दलहरु स्थानीय निर्वाचन २०७९ को घोषणा पत्र लेखनमा व्यस्त छन् । पोखरामा अटेरी अभियानमार्फत् मेयरमा उम्मेदवारीसँगै घोषणा पत्र सार्वजनिक भएको छ । अन्य दलहरु तयारीमा छन् । जिल्लागत र पालिकागत रुपमा पनि घोषणा पत्र लेखन चलिरहेको दलहरुले जनाएका छन् । पालिकास्तरमा यसअघि पार्टीको तर्फबाट नेतृत्वमा पुगेकाहरुको सफलता समेटिएको घोषणा पत्र ल्याउने तयारी गरिएको छ भने समग्र रुपमा पार्टीले जनताको विश्वास जित्नेगरि घोषणा पत्र आउने जनाएका छन् । देशलाई आर्थिक समृद्धिको दिशामा लैजाने र नागरिकका चाहना पूरा गर्ने घोषणा पत्र आउने पनि दलहरुको जिकिर छ । नेताहरुको अभिव्यक्तिले घोषणा पत्र दमदार हुने आँकलन गर्न सकिन्छ । तर, दलहरु आफैले जारी गर्ने घोषणा पत्रप्रति प्रतिवद्ध छन् त ? यो विषय गम्भीर छ ।
यसअघि पनि दलहरुबाट आएका घोषणा पत्र गलत थिएनन् । उनीहरुले ठूला सपना देखाएका थिए, सामाजिक सुरक्षाका सबै काम फत्ते गर्ने बताएका थिए । स्रोत र साधन बढाउनेदेखि उत्पादकत्व बढाउनेसम्म, रेलदेखि मोनोरेल,निःशुल्क स्वास्थ्यदेखि भत्ता बढाउनेसम्मका आश्वासनहरु घोषणा पत्रमार्फत् बाँडिएको थियो । तर, ती घोषणाहरुमध्ये थोरैमात्र कार्यान्वनयमा आए,धेरै कागजमा सीमित भए । कारण, घोषणा पत्र बनाउने र कार्यान्वयन गर्नेबीच तादाम्यता थिएन । घोषणा पत्र देखाएर नेतृत्वमा पुग्नेसँग त्यो ल्याकत नै थिएन । समयक्रमले यो प्रमाणित गरेको छ । नेता र नेतृत्व असफल हुँदा त्यसको मार जनताले भोग्नुपरेको छ । घोषणा पत्र अनुसार कार्य सम्पादन नगरेकाहरुलाई जनताले प्रश्न उठाउने बेला आएको छ । चुनावमा भोट माग्न आउनेहरुसँग जनताले किन घोषित कार्यक्रम कार्यान्वयन आएनन् ?
किन सुशासन कायम हुन सकेन भन्ने प्रश्न गर्नु नै पर्छ । अर्कोतर्फ, दलहरुले पनि भोट बटुल्ने नाममा आकासे सपना देखाउनुको सट्टा यथार्थको धरातलमा आएर घोषणा पत्र निर्माण गर्नुपर्छ । जनताको आवश्यकता र सामथ्र्यको आँकलन गरिनु राम्रो हुन्छ । आत्मनिर्भर अर्थतन्त्र निर्माण, रोजगारी सिर्जना एवं आयात प्रतिस्थापनजस्ता विषयलाई प्राथमिकतामा राख्नुपर्छ । जसको लागि आवश्यक पर्ने पूर्वाधार निर्माण हुनैपर्छ । सामाजिक सुरक्षाको क्षेत्रमा ध्यान दिनुपर्छ । थैली वलियो नहुँदासम्म केही गर्न सकिँदैन भन्ने उनीहरुले बुझ्नुपर्छ । यथार्थमा आधारित घोषणा पत्रमात्रै कार्यान्वयनमा आउँछ । हावादारी गफ गरेर जनता झुक्याउने काम बन्द गरिनुपर्छ । यसको लागि विज्ञहरुको सल्लाह र सुझाव लिन सकिन्छ । सपना देख्नुपर्छ तर त्यो स्वरैकल्पनालाई निषेध गरिनुपर्छ ।
