचालयमा मात्रै शौच गर्ने देखि साबुनपानीले हात धुने बानी बसालेका छन् । सबै सूचकको जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगाना नेतृत्व टोलीले अनुगमन गरेर घोषणाका लागि संभव भएको प्रस्तुतीकरण गरिसकेको छ ।
यहाँ खानेपानीको श्रोत सानो छ त्यसैले वडा र पालिका समेतको पहलमा संघिय खानेपानी मन्त्रालयबाट बृहत योजना संचालन हुँदैछ । यो योजनाले सबै घरमा धारा जोड्ने गरी केही रिर्जभ ट्यांकी बनाइसकेको छ ।
ती ट्यांकीबाट वितरण गर्न थालेपछि भने पानीको पर्याप्तता पनि पुग्नेछ । पूर्ण सफाइ अभियान सफल भएपछि आम नागरिकको सभ्यता परिवर्तन गर्ने र पर्यटनको विकासमार्फत आर्थक समृद्धि ल्याउने गरी काम थालिने वडा अध्यक्ष बोमबहादुर थापाले बताए ।





