बागलुङ/ वर्षभरि डाला बुनेपछि बडिगाड ४, जलजलाका शशीराम विक माघे संक्रान्तिमा रिडीको मेला भर्ना जान्छन् । चैतेदशैंमा बागलुङ आउँछन् । यो दुई वटा मेलाबाटै उनले वर्षभरिको खर्चको जोहो गर्छन् । उनले चैतेदशैंको अवसर पारेर बागलुङमा भने १५ दिन बस्ने बताए ।
चैतेदशैं मेला भर्न आएका उनले यही मौकामा २ सय डाला बेच्ने योजना सुनाए । चैतेदशैंका मेलालाई मौलिक कलाका सामान बिक्री हुने स्थलको रुपमा लिइन्छ । त्यसैले धेरै भक्तजन र पर्यटकले पनि उनका सामान किन्ने गरेका छन् ।
उनको उत्पादन बेच्नका लागि चैतेदशै मेला महत्वपूर्ण समय हो । यतिबेला खेतीपातीको काम छैन, फुर्सदमा आएका पर्यटकले मौलिक कलाका सामानमा मन दिने गरेका छन् । कालिका भगवती मन्दिरमा लागेको मेलमा आएका सयौं मानिसले उनको उत्पादनको खोजी गरेकोले गाउँबाट थप सामान मगाएको बताए ।
आकर्षक डालामा अन्न राख्ने मात्र नभइ सजाएर राख्न पनि प्रयोग हुन्छ । विकजस्तै बागलुङ नगरपालिका १२, का टीकाराम चुँदाराले बनाएको ठेका, गैरा गाउँका विकहरुले बनाएका कुटो कोदाला, तमानखोलाका किसानले बनाएका नाङ्ला मेलामा प्रशस्त छन् ।
बागलुङ कालिका मन्दिरमा मेला भर्न आउने र पूजाका लागि आएका सबैको रोजाइ मौलिक कलाका सामान किनेर लैजाने भएको छ । धेरैको चाहना पूरा गर्न ग्रामीण क्षेत्रका किसान र उद्यमीले आफ्ना उत्पादन बेच्न ल्याएका छन् ।
चैतेदशैं पश्चिम नेपालकै ठूलो र मौलिक मेलाका रुपमा लिइन्छ । सातादेखि कालिका मन्दिरमा आएका भक्तजनको पनि ती मौलिक सामान रोजाइमा परेका छन् । कोरोना संक्रमणका कारण दुई वर्षसम्म मेला भएको थिएन । यो वर्ष भने संक्रमण नभएको मौका परेकोले कालिका भगवती गुठी व्यवस्थापन समितिले चैतेदशैं मेलाको व्यवस्थापन पनि गरिदिएपछि मौलिक कला बनाउनेलाई राहत मिलेको हो ।
‘पोहोर परार बेच्न पाइएन, अहिले केही राहत भयो,’ विकले भने, ‘अहिले त २ लाखको सामान बेचिएला !’ उनको डाला ६ सयदेखि १ हजार सम्मका छन् । सजावटका लागि राखिएका साना डालीपनि ५ सय सम्ममा बिक्री भएका छन् ।
त्यसो त प्लास्टिकका सामानले स्थानीय किसानका उत्पादन र मौलिक कलाका सामाग्री बिक्री हुन छाडेका छन् । ‘अहिले त प्लास्टिकका ठेका आएर हामी हैरान भयौं,’ चुँदाराले भने, ‘सरकारले प्लास्टिकका ठेकामा रोक लगाइदिनुपर्छ ।’ दारको काठमा जमाएको दही र मोही निकै मिठो हुन्छ । तर, प्लास्टिक र सिल्भरका सामानमा दही जमाएर खाएमा नमिठो मात्र नभइ शरीरलाई समेत हानिकारक हुने उनले बताए ।
एउटा ठेकाको ५ सयदेखि ८ हजारसम्म बिक्री हुने गरेको चुदाराले बताए । उनले ३ पाथी सम्मका ठेका बनाएर बिक्रीका लागि ल्याएका छन् । ठूला ठेकाभन्दा मझौलामा उपभोक्ताले चासो राख्ने गरेका छन् । नमुना र सजावटका लागि मात्र बनाएका सामानमा पनि धेरैको चासो छ । ‘ठूला दुईचार वटा मात्रै बिक्री हुँदा मझौला दर्जन बिके,’ उनले भने, ‘सजाएर राख्ने पाँचमुठीदेखि दुई मुठी जाने सामान धेरै बेचियो ।’
पछिल्लो समय गाईभैंसी पाल्ने कम भएको, पालेर दूध उत्पादन गर्नेले पनि डेरीमा बेच्ने चलनले ठेकाको माग घटेको स्थानीय दुर्गाबहादुर आचार्यले बताए । ‘आजकल दूध जमाउने कोही छैनन्, त्यसैले ठेका बिक्री हुन छाडे,’ उनले भने, ‘नाङ्लो र डालो भने धेरैले किनेको देखे ।’ कुटो कोदालो र हसिया धेरै बिक्री नभएको उनले बताए ।
स्थानीय पद्मनाथ शर्माले आफ्नो पालाको चैते दशैं भने मौलिक कलाका सामानको बजार मात्रै हुने गरेको बताए । ‘अहिलेका जस्ता फेन्सी सामान थिएनन्, किसानलाई चाहिने सामानको महत्वपूर्ण बजार थियो,’ शर्माले भने, ‘अहिले नक्कल पार्ने मेला बढी भयो ।’ तर, पनि कालिका भगवतीको पूजाका लागि आउने भक्तजन भने बढिरहेको उनले बताए ।





