शिशिरपश्चात बसन्तको आगमन हुन्छ । शिशिरको तुसारो सहेका वृक्ष र लतिकाहरुमा नयाँ पालुवा ल्याउँछ । पंक्षीहरुले उमंगको गीत गाउँछन्, घरबार जोड्छन् । बसन्त सिर्जनाको पर्याय हो र श्रृष्टिको प्रारम्भविन्दु हो । र, यही मासमा नेपालले प्रशासनिक कार्यको नूतन थालनीको लागि नयाँवर्ष मनाउँदै आएको छ । विक्रमाब्द २०७९ को नूतन दिनले हिमाली मुलुकको सिंहदरबारदेखि घरघरमा रहेको पात्रो बदलेको छ । उमंगसहित नयाँ दिनको स्वागत गरिएको छ । विक्रम संवत् अनुरुप प्रशासनिक र दैनन्दिन कार्य गर्ने विश्वकै एकमात्र मुलुक नेपालको लागि बासन्तीले नूतन सम्भावना खोज्ने दायित्व सुम्पेको छ । आममान्छेको जीवनमा पात्रो बदलिनुले अर्थ राख्दैन । सिंहदरबारमा बसेकाहरुको शुभकामनाले उनीहरुलाई छुँदैन ।उनीहरुको दिनचर्या बदल्ने जिम्मा लिएकाहरुले भने यो दिनलाई विशेष महत्व दिनुपर्छ । नयाँवर्षलाई सार्वजनिक बिदाको पर्यायमा मात्रै सीमित नराखेर नयाँ यात्राको थालनी हो भन्ने सन्देश प्रवाह गर्नसक्नुपर्छ । बितेको वर्ष उत्साहजनक थिएन÷रहेन । कोभिडले संत्रस्त जीवन,अभाव र मँहगीको मारले आमजनता निराश भए । राजनीतिक नेतृत्व सत्ता स्वार्थमा रमाउँदाको असरबाट कुनै क्षेत्र पनि अछुतो रहन सकेन । परिवर्तनको नारा दिएका नेताहरुले निराशाबाहेक केही बाँड्न सकेनन् । देशमा सरकार परिवर्तन भयो तर परिवर्तनको महसुस भएन ।
सुशासनको मामिलामा ३ वटै तहका सरकारहरु कमजोर सावित भए । भौतिक निर्माणले गति लिएन । राज्य संयन्त्रले सोचेजस्तो गरेन तर तर, नागरिकले जसोतसो सहे । सहँदै छन् तर उनीहरुले आशा गर्नछाडेका छैनन । अब समय आएको छ । नयाँवर्षको पृथक परम्परासँगै पृथक र रचनात्मक कामको अठोट गर्नुपर्ने भएको छ । राजनीतिक नेतृत्व एवं व्यक्तिबाट पनि २०७९ सालमा रचनात्मक कार्य गनेर्, जनउत्तरदायी बन्ने तथा सुशासन र सदाचारको मामिलामा गल्ती नगर्ने प्रण गर्ने हो भने परिवर्तन सम्भव छ । २०७९ साल चुनावी वर्षको रुपमा परिणत भएको छ । जनतासँग योग्य प्रतिनिधि छान्ने अवसर छ । यो अवसर खेर नफाल्ने प्रण जनस्तरबाट हुनैपर्छ । अर्थतन्त्रका सूचकहरु निराशाजनक छन् । देश आर्थिक रुपले तन्नम हुने हो कि भन्ने चिन्ता बढेको छ । यस्तोमा राजनीतिक नेतृत्वसामु सुझबुझपूर्ण निर्णय गर्नुपने दायित्व थपिएको छ । एकले अर्कालाई दोषारोपण गरेर,आम जनतालाई त्रसित बनाउने काम बन्द गनुपर्छ । अर्थतन्त्र सुधार, भयरहीत वातावरणमा निर्वाचन, स्थायित्व र समृद्धिको यात्राको थालनी हुनुपर्छ । फेरिएको पात्रोले चाहुृरिएको अनुहारलाई चिल्लो अनुहारमा रुपान्तरण गर्नुपर्छ । नववर्ष २०७९ को हार्दिक मंगलमय शुभकामना !
