‘पटक पटक बजेट माग्दा नगरमा अर्गेलो भइयो, काठमाडौंसम्म पुगेर ल्याएको बजेटले मात्रै काम देखियो । अहिले सदरमुकामसहित छिमेकी पालिका जाने नाका खुलेका छन् ।’
बागलुङ/भीरको बाटो हिँड्नु पर्दा विद्यालय पुग्न पनि सास्ती थियो । प्रशासनिक कामले वडा कार्यालय जानुभन्दा सदरमुकाम पुग्न सहज थियो । तर, अहिले त्यो सास्ती सकिएको छ । भीर काटेर टोलटोलमै बाटो आइपुगेको छ ।
बागलुङ नगरपालिका ११, रायडाँडामा अहिले टोलटोलमै गाडी चढेर पुग्न सकिने भएको हो । जोखिम क्षेत्र भएकोले विशेष क्षेत्रमा सूचिकृत गरेर लगानी बढाउँदा रायडाँडाले विकासको गति बढाएको हो ।
विशेष क्षेत्रलाई लगानीमा प्राथमिकता दिने सरकारी नीति र वडाको निरन्तर प्रयासपछि भीर फोडेर २० किमिभन्दा धेरै सडक सञ्जाल बनेको छ । त्योमध्ये ११ किमि लामो पूर्वपश्चिम फैलिएको वडा गौरवको सडक बनेको हो । त्यसबाहेक ४ वटा छोटा सडक पनि बनेपछि सबै टोलमा जिप चढेर पुग्न सकिने भएको छ ।
सदरमुकामसम्म पुग्ने सडकको ट्रयाक मात्रै खुलेको रायडाँडामा अब भने सबै टोलमा गाडी चढेर जान सकिने भएको हो । बिरामी पर्दा समयमा उपचार गर्न नपाउने बाध्यता अहिले हटेको स्थानीयले बताए । रामतोला, आफ्रे र सल्यानबासी चार घण्टा लगाएर सामान्य काममा वडा पुग्ने बाध्यता अहिले हटेको हो । गर्भवती, सुत्केरी र बुढापाकाहरु डोकोमा बोकिएर स्वास्थ्य चौकी आउने बाध्यता अहिले हटेको छ ।
भौगोलिक जटिलताका कारण वडाका ६० प्रतिशत घरका मानिस सदरमुकाममा डेरा लिन्थे । गाडी चढेर दुइतीन घण्टासम्म पैदल यात्रा गर्नुपथ्र्यो । तर, अहिले गाउँ पुग्ने सडक स्तरीय भएको छ । सदरमुकामदेखि झण्डै ३० किमि दूरीको आफ्रे र सल्यानसम्म गाडी चढेर पुग्न सकिने भएको हो ।
मुख्य सडकमात्र नभई वडाका सबै टोलटोलमा बाटो पुगेको छ । जटिल भूगोल चिरेर गौरवको आयोजनाअन्र्तगत वडाभित्रै ११ किमि लामो छुट्टै सडक बनेको हो । यो सडकले तत्कालीन रायडाँडा गाविसको वडा नं. १ देखि ९ सम्मका सबै बस्ती जोड्छ ।
‘यो सडकको ट्रयाक खुलेपछि हामीलाई बलेवा, जैमिनी नगरको कुश्मीसेरा र सदरमुकाम जता गएपछि बाटो खुल्यो,’ रामतोलाका धनबहादुर हरिजनले भने, ‘टोल–टोलमा चोक बनिसकेकोले साइनबोर्ड राख्नुपर्ने भइसकेको छ ।’ गैराघर, रामतोला, मौरीभीर, रायडाँडा, आफ्रे, सल्यानहुँदै सडकले जैमिनी नगरको वडा नं. ३ तर्फको पहुँच बढाएको छ ।
नगरको बजेटले नपुगेपछि संघ र प्रदेशमा धाएर योजनाहरु पूरा गरेको वडाध्यक्ष ज्ञानेन्द्र गौतमले बताए । ‘पटक पटक बजेट माग्दा नगरमा अर्गेलो भइयो, काठमाडौंसम्म पुगेर ल्याएको बजेटले मात्रै काम देखियो,’ गौतमले भने, ‘अहिले सदरमुकाम सहित छिमेकी जैमिनी नगरपालिका र काठेखोला गाउँपालिका जाने नाकाहरु खुलेका छन् ।’
सानो बजेटबाट भएको परिवर्तन देखेर नगरप्रमुख जनकराज पौडेल पनि सन्तुष्ट छन् । ‘दुर्गम भएपनि काम राम्रो भएको रहेछ,’ जिल्ला समन्वय प्रमुख राजेन्द्र ढुंगानाले भने, ‘जटिल भूगोलमा काम गर्दा राम्रो नतिजा देखिएको छ ।’ अनुगमनको क्रममा यो वडाको पूर्वाधारलाइ ढुंगानाले अब्बल ठह¥याएको बताए ।
यहाँबाट सदरमुकाम जोड्ने सडक पनि स्तरीय बनेको छ । डाँडो चिरा पारेर चारवटा छुट्टै ट्रयाक खुलेका छन् । गौरवको आयोजना अन्र्तगत ११ किमि ट्रयाक खोल्दा ३ करोड ५० लाख खर्च भएको गौतमले बताए । त्यसबाहेक लिस्नेभीरमा १ किमी पहरा फोडेर ट्रयाक खोल्न नेपाली सेनाले सघाएको थियो । एक करोड रुपैयाँलगानीमा सेनाले विष्फोटक पदार्थ प्रयोग गरेर ट्रयाक खुलेको हो । अन्य शाखा सडकमा पनि २ करोडबढी लगानी भइसकेको हो ।
सडक सञ्जालले ५ वर्षमै ठूलो परिवर्तन देख्न पाएको स्थानीय तेजकुमारी क्षेत्रीले बताइन् । सडक सञ्जाल सबै टोलमा पुगेपछि उपचारमा निस्कनेदेखि विद्यार्थी र शिक्षकले पनि सहज यात्रा गर्न पाएको बताए । किसानले फलाएका उत्पादन बजार पठाउन पनि सकेकोमा खुसी भएका छन् ।





