बागलुङ – स्थानीय तह गठन हुनुपूर्व गाउँ विकास समितिको कार्यालयमा आफ्ना ससाना समस्या सुनाउन अफ्ठ्यारो मान्ने धनमाया विक अहिले खुलेर योजना माग्छिन् । महिलाका लागि आवश्यक तालिम, कृषिका लागि आवश्यक उपकरण र अरु योजना माग्न धनमाया निर्धक्क वडा कार्यालय पुग्ने गरेकी छन् ।
बागलुङको काठेखोला गाउँपालिका ८, लेखानीकी धनमाया मात्रै होइन, यहाँका महिलाहरु वडा कार्यालय पुगेर खुलेर आफ्ना कुरा राख्छन् । वडाले विनियोजन गर्ने योजना मात्रै होइन, सिफारिसका सेवा लिन पुरुषको तुलनामा महिला नै बढी पुग्ने गरेका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनका बेला जिल्लाका ८५ वडामध्ये दुई वटा वडामा महिला अध्यक्ष निर्वाचित भए ।
दुई महिला मध्येकी हुन्, वडाध्यक्ष चित्रकला छन्त्याल । छन्त्याल निर्वाचित भएपछि वडामा पुगेर आफ्ना माग राख्न र काम गर्न सजिलो भएको धनमाया बताउँछिन् । ‘पुरुषको तुलनामा महिला प्रमुख हुँदा हामी महिलालाई धेरै सजिलो हुने, कम्तिमा आफ्ना समस्या खुलेर राख्न पाइन्छ,’ धनमाया भन्छिन्, ‘कतिकुरा पुरुषलाई भन्न सकिँदैन, महिलालाई सहजै भन्न सकिन्छ, म मात्रै होइन धेरै बोल्नै नसक्ने महिलाहरु वडाध्यक्षसँग निर्धक्क कुरा गर्छन् ।’
बागलुङ नगरपालिका ३, कि सीता शर्मा गौतमलाई पनि महिला वडाध्यक्ष हुँदा निकै खुसी लागेको थियो । पाँच वर्ष समय बितिसक्दा उनले वडाध्यक्षको कार्यकक्षमा पुगेर कहिलै आफ्ना भनाइ नराखी फर्किनुपरेन् । वडाध्यक्ष लक्ष्मी बास्कोटा जिल्लाका दुई वडा अध्यक्षमध्येकी अर्की हुन् । पालिकाका उपप्रमुखमा केही पालिकामा महिला भएपनि जनतासँग नजिकको सरकार वडामा महिलाहरुको उपस्थिति कम छ ।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा वडादेखि पालिकाको नेतृत्वसम्म उमेदवारको चर्चा सुरु भएको छ । तर, विडम्बना अधिकांश वडा र पालिकामा संविधानले व्यवस्था गरेबाहेकका पदमा महिलाको चर्चा कम छ । ‘हामी नेतृत्व गर्न तयार छौं, काम गर्न सकिन्छ भन्ने लाग्छ,’ काठेखोला गाउँपालिका ८, कि वडाध्यक्ष चित्रकला छन्त्याल भन्छिन्, ‘महिलालाई उमेद्वार बनाउन दलहरु किन हिच्किचाउँछन् थाहा छैन ।’
वडा तहमा नेतृत्व गरिसकेका महिलालाई स्थानीय तहको माथिल्लो तहमा पु¥याउनुपर्ने महिला नेतृहरु बताउँछन् । नेकपा एमाले निकट अखिल नेपाल महिला संघले आफ्नो छैटौं अधिवेशनबाट कम्तिमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न माग गरेको छ । अखिल नेपाल महिला संघजस्तै विभिन्न पार्टी निकट महिलाहरुका संगठनहरुले माग गर्ने गरेका भए पनि उमेद्वार छनोटको प्रारम्भिक चित्र हेर्दा यो पटक पनि महिलाको सहभागिता कम हुने निश्चित जस्तै छ ।
प्रतिपक्षी दल एमालेसहित सत्ता गठबन्धले वडा र पालिका तहमा चलाइरहेको छलफल र उमेद्वारका आकांक्षी हेर्दा महिला हेर्दा सहभागिता कम हुने देखिएको हो । सबै पार्टीमा उमेद्वारको अन्तिम टुंगो नलागेकाले अन्तिम सम्ममा महिलाको सहभागिता सुनिश्चित गर्न महिला नेतृहरुले भने माग गरिरहेका छन् ।





