बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

खराबहरुलाई सत्तामा नपु-याऔं

खराबहरुलाई सत्तामा नपु-याऔं


  • Dhorpatan News
  • बैशाख १२ २०७९, सोमबार

निर्वाचन आयोगले सार्वजनिक गरेको तालिका अनुसार वैशाख ११ गते स्थानीय तह चुनावको लागि केही मनोनयन दर्ता भएको छ । ठूला राजनीतिक दलहरु तालमेल र भागबण्डामै रुमल्लिरहेको बेला स्वतन्त्र र साना दलहरुको तर्फबाट उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । अन्तिम अर्थात् वैशाख १२ गते धेरै ठाउँमा उम्मेदवारी दर्ता हुने र निर्वाचन प्रक्रियाले गति लिने आयोगको विश्वास छ ।

विभिन्न आशंकाहरुलाई मिथ्या सावित गर्दै यही वैशाख ३० गते स्थानीय चुनाव हुने निश्चित भएको छ । राजनीतिक दल, स्वतन्त्र उम्मेदवारहरु उत्साहका साथ चुनावी मैदानमा ओर्लिएका छन्ओ/र्लिने तरखरमा छन् । राजनीतिक दलहरुले घोषणापत्रमार्फत् आफ्ना प्रतिवद्दताहरु सार्वजनिक गरेका छन् । हिजो गरिएका प्रतिवद्दता पूरा नभएकोमा क्षमा मागेका छन् । आवधिक निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष हो । यहाँ जनताले आफूले रुचाएका प्रतिनिधि छान्न पाउँछन् । खराब गर्नेहरुलाई दण्डित र असल कर्म गर्नेहरुलाई मतमार्फत् पुरस्कृत गर्छन् । संघीयतापछिको दोस्रो स्थानीय निर्वाचन ढोकैमा आउँदा नागरिकहरुको हातमा पुनः यो अवसर आएको छ । अवसरलाई खेर जान नदिन र योग्य प्रतिनिधि छनोट गर्न पाउने अधिकारलाई नागरिकले खेर फाल्नु हुँदैन । प्रतिनिधि बन्न खोज्नेहरुसँग उनीहरुले प्रश्न गर्नुपर्छ ।

उसका प्रतिवद्दताहरुलाई विभिन्न कोणबाट जाँच्नुपर्छ । चुनावको बेला विभिन्न खाले प्रलोभन देखाउने,प्रभावित पार्ने कुकर्म पनि हुनसक्छ । त्यस्ता प्रवृत्तिविरुद्ध नागरिकहरुले खबरदारी गर्नुृपर्छ । निर्वाचन आयोगले आचार संहिता लागू गरेको छ । गलत गर्नेहरुलाई कारबाही गर्ने घोषणा गरेको छ । तर, निर्वाचन आयोग एक्लैले चुनावमा देखिने विकृति रोक्न सक्दैन । नागरिकहरुको साथले मात्रै निर्वाचनमा देखिने विकृति रोक्न र गलत गर्नेलाई दण्डित गर्न सकिन्छ । नागरिक सचेतताले साम,दाम,दण्ड र भेदको नीतिलाई परास्त गर्छ । असल व्यक्तिबाट शासित हुने अवसर ल्याउँछ । चुनाव नजिकिँदै गर्दा नागरिकहरुले गलत व्यक्तिबाट शासित हुने कि असल व्यक्तिलाई नेतृत्वमा पु¥याउने भन्नेमा विशेष ध्यान दिनुपर्छ । स्थानीय तह भनेको नजिकको सरकारमात्रै हैन, संघीयताको जरा पनि हो । जरा बलियो भएमात्र लडेर ल्याएको लोकतन्त्र र संघीयता बलियो हुन्छ । चरित्रवान, योग्य र दूरदर्शी व्यक्तिले मात्रै संघीयता बलियो बनाउन सक्छ । जनअपेक्षा पूरा गर्नसक्छ । खराब व्यक्तिबाट शासित हुने सम्भावनालाई बेलैमा निस्तेज पारिनुपर्छ । चुनाव भीडतन्त्र हैन । विवेकपूर्ण निर्णयले मात्रै खराब प्रवृत्तिलाई रोक्न सकिने भएकाले विवेकलाई बन्धक बनाउनु हुँदैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->